काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अस्पतालमा श्रमिक समर्पित बेडको व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको छ । श्रम मन्त्रालयले आन्तरिक तथा बाहय रोजगारीमा रहेका श्रमिकलाई लक्षित गरी अस्पतालहरुमा निश्चित बेड तोक्ने व्यवस्था गरिदिन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको हो ।
श्रमिकहरुमा स्वास्थ्य सम्बन्धी चेतनाको अभाव छ । फलस्वरुप श्रमिकहरु गम्भीर प्रकृतिका स्वास्थ्य समस्याबाट गुज्रिन बाध्य छन् । त्यस्तै दुर्घटनाका कारण पनि श्रमिकहरु स्वास्थ्य संकटमा परेका छन् । तसर्थः श्रमिकको शिघ्र स्वास्थ्य उपचारका लागि श्रमिक समर्पित वेडको व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गरिएको श्रममन्त्री डोलप्रसाद आर्यलले बताए ।
मन्त्रालयले बिषेश गरी औद्योगिक कोरिडोर, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र र औद्योगिक ग्राम भएका क्षेत्रहरुमा स्वास्थ्य मन्त्रालय अन्तरगत रहेको अस्पतालमा, स्वास्थ विज्ञान प्रतिष्ठान र प्रदेश अस्पतालहरुमा श्रमिक समर्पित बेडको व्यवस्था गर्न आग्रह गरिएको हो । अस्पतालको बेड क्षमताका आधारमा निश्चित संख्यामा बेडहरु छुट्याई दिन मन्त्रालयले आग्रह गरेको हो ।
त्यस्तै, मन्त्रालय अन्तर्गतका प्रतिष्ठान र अस्पतालहरुमा श्रमिक हेल्प डेस्क समेत राख्न आग्रह गरिएको छ । श्रमिकहरुलाई प्राथमिकता दिई स्वास्थ्य सुविधा उपलब्ध गराउन तथा विदेशबाट रोग लागी उपचार गर्न फर्किएका श्रमिकहरुलाई उपचार लगायतका विषयहरुमा सूचना एवं परामर्श दिनका लागि सहयोग कक्ष राख्न आग्रह गरिएको हो । अपस्तालमा उपयुक्त जनशक्ति सहितको एक स्वास्थ्य परामर्श इकाई स्थापना गर्न समेत आग्रह गरिएको छ ।
नेपालमा औपचारिक तथा अनौपचारिक क्षेत्रमा गरी करिव ७० लाख श्रमिकहरु कार्यरत छन् । यसका साथै वार्षिक सात लाख भन्दा बढी संख्यामा श्रमिकहरु वैदेशिक रोजगारीमा जाने गरेका छन् ।