काठमाडौं । सर्वोच्च अदालतले झापाको बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएको छ ।
न्यायाधीशहरू कुमार चुडाँल र सारङ्गा सुवेदीको इजलासले प्रक्रिया पुर्याएको भए बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएको हो । यो कलेज चर्चित व्यवसायी दुर्गा प्रसाइँको हो ।
प्रसाइँले उक्त सम्वन्धन नपाएका कारण सरकार र राजनीतिक दलको विरोध गर्दै आएका थिए । उनले आफूले सबै पूर्वाधार तयार पर्दा समेत डा. गोविन्द केसीको आन्दोलनलाई देखाएर केही अभियन्ताले सम्वन्धन दिन रोकेको भन्दै उनीहरुको समेत आलोचना गर्दै आएका थिए ।
प्रसाइँले काठमाडौं विश्वविद्यालय, चिकित्सा शिक्षा आयोग लगायतका निकायलाई विपक्षी बनाई सर्वोच्च अदालतमा पाँच बर्षअघि दर्ता गरेको रिट निवेदनमा आज फैसला भएको हो । अदालतले सम्वन्धन नदिए डोजर लगाएर अस्पताल भत्काउने बताउँदै आएका थिए । उनले अदालतको फैसलापछि आफूले १३ बर्ष लामो संघर्ष गर्नुपरेको भन्दै यो बीचमा धेरै मानसिक यातना र आर्थिक क्षति भोग्नुपरेको बताएका छन् ।
विभिन्न मिडियालाई दिएको प्रतिक्रियामा प्रसाइँले अदालतको फैसलाले देशमा न्याय मरेको छैन भन्ने पुष्टि भएको बताएका छन् ।