स्वास्थ्य बीमाको ८ वर्षः २६.५४ प्रतिशत पुग्यो पहुँच, सबै स्थानीय तहमा सेवा विस्तार

Advertisement

काठमाडौं । सेवा सुरु भएको ८ बर्षमा नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम सबै स्थानीय तहमा विस्तार भएको छ । 

आइतबार काठमाडौंको बुढानिलकण्ठ नगरपालिका पनि स्वास्थ्य बीमा कार्यक्रम सुभारम्भ भएको छ, योसँगै ७५३ स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ ।

Advertisement

यसअघि बुढानिलकण्ठ बाहेक सबै पालिकाहरुमा स्वास्थ्य बीमा कार्यक्रम पुगेको थियो, आइतबारदेखि बुढानिलकण्ठ नगरपालिकामा पनि स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको स्वास्थ्य बीमा बोर्डकी सुचना अधिकारी ओम कुमारी कँडेलले जानकारी दिइन् । 

सरकारले २०७२ चैत २५ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम  सुरु गरेको थियो । आइतबार यो सुरु भएको ८ बर्ष पुगेको छ । आठौं स्वास्थ्य बीमाको अवसरमा बोर्डले बुढानिलकण्ठमा यो सेवा विस्तार गरेको हो । 

सबै स्थानीय तहमा सेवा विस्तार भएपनि स्वास्थ्य बीमा कार्यक्रमको सुदृढीकरण र दिगो व्यवस्थापनका लागि अझै चुनौतीहरुको भएको बोर्डको भनाइ छ । सेवा प्रदायक स्वास्थ्य संस्थाले जवाफदेही भएर सेवा प्रवाह गर्नुपर्र्ने बोर्डले बताएको छ । 

साथै, बीमित नागरिकहरुले पनि सहजतापूर्वक सेवा प्राप्त गर्नुपर्ने बोर्डको भनाइ छ । त्यो बाहेक उचित नियमन तथा तोकिएको समयमा दावी भुक्तानी गर्ने व्यवस्था मिलाई गुनासो रहित कार्यक्रम सञ्चालन गर्न बोर्ड तयार बताइएको छ । 

स्वास्थ्य बीमाको पहुँच कति ?
बोर्डकाअनुसार हालसम्म २३ लाख ९२ हजार ६७६ घर परिवार स्वास्थ्य बीमामा जोडिएका छन्, जुन घरधुरीको आधारमा ३५.८८ प्रतिशत हो । 

जनसंख्याको आधारमा ७७ लाख ४१ हजार ४८३ जनाले स्वास्थ्य बीमा गरेका छन् । त्योअनुसार २६.५४ प्रतिशत नागरिकमा स्वास्थ्य बीमाको पहुँच पुगेको देखिन्छ ।

कूल बीमित मध्ये ३६ लाख ५२ हजार ४३२ जनाले भने यसको सुविधा उपभोग गरेको बोर्डको तथ्यांकमा उल्लेख छ । त्यसमा नवीकरण गर्ने बीमित संख्या भने ४८ हजार ८ लाख ७६० रहेको बोर्डको भनाइ छ । 

बोर्डले चालु आवमा बीमा सेवा प्रदान गरेबापत अस्पतालहरुलाई ६ अर्ब ४४ करोड १६ लाख रुपियाँ भुक्तानी गरेको छ । बोर्डमा मौज्याद रकम भने ३ अर्ब ८४ करोड ८८ लाख रुपियाँ रहेको छ । 

स्वास्थ्य बीमामा लक्षित बर्ग कति ? 
बोर्डकाअनुसार हालसम्म्म ५ लाख १४ हजार ६१८ जना अति गरिब नागरिक स्वास्थ्य बीमा आवद्ध भएका छन् । जेष्ठ नागरिक तर्फ भने ९ लाख ३० हजार ३९७ जनाले बीमा गरेका छन् । 

यसैगरी एचआईभी संक्रमित बीमितको संख्या भने ३६ हजार ८८१ रहेको बोर्डको तथ्यांकमा उल्लेख छ । अति अशक्त अपाङ्ग बीमितको संख्या १ लाख ४१ हजा २२३ रहेकोछ । एमडिआरएक्सडिआर टिवि बीमितको संख्या भने ३ हजार ३३१ रहेको छ । यो बाहेक कुष्ठरोग संक्रमित बीमित ३ हजार ६८५ र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका बीमित १ लाख ३२ हजार ५६७ रहेका छन् ।


 

 

Advertisement

Advertisement