आत्मनिर्भर अर्थतन्त्रका लागि अबको बजेटले स्वदेशी उद्योगलाई प्रोत्साहित गर्नुपर्छः अग्रवाल

Advertisement

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले विदेशी विनिमय संचितिको हिसावले बाह्य क्षेत्र राम्रो रहे पनि आन्तरिक अर्थतन्त्रमा अपेक्षित सुधार आउन सकेको छैन् । 

कर्पोरेट नेपालको दर्शौं बार्षिकोत्सवमा बुधबार साँझ उनले आर्थिक मन्दीका कारण अर्थतन्त्रमा परेको प्रभाव कम हुन नसकेको बताए । 

Advertisement

अग्रवालले सार्वजनिक खरीद ऐनमा संशोधन भए पनि निर्माण व्यवसायीहरुले भुक्तानी पाउन नसकेको बताउँदै निर्माण व्यवसायीलाई रकम भुक्तानी गरेको भए अर्थतन्त्र केही चलायमान बनाउन सहयोग पुग्थ्यो भने । उनले स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न नीतिगत स्थिरता अनिवार्य शर्त भएको बताए । 

नेपालका नीति नियम लगानी प्रोत्साहन गर्ने खालको नरहेको भन्दै अग्रवालले त्यस्ता कानुन सुधार आवश्यक रहेको बताए । अर्थ मन्त्रालय नयाँ बजेट निर्माणमा जुटिसकेकाले अबको बजेट स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने रणनीति लिनुपर्ने उनले बताए । 

अग्रवालले भने, ‘स्वदेशी उद्योगलाई प्रोत्साहन गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि आगामी बजेट कोशेढुंगा सावित होस भन्ने नेपाल उद्योग परिसंघको धारणा रहेको छ ।’ नेपाल आत्मनिर्भर भइसकेका र हुने क्रममा रहेका वस्तुहरुको आयातलाई निरुत्साहित गरी स्वदेशी उद्योगको प्रवद्र्धनको नीति लिन आग्रह गर्दै उनले अनधिकृत व्यापार पनि स्वदेशी उद्योग व्यवसायका लागि चुनौति बनेको बताए । 

‘यस्तो ‘अन–अथोराइज्ड’ व्यापारले एकातिर राज्यले राजश्व गुमाइरहेको छ भने अर्कोतिर स्वदेशी उद्योगहरु पनि प्रभावित भएका छन्’ अग्रवालले भने । 

Advertisement