हेटौँडाको गुन्द्रुकलाई सरकारी गुणस्तरको मान्यता

Advertisement

मनहरी । हेटौँडामा उत्पादित गुन्द्रुकले सरकारी मान्यता प्राप्त गरेको छ । हेटौँडा–१२ घलेगाउँस्थित कञ्चनजङ्गा कृषि सहकारी संस्था लघु उद्यमी उद्योगले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि सरकारी मान्यता प्राप्त भएको हो । 

सो उद्योगले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि उपयुक्त भएको भन्दै हेटौँडास्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आज अनुज्ञा पत्र प्रदान गरेको उपमहानगरपालिकामा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । उपमहानगरको लगानीमा सञ्चालन गरिएको तालिमबाट उद्यममा लागेको साना व्यवसायीमध्ये गुन्द्रुक उद्योगले पहिलो पटक सरकारी गुणस्तरको मान्यता प्राप्त गरेको हो । 

Advertisement

उपमहानगर प्रमुख मीनाकुमारी लामाले यहाँ उत्पादन भएको गुन्द्रुकको बजारीकरणमा उपमहानगरपालिकाले सहयोग बताइन् । उद्यमी समूहलाई अनुज्ञा पत्र हस्तान्तरण गर्दै उहाँले हेटौँडा बजारसहित अन्य सम्भावना भएका क्षेत्रमा गुन्द्रुकको बजारीकरणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाइन् । उनले पहिलो चरणमा हेटौँडा बजारमा र दोस्रो चरणमा बाहिरी जिल्लामा गुन्द्रुकको बजारीकरण गर्ने जानकारी दिइन् ।  

होटल व्यवसायी संघ मकवानपुरका अध्यक्ष दिलिशगोविन्द जोशीले जिल्लामा मासिक एक हजार दुई सय किलो गुन्द्रुक खपत हुने गरेको बताए । उनले होटलहरुले यहीँ उत्पादन भएको गुन्द्रक खपत गर्नेमा प्रतिबद्धता जनाए । “सरकारी मान्यता प्राप्त भएपछि हामीले गुणस्तरका विषयमा शंका गर्नु परेन । अब जिल्लाका होटलहरुमा यहाँ उत्पादित गुन्द्रक प्रयोगमा समस्या छैन”, उनले भने । 

गुन्द्रुकले सरकारी मान्यता प्राप्त गरेसँगै बजारीकरणका लागि बाटो खुलेको छ । करिब चार महिना लामो अनुगमन र परीक्षणपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट गुन्द्रुक प्रयोगका लागि अनुज्ञा पत्र प्राप्त भएको उपमहानगरपालिका उद्योग शाखाका प्रमुख हिमप्रसाद पौडेलले जानकारी दिए ।  

उपमहानगरपालिकाको रु एक लाख लगानीबाट सुरु अर्ग्यानिक साग उत्पादनबाट बनाइएको गुन्द्रुकले अनुज्ञा पत्र पाउँदा आफूहरु निकै खुशी भएको उद्यमी समूहका अध्यक्ष चिनिमाया गुरुङले बताइन् ।  

“उपमहानगरले हामीलाई दिएको हौसलाले अहिलेको अवस्था आएको हो ।  उपमहानगरको सहयोग र सहकारीको रु ८० हजार ऋणबाट १५ कठ्ठा जमिन भाडामा लिएर सागखेती गरी गुन्द्रुक उत्पादन गरिएको हो”, उनले भनिन् ।  

अनुज्ञा पत्रको अभावमा बजारीकरण गर्न नपाएको उनले बताइन् । “अनुज्ञा पत्रको अभावमा बजारीकरण गर्न नपाउँदा रु तीन लाख बराबरको गुन्द्रुक यत्तिकै थन्किएको थियो, अब सजिलो भएको छ”, उनले भनिन् ।  

यस समूहमा हाल १२ जना हुनुहुन्छ । समूहले गत असोजमा उपमहानगरपालिकासँग सम्झौता गरी मंसिरबाट गुन्द्रुक उत्पादन सुरु गरेको थियो । उद्योग शाखाको तथ्याङ्कअनुसार उपमहानगरले आठ सयभन्दा बढीलाई विभिन्न प्रकारका तालिम दिएपनि हाल दुई सय ६८ जना उद्यममा जोडिएको जनाएको छ । रासस

Advertisement

Advertisement