कृषि तथा पशुपंक्षी बीमा अनुदान बापतको ४६ करोड ४१ लाख एक साताभित्रै भुक्तानी हुने

Advertisement

काठमाडौं । सरकारले कृषि तथा पशुपंक्षी बीमाशुल्कको अनुदान बापत ४६ करोड ४१ लाख रुपियाँ भुक्तानी गर्ने भएको छ । पशु बीमातर्फको बक्यौता अनुदान मध्ये उक्त रकम सरकारले भुक्तानी गर्न लागेको हो । 

कृषि तथा पशुपंक्षी बीमाको अनुदान बापत सरकारले निर्जीवन बीमा कम्पनीहरुलाई झण्डै दुई अर्ब रुपियाँ भुक्तानी दिनुपर्नेछ, त्यसमा सरकारले तत्काल ४६ करोड ४१ लाख भुक्तानी गर्ने सहमति भएको नेपाल बीमक संघका एक उच्च अधिकारीले बताए ।

Advertisement

केही दिन अघि कृषि तथा पशुपंक्षी बिकास मन्त्रालय, नेपाल बीमा प्राधिकरण र बीमा कम्पनीहरुबीच यसबारे छलफल भएको थियो । त्यसपछि मन्त्रालयले ४६ करोड ४१ लख रुपियाँ निकासा गर्ने भएको हो । सम्भवतः एक हप्ताभित्रै उक्त रकम कम्पनीहरुको खातामा आउने छ । 

पटक पटक ताकेता गर्दा पनि सरकारले अनुदान बापतको पैसा नदिएपछि बीमा कम्पनीहरुले गत चैत १ गतेबाट कृषि तथा पशुपंक्षी बीमाको कारोबार रोकेका छन् । त्यसपछि सरकार रकम निकासा गर्न तयार भएको हो । अहिले अनुदानमा आधारित कृषि तथा पशुपंक्षी बीमाको कारोबार नगरेको संघका अध्यक्ष चंकी क्षेत्रीले बताए ।  

कृषि तथा पशुपंक्षी बीमा गर्दा लाग्ने शुल्कमा सरकारले ८० प्रतिशत अनुदान दिने व्यवस्था छ । सोहीअनुसार कम्पनीहरुले किसानसँग २० प्रतिशत शुल्क ल्याएर बीमा गर्ने गर्छन् । बाँकी ८० प्रतिशत शुल्क भने सरकारले अनुदान बापत दिनुपर्छ । तर, कम्पनीहरुले गत आवदेखिकै अनुदान पाउन सकेका छैनन् । 

यसअघि कम्पनीहरुले गत जेठ ७ गतेदेखि असार ६ गतेसम्म कृषि बीमाको कारोबार रोकेका थिए । त्यसपछि सरकारले असार भित्रै पैसा उपलब्ध गराउने प्रतिवद्धता गरेपछि कारोबार सुरु गरेका थिए । त्यसबेला झण्डै ३ अर्ब रुपियाँ बक्यौता थियो । त्यसपछि एक अर्ब रुपियाँ अनुदान रकम भुक्तानी भएको थियो । तर, अझै दुई अर्ब भन्दा बढी बक्यौता बाँकी रकेको संघको दावी छ ।

सरकारले प्रतिवद्धताअनुसार भुक्तानी नगरेपछि कारोबार स्थगित गर्न बाध्य भएको संघको भनाइ छ । किसानले शतप्रतिशत शुल्क तिरेको अवस्थामा भने बीमा हुनेछ । 

कृषितर्फको १२ करोड रुपियाँ यसअघि मंसिरमै भुक्तानी भएको, त्यो गत आवको चैतसम्मको अनुदान हो । अब कृषि तर्फ बैशाख २०८० र पशुतर्फ माघ २०७९ यताको बक्यौता बाँकी छ । सो रकम भुक्तानीका लागि अर्थ मन्त्रालयसँग समन्वय भइरहेको नेपाल बीमा प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारीले जानकारी दिए । 
 

Advertisement