हिमाल र पहाडको जनसंख्या घट्दै, ‘भविष्यमा फर्कन सक्नेगरी विदेश बस्ने नेपालीको संख्या २२ लाख  !’

Advertisement

काठमाडौं । राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालको उच्च जीवनस्तरका ३८ प्रतिशत जनसंख्याका वागमती प्रदेशमा बस्ने गरेको देखिएको छ । 

आईतवार राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा जारी तथ्याङ्कले नेपालको उच्च जीवनस्तर भएका ३८ प्रतिशत जनसंख्या वागमती प्रदेशमा बस्ने गरेको देखाएको हो । तथ्याङ्क सार्वजनिक गर्दै राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक ढुण्डिराज लामिछाने सबैभन्दा कुलिन वर्ग वागमतीमा बस्ने गरेको बताए । उनले निम्न वर्गका ५१ प्रतिशत जनसंख्या कर्णाली प्रदेशमा बस्ने गरेको तथ्याङ्क रहेको बताउनु भयो । उनका अनुसार कर्णाली प्रदेशमा करिव ४.२ प्रतिशत मात्रै जनसंख्या उच्च वर्गको जीवनस्तर भएका छन् ।

Advertisement

तथ्याङ्क कार्यालयकाअनुसार भविष्यमा फर्कन सक्नेगरी विदेश बस्ने नेपालीहरुको जनसंख्या करिव २२ लाख रहेको छ । निर्देशक लामिछानेकाअनुसार नेपालबाट विदेशमा सबैभन्दा बढी २० देखि २९ वर्ष उमेर समूहका नेपालीहरु विदेश गएको देखिएको बताउनु भयो । उहाँले पछिल्लो १० वर्षमा हिमाल र पहाडको जनसंख्या घट्दै र तराईको जनसंख्या बढ्दै गएको देखिएको बताए । उनले ४३.६ प्रतिशत तराई र पहाडको ४०.३ प्रतिशत पुगेको बताए । 

उनले पहाडी जिल्लाका काठमाडौं र पोखरा महानगरपालिका लगायतका केही नगरपालिकामा धेरै भएपनि अन्य नगरपालिकामा जनसंख्या कम देखिएको उल्लेख गरे । 

तथ्याङ्क कार्यालयकाअनुसार उमेरको हिसावमा ०–१४ वर्षसम्मका बालबालिको २०६८ जनगणनामा ३४.९ रहेकोमा २०७८ मा  २७.८ प्रतिशतमा झरेको छ । त्यस्तै १५ देखि २४ वर्ष उमेर समूहको २० प्रतिशतबाट १९.७ प्रतिशतमा झरेको छ । २५–६४ वर्ष उमेर समूहको हेर्दा ४५.५ प्रतिशतबाट झरेर ४३.३ प्रतिशतमा पुगेको तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको छ । निर्देशक लामिछानेले ६५ भन्दा माथि उमेर समूहको जनसंख्या ५.३ बाट बढेर ६.९ प्रतिशतमा पुगेको बताए । नेपालको काम गर्नसक्ने जनसंख्या ६२ प्रतिशत रहेको बताए । 

उनले जनगणना २०६८ को तुलनामा आश्रित जनसंख्या कम रहेको बताए । जनगणना २०६८ मा ६१.९ प्रतिशत रहेको आश्रित जनसंख्या घटेर जनगणना २०७८ मा ६०.२ प्रतिशतमा झरेको छ । 

राष्ट्रिय तथ्याङ्क कार्यालयले आज जनगणनाका नतिजा र जनगणना सञ्चालनसँग सम्बन्धित विषयगत चार प्रतिवेदन सार्वजनिक गरेको हो । प्रमुख तथ्याङ्क अधिकृत तोयम रायाले आयोजित कार्यक्रममा राष्ट्रिय जनगणना २०७८ को नतिजामा आधारित तथ्याङ्कलाई विश्लेषण गरी तयार गरिएका विषयगत प्रतिवेदन सार्वजनिक गरेका हुन् ।  

पछिल्लो जनगणनाअनुसार नेपालको कूल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ रहेको, वार्षिक औसत जनसङ्ख्या वृद्धिदर शून्य दशमलव ९२ प्रतिशतका दरले वृद्धि भएको, नेपालको पहिलोपटक १९६८ सालमा लिएको  जनगणनासँग तुलना गर्दा अहिले करिब पाँच गुणाले जनसङ्ख्या वृद्धि भएको र जनसङ्ख्या वृद्धिदर यही कायम रहे नेपालको जनसङ्ख्या दोब्बरले वृद्धि हुन ७५ वर्ष लाग्ने तथ्याङ्क कार्यालयले जनाएको छ ।

पहाडी र हिमाली क्षेत्रका ३४ जिल्लाका वार्षिक जनसङ्ख्या ऋणात्मक र तराईका सबै जिल्लाका जनसङ्ख्या धनात्मक रहेको, सबैभन्दा बढी ऋणात्मक वृद्धिदर रामेछापमा माइनस एक दशमलव ६७ प्रतिशत र सबैभन्दा बढी काठमाडौँमा सात प्रतिशत वृद्धिदर रहेको तथा करिब दुई तिहाइ अर्थात् ६६ प्रतिशत जनसङ्ख्या नगरपालिका क्षेत्रमा रहेको आज सार्वजनिक प्रतिवेदनमा उल्लेख छ । 

यसैगरी विसं २०६८ को तुलनामा समग्र साक्षरता दर नौ दशमलव छ प्रतिशतले वृद्धि भई ७६ दशमलव दुई प्रतिशत पुगेको, महिलाभन्दा पुरुष साक्षरता दर करिब १४ प्रतिशत बढी रहेको, पहाडमा सबैभन्दा बढी ८० दशमलव नौ र हिमाल तथा तराईमा लगभग बराबर अर्थात् ७३ प्रतिशत साक्षरता दर रहेको छ ।   

त्यस्तै अन्य लिङ्गीको जनसङ्ख्या दुई हजार नौ सय २८ रहेको प्रतिवेदनमा उल्लेख छ । घर तथा परिवारको अवस्थासम्बन्धी प्रतिवेदनमा ६६ लाख ६० हजार आठ सय ४९ परिवारमध्ये ८६ प्रतिशत आफ्नै स्वामित्वमा भएको आवासीय एकाइमा, १२ दशमलव आठ प्रतिशत भाडाको घर र बाँकी सरकारी वा संस्थागत कार्यालयसहितका आवासीय एकाइमा बसोबास गर्ने उल्लेख छ । 

विसं २०७८ को जनगणनाअनुसार परिवारको आकार औसतमा चार दशमलव चारजना रहेको, सुदूरपश्चिम र मधेस प्रदेशमा चार दशमलव सात, नगरपालिकामा चार दशमलव तीन र गाउँपालिकामा चार दशमलव पाँचजना सदस्य परिवारमा रहेका छन् । 

राष्ट्रिय जनगणना २०७८ का क्रममा मुलुकको आमसञ्चारमाध्यमले अपेक्षा गरेअनुसार समाचार सामग्री सम्प्रेषण गरेको सो अवसरमा सार्वजनिक प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रमुख तथ्याङ्क अधिकारी रायाले मुलुकको विकास निर्माणमा महत्वपूर्ण भूमिका रहने राष्ट्रिय जनगणना अभियानलाई सफल बनाउन प्रत्यक्ष एवं अप्रत्यक्षरूपमा खटिने व्यक्ति सङ्घसंस्था, वर्ग, समुदाय सबैलाई धन्यवाद दिँदै निरन्तर चलिरहने विषयगत क्षेत्रका गणनामा पनि सरोकारवाला पक्षबाट यसअघिजस्तै साथ सहयोग प्राप्त भइरहने विश्वास व्यक्त गरे । 

Advertisement

Advertisement