वाइडबडी विमान खरिदमा झण्डै डेढ अर्ब भ्रष्टाचार भएको भन्दै अख्तियारद्धारा मुद्दा दायर

Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगमको दुइ वटा वाइडबडी विमान खरिदमा झण्डै डेढ अर्ब भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धक सुगत कंसाकार, पूर्वपर्यटन सचिव शंकरप्रसाद अधिकारीसहित ३२ जनालाई प्रतिवादी बनाएर एक अर्ब ४७ करोड रुपियाँ भ्रष्टाचारको दाबीसहित मुद्दा दायर गरेको हो । 

Advertisement

त्यस्तै, अख्तियारले पूर्वअर्थसचिव शिशिर ढुङ्गाना, बुद्धिसागर लामिछाने, टेकनाथ आचार्य, निमानुरु शेर्पा, मुक्तिराम पाण्डे, जीवन सिटौला र अच्युतराज पहाडीलाई पनि प्रतिवादी बनाएको छ । ढुङ्गाना तत्कालीन समयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिव रहेका बेला वाइडबडी विमान खरिदमा समझदारीपत्र स्वीकृत गर्न गठित समितिका संयोजक थिए भने लामिछाने पर्यटन मन्त्रालयका सहसचिव तथा निगम सञ्चालक समितिका सदस्य हुन् । त्यस्तै, आचार्य, शेर्पा, पाण्डे र पहाडी त्यसबेला नेपाल वायुसेवा निगम सञ्चालक समिति सदस्य थिए । 

लामो समयदेखि पर्याप्त जहाज नभएका कारण निगमले बजार विस्तारका लागि भन्दै दुइटा वाइडबडी विमान खरिद गर्ने निर्णय गरेको थियो । खरीदका क्रममा त्यतिबेला छ पटक छानविन गर्दा कुनै अनियमितता नभएको भन्दै प्रक्रिया अघि बढाउन बाटो खोलेको अख्तियारले अहिले भने अनियमितता भएको पाएको हो । कंसाकारले भने आफूहरुले जहाज निर्मातासँग सोझै जहाज खरीद गरेकाले कुनै अनियमितता नभएको बताउँदै राजनीतिक उद्देश्यका लागि भ्रष्टाचार भएको भनेर मुद्दा बनाउने काम गरिएको बताउँदै आएका छन् । 

Advertisement

Advertisement