गत कात्तिकमै सञ्चालनमा ल्याउने योजना थियो, तर सञ्चालक समितिले मिति नतोक्दा अझै अन्योल

‘नेप्से-३० इन्डेक्स’ सञ्चालनमा अस्वभाविक ढिलाई, अझै समय लाग्न सक्ने !

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ सूचकांक ‘नेप्से–३० इन्डेक्स’ सञ्चालनमा ल्याउन ढिलाई गरेको देखिएको छ । गत साउनमै सफल परीक्षण भइसकेको उक्त इन्डेक्स अझै पनि सञ्चालन आउन नसकेको हो । 

नयाँ इन्डेक्सहरु सञ्चालनमा ल्याउने गरि गत भदौ २५ गते नेप्से सञ्चालक समितिले ‘सूचकांक (इन्डेक्स) विकास, सञ्चालन तथा व्यवस्थापन सम्बन्धी आन्तरिक कार्यविधि, २०८०’  पारित गरेको थियो । त्यो कार्यविधिअनुसार नेप्से–३० मात्रै नभएर अन्य सूचाकांक पनि सञ्चालन गर्न सकिन्छ । 

Advertisement

तर, पहिलो चरणमा ‘नेप्से–३० इन्डेक्स’ सञ्चालन गर्ने तयारी थियो । गत साउनमै आवश्यक पूर्वाधार तयार गरेर परीक्षण समेत गरिएको थियो । ढिलोमा पनि कात्तिकबाट यो इन्डेक्स सञ्चालनमा ल्याउने बताइएको थियो । तर, चैत सकिन लाग्दा पनि त्यसले पूर्णता पाउन सकेको छैन ।

नेप्से स्रोतकाअनुसार सञ्चालक समितिले मिति नतोक्दा ‘नेप्से–३० इन्डेक्स’ सञ्चालनमा ल्याउन सकिएको छैन । सञ्चालक समितिले नै यो इन्डेक्स सञ्चालन ल्याउने मिति तोक्नुपर्छ । तर, अहिलेसम्म सञ्चालक समितिमा यस सम्बन्धी प्रस्ताव समेत नगएको स्रोतको भनाई छ ।  

साथै, यो इन्डेक्स सञ्चालनमा आउन अझै केही समय लाग्ने बताइएको छ । नेप्से सञ्चालक समितिको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव पठाउने व्यवस्था पनि छ । सोहीअनुसार अहिले नेप्सेको अध्यक्षमा मन्त्रालयको सहसचिव शोभाकान्त पौडेल छन् । भन्सार बिभागमा महानिर्देशक रहेका पौडेलको हालै सरुवा भएको छ । अबका दिनमा उनी नै अध्यक्ष हुन्छन् वा अन्य व्यक्ति आउँछन् भन्ने बिषयमा टुंगो लागेको छैन । त्यसले गर्दा पनि यसमा थप समय लाग्न सक्ने स्रोतको भनाइ छ ।

सञ्चालक समितिले स्वीकृत दिएको अवस्थामा भने ‘नेप्से–३० इन्डेक्स’ सञ्चालन गर्न सकिने नेप्सेका अधिकारीहरु बताउँछन् । ‘यसका लागि आवश्यक पूर्वाधार बनिसकेको छ । प्राविधिक रुपमा यो इन्डेक्स सञ्चालन गर्न तयार भइसकेका छौं । तर, सञ्चालक समितिले मिति नतोक्दा सञ्चालन गर्न सकिएको छैन,’ नेप्सेका एक उच्च अधिकारीले भने, ‘सञ्चालक समितिले बाटो खुला गरेपछि हामी यो इन्डेक्स सञ्चालन गर्छौ ।’

यो सूचाकांक सञ्चालनमा आएमा दोस्रो बजारको कारोबार थप सुदृढ हुने बताइएको छ । यस सूचकांकले कारोबार तथा उतारचढावलाई प्रतिबिम्बित गर्नुका साथै डेरिभेटिभ प्रकृतिको निश्चित अवधिको कारोबार उपकरण सञ्चालन, पोर्टफोलियो व्यवस्थापन लगायतमा सहयोग पुग्ने अपेक्षा पनि गरिएको छ । साथै, यसबाट दोस्रो बजार कारोबारमा नयाँ आयाम थपिने पनि बताइएको छ । 

के हो नेप्से ३०’ सूचाकांक ? 
नेप्से–३० इन्डेस फ्रि फ्लोट विधिबाट नेप्सेको समग्र बजारलाई प्रतिनिधित्व गर्ने एक नयाँ सुचाकांक हो । हाल नेप्सेमा सेन्सीटीभ, सव–सेन्सीटीभ, समुहगत गरेर १७ इन्डेक्स रहेका छन्, यो थपिएपछि १८ इन्डेक्स हुनेछन् । 

नेप्सेले बिभिन्न मापदण्डमा सूचिकृत कम्पनीबाट छानिएका ३० कम्पनीलाई समावेश गरेर यो इन्डेक्स सञ्चालन गर्नेछ । मुख्य इन्डेक्समा हुने कारोबारकै आधारमा यो इन्डेक्सको गणना गरिने छ । यद्यपि, यस इन्डेक्सको पनि छुट्टै सेयर कारोबार भने नहुने प्रस्ताव गरिएको छ । तर अहिले लगानीकर्ता तथा शेयर कारोबार गर्ने व्यक्तिहरुले नेप्से–३० इन्डेक्सबारे विस्तृतमा बुझिसकेका छैनन् । उनीहरुले यसबारे राम्रोसँग बुझेपछि छुट्टै कारोबार गराउने योजना भने नेप्सेको छ । 

तोकिएको मापदण्डका आधारमा नेप्सेले बैंक तथा वित्तिय संस्था, लघुवित्त, बीमा, जलविद्युत, उत्पादनमुलक र व्यापार तथा सेवा गरि ६ क्षेत्रबाट ३० कम्पनी छनोट गरिसकेको छ । तर, सञ्चालक समितिबाट मिति नतोकिदिदाँ त्यो सुची सार्वजनिक गरिएको छैन । शेयर बजार प्रभावित हुने डरमा पनि उक्त सुची गोप्य राखिएको छ । 

यसरी गरिने छ ‘नेप्से ३०’ इन्डेक्सको गणना 
यो इन्डेक्स गणनाको लागि पहिला छनौट भएका कम्पनीहरुको प्रारम्भिक सूची तयार गरिनेछ, नेप्से आन्तरीक रुपमा त्यस्तो सूची तयार गरिसकेको छ । यो सञ्चालनमा आउने भएपछि उनीहरुको फ्रि फ्लोट बजार पूँजीकरण, पछिल्लो वर्षको प्रति सेयर आम्दानी, कारोबार रकम, कारोवार संख्या तथा कारोबार कित्ताका आधारमा प्रत्येकलाई भार प्रदान गरेर कुल भार गणाना गरिनेछ । त्यसपछि अन्त्यमा छनोट भएका कम्पनीहरुको प्रि फलोट शेयरको हालको बजारको पुुँजीकरणलाई आधार बजार पँजीकरणले भाग गरि १००० ले गुणा गरेर इन्डेक्स निकालिनेछ ।

Advertisement

Advertisement