नयाँ वर्षमा पोखराका होटलमा स्वदेशीभन्दा विदेशी पर्यटकको बुकिङ धेरै

Advertisement

काठमाडौं । यस वर्षको नयाँ वर्षमा पर्यटकीय नगर पोखराका होटलहरुमा अन्तरिक पर्यटकहरुभन्दा विदेशी पर्यटकहरुको बुकिङ बढी रहेको छ ।

पोखराका होटलहरुमा कोरोना महामारीपछि विदेशी पर्यटकहरुभन्दा अन्तरिक पर्यटकहरुको नै धेरै बुकिङ हुने गरेकोमा यस पटक भने नेपालीभन्दा विदेशी पर्यटकहरुको बुकिङ धेरै रहेको पर्यटन व्यवसायीहरु बताउछन् । 

Advertisement

टेम्पल ट्रि रिसोर्ट एण्ड स्पाका अध्यक्ष बसन्त गौतमका अनुसार अंग्रेजी र नेपाली नयाँ वर्ष दुवैमा होटल बुकिङ राम्रो रहेको बताए । गत वर्षको तुलनामा यस वर्ष नेपाली पर्यटकहरुको आगमन कम रहे पनि विदेशी पर्यटकहरुको आगमन गत वर्षको भन्दा पनि राम्रो रहेको बताए । 

नेपाली पर्यटकहरुको आगमन कम हुनुको कारण विस्तारका लागि भन्दै भत्काइएको सडक निर्माण सम्पन्न हुन नसक्नु, आर्थिक मन्दीका कारण मानिसहरुको क्रयशक्तिमा कमी आउनु पनि हो भने । गौतमले भने, ‘अलिअलि तलमाथि होला । तर सबै होटलहरुमा राम्रो बुकिङ छ । धेरैजसोमा दुई–तीन दिनको बुकिङ छ ।’  

गत वर्षदेखि पोखराको पर्यटन क्षेत्र लयमा फर्किने प्रयासमा रहेको उनले बताए । नेपालीहरु कर्पोरेट कार्यक्रमहरुमा आउने क्रम कम हुनुमा पनि सडक मुख्य कारण भएको बताउँदै गौतमले सडकको अवस्थाका कारण चाहेर पनि धेरै नेपाली पोखरा आउन नसकेको बताए । 

पोखरा महानगरपालिकालगायत पोखराका पर्यटन संघ–संस्थाहरु मिलेर पर्यटनको आधारभूत संरचना विकास गर्न लाग्नुपर्ने उनले बताए । होटल संघ पोखराले पनि नेपाली रैथाने खाना महोत्सव गर्न लागेको गौतमले जानकारी दिए । वसन्त ऋतुमा पोखरामा आन्तरिक तथा विदेशी पर्यटकहरुको बढी भिड लाग्ने गर्दछ । 

गत वर्षदेखि सञ्चालनमा आएको दोर्जेज रिसोर्ट एण्ड स्पाका अध्यक्ष दोर्जे लामाले पनि आफ्नो रिसोर्टमा अहिले राम्रो बुकिङ रहेको बताए । अहिले पोखरामा विदेशी पर्यटकहरुको चहलपहल बढेको बताउदै उनले भने, ‘पर्यटकहरुको आगमनबाट हामी एक्दम खुःसी छौं । गएको महिना मार्च महिनामा मूल श्रेणीमा रेकर्ड नै तोडियो । अब यही अप्रिलमा पनि रेकर्ड तोड्ने भनेर बसिरहेका छौं ।’  

हामी पोखराका पर्यटन व्यवसायीहरु आफनो तर्फाबाट लागि नै रहेका छौं तर पोखरामा आउन बाटो, हवाई उडानको थोरै समस्याहरु छ । यसमा सरकारले गम्भीर भएर लाग्नुपर्यो र पर्यटकहरुको सहजिकारण गरिदिन पर्ने उनको भनाइ छ । 

रिसोर्टका ‘अप्रेसन म्यानेजर’ प्रमोद लामिछानेले अहिले आफूहरुको रिसोर्टमा ५० प्रतिशत बुकिङ रहेको बताए । नयाँ वर्षको अघिल्लो दिन र नयाँ वर्षको दिनको लागि बुकिङ धेरै रहेको भन्दै उनले चैत महिनाको बुकिङ निकै आकर्षक रहेको बताए । 

अहिले पोखरामा विशेषगरी पदयात्रामा जाने पर्यटकहरु उल्लेख्य संख्यामा रहेको लामिछानेको भनाई छ । उनले वसन्त ऋतुमा पोखरामा धेरै पर्यटक आउने भएकाले सो कुरालाई दृष्टिगत गरी सडक यातायाता, हवाई यातायात, साहसिक खेल र मनोरञ्जनलगायतका पर्यटन पूर्वाधारहरु राम्रो हुनुपर्ने बताए । 

लामिछानेले भने, ‘पोखरा आउने पर्यटकहरु वातावरणसँग खुःसी हुन्छन् तर पोखराको सेवा, सुविधाको कुराहरुमा चाहिँ विदेशी तथा अन्तरिक पर्यटकहरु अलिकति उदास नै हुनुहुन्छ । कुनै पर्यटकहरु हवाई उडानमार्पmत आउनु हुन्छ भने त्यो उडान नै दुई–तीन घण्टा नै उडान ढिला हुन्छ । उडान समयमा नहुने बित्तिकै अरु योजना पनि प्रभावित हुन्छ ।’

बर पीपल रिसोर्टका अप्रेसन म्यानेजर पदम न्यौपानेले चैत महिनामा आफूहरुको रिसोर्ट करिब ८५ प्रतिशतले बुकिङ रहेको बताए । उनले गत वर्ष अन्तरिक पर्यटकको चहलपहल रहे पनि अहिले विदेशी पर्यटकहरुको चहलपहल बढी रहेको बताउँदै उनले कोरोना महामारीपछि यति धेरै पर्यटक आगमन देखिएको बताए । 

न्यौपानेले भने, ‘पहिला हामी विदेशी र अन्तरिक पर्यटकहरुमा ५०–५० प्रतिशतले निर्भर हुनुपर्थ्यो । अहिले झण्डै ८५ प्रतिशत बुकिङ छ । अहिले हामीले चाहेर पनि रुम दिन सकिरहेको छैन् ।’ अहिले पोखरामा युरोपका पर्यटक धेरै रहेको उनले बताए । 

यातायात सुविधामा सुधार जरुरी रहेको भन्दै न्यौपानेले थपे, ‘पोखरामा काठमाडौंबाट जहाजमा आउँदा पनि कहिले किराले दुःख दिन्छ । सडकबाट आउँदा बाटोको अवस्था दयनीय छ । यी दुई कारणले गर्दा समस्या भइरहेको छ । पर्यटक आगमनमा मुख्य समस्या नै यही हो ।’ 

टाइगर माउन्टेन पोखरा लजका झलक चौधरीले आफूहरुको लजमा विदेशी पर्यटक उल्लेख्य रहे पनि उनीहरु नेपाली नयाँ बर्षका लागि भनेर नभई सिजन भएकाले आएको बताए । उनले भने, ‘हाम्रोमा नेपालीहरुको बुकिङ छैन् ।पहिलादेखि नै बुकिङ भइरहेको भनेको विदेशी पर्यटकहरुको नै हो । हाम्रो लजमा अहिले करिब ६० प्रतिशत बुकिङ छ ।’ अहिले बिस्तारै पोखराको पर्यटन क्षेत्रले पिकअप लिएको चौधरीले बताए । 

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पोखराका होटलहरुमा सरदर ५० प्रतिशतको बुकिङ रहेको बताए । नयाँ वर्षको दिनअघि र नयाँ वर्षको दिनमा ८०–९० प्रतिशत बुकिङ हुने अपेक्षा गर्दै उनले आन्तरिक पर्यटकहरु पहिला नै बुकिङ गरेर आउने कम हुने बताए । 

विदेशी पर्यटकहरुको बुकिङ अघिल्ला बर्षहरुमा भन्दा यस बर्ष राम्रो रहेको स्वीकार गर्दै सुवेदीले तीन दिन पोखरामा फेवा नव वर्ष महोत्सव पनि रहेकाले यसले थप पर्यटक आकर्षित गर्न सहयोग गर्ने बताए । फेवा महोत्सवमा नेपाली रैथाने खाना महोत्सव पनि हुने भएकाले पर्यटकहरुलाई यसले थप आकर्षित गर्ने उनको भनाई छ । 

Advertisement