रुसी सेनाबाट भागेर स्वदेश फिर्ती भए कञ्चनपुरका सिंह
फाइल तस्बिर

Advertisement

कञ्चनपुर । रुसी सेनामा भर्ना भएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ का २४ वर्षीय सिजनबहादुर सिंह घर फर्किएका छन् । रुसी सेनाबाट भागेर उनी गत शुक्रबार  भारतको दिल्ली हुँदै स्वदेश फर्किएका हुन् ।  

“पछिल्लो तीन महिनादेखि तलब पाइएन । खाना नपाएर साह्रै गाह्रो भयो । रुसी सेनाले नेपालीसँग भएको पैसा, खाना लुट्ने र अग्रमोर्चामा युद्धका लागि खटाउँथे”, उनलेभने, “त्यसपछि भागेर आएको हिँडे ।”

Advertisement

उनी रुस–युक्रेन युद्धमा अग्रमोर्चामा खटिएका थियो ।  उहाँ अन्य १० जना साथीसँगै गत भदौ १ ‘भिजिट भिसा’मा रुस गएर सेनामा भर्ती भएका थिए । परिवारका जेठा छोरा उहाँ ऋण तिर्न पैसा कमाउन अर्को ऋण काढेर रुसी सेनामा पुगेका थिए ।  घर फर्किंदा रित्तो हात हुनु परेको छ । “घरमा रु ३० लाख ऋण थियो । बुबाले कमाएर तिर्न सक्ने अवस्था थिएन । स्वदेशमा पाइने रु २०/३० हजारको जागिरले ब्याज तिर्न पनि सकिँदैनथ्यो”, उनले भने, “परिवारको बाध्यताले युद्धको भूँवरीमा हामफालेँ तर सोचेकोजस्तो भएन ।”

सुरुआतमा रुसी सरकारले तलब दिए पनि पछिल्लो तीन महिनामा तलब पनि नदिएको र भोकभोकै काम गर्न नसकिने अवस्था आएपछि भागेर स्वदेश फिर्ता भएको उनले सुनाए ।  उनका अनुसार घर धितो राखेर रु सात लाख ५० हजार ऋण निकालेर रुस हानिएका हुन् । सँगै रुस गएका अन्य १० साथी युद्धभूमिमै ढलेको उनी बताउँछन् ।   

“त्यहाँको अवस्था देख्दा बाँचिएला सोचेकै थिएन । सँगैका सबै साथी मरे । डराएर म पछि पछि लागेर युद्धमा जाने हुनाले बचेँ”, उनी भन्छन्, “दैनिक ५०/६० जना नेपाली सैनिकमा भर्ती हुन पुग्थे ।” मासिक रु अढाई लाखदेखि पाँच लाखसम्म आम्दानीलगायत प्रलोभनमा परेर रुसी सेनामा भर्ना भइरहेको उनको भनाइ छ । केही महिनाको सैन्य तालिमपछि युद्धका लागि परिचालन गरिएको उनले बताए ।

युद्ध लडिरहेको रुसी सेनाको फौजबाट भागेर राजधानी मस्को पुगेका सिंह घरबाट पैसा मगाएर दिल्ली हुँदै स्वदेश आएका हुन् । मस्कोमा एक दलाललाई रु दुई लाख ५० हजार बुझाएर घर आउन  सफल भएको उनी बताउँछन् ।  “तीनजना भागेर मस्को पुगेका थियौँ । सँगै दिल्लीको टिकट काटिएको थियो”, सिंह भन्छन्, “तर विमानमा दिल्ली आउँदा एक्लै थिए । पछि बुझ्दा एकजनालाई अध्यागमले समातेको रहेछ ।” रुसी सेनामा भर्ना भएका नेपालीको अवस्था दयनीय रहेको उनी सुनाउँछन् ।

Advertisement

Advertisement