वैदेशिक रोजगारीसँगै विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गर्ने सपना

Advertisement

काठमाडौं । लामो समयदेखि वैदेशिक रोजगारीमा मलेसियामा बिताएका उदय केरुङ विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सगरमाथा आधार शिविर प्रस्थान गरेका छन् । 

यसअघि उनले ‘मेरा पिक’ र विश्वको आठौं अग्लो मनास्लु हिमालको सफल आरोहण गरिसकेका छन् । केरुङले सगरमाथाको आरोहण एटके एक्सपेडिशन कम्पनीमार्फत गर्न लागेका हुन् । 

Advertisement

मनास्लु हिमालको सफल आरोहण गरिसकेका केरुङलाई हिमालप्रतिको मोह बढ्दै जाँदा अहिले सगरमाथामा शिखर मा पाइला टेक्ने अठोटमा पुगेका हुन् । उनी १३ वर्षदेखि वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका थिए । 

आफनो काम र सपना दुवैलाई साथमा लिएर हिंडेका केरुङले आफ्नै खर्चमा सगरमाथा शिखरमा पाइला टेक्न लागेका हुन् । नेपालको पाँचथरमा जन्मिएका उनी आफूजस्तो साधारण मानिसले लिएको यो चुनौतीले सर्वसाधारणलाई उत्साही बनाउने विश्वास राख्छन् । 

मलेसियामा काम गरिरहेका केरुङ २०२१ मा राजधानी काठमाडौं आएका थिए । तर कोभिड–१९ महामारीका कारण फर्किन पाएनन् । काठमाडौं बसाइको समय सदुपयोग गर्न उनी अन्नपूर्ण सर्किटको पदयात्रामा पनि गए । त्यसपछि केरुङले हरेक सिजनमा सगरमाथा आधार शिविरलगायतका पदमार्गको यात्रा गरे । त्यसपछि उनले मेरा पिकको सफल आरोहण गरे । 

केरुङ भन्छन्, ‘यसै क्रममा मलाई हिमालप्रतिको मोह बढ्दै गयो । आकर्षण बढ्दै गयो । हिमाल आरोही पूर्णिमा श्रेष्ठको पोस्टहरुले पनि मलाई अझ रुची बढायो । मनास्लुको आरोहणपछि मेरो मनमा विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गर्ने योजना आयो । बिस्तारै पालैपालो एकपछि अर्को हिमाल आरोहण गर्दै जाने योजना छ ।’ 

आफूले पहिलो पटक मनास्लुको आरोहण गरेपछि किन सगरमाथा नचढेको ? भनेर केरुङलाई प्रश्न गरेका थिए । ‘म जन्मिएको ठाउँका मान्छेलाई एकैचोटी ठूलो हिमाल चढ्न सकिदैन भन्ने थाहा थिएन’ उनले भने, ‘जोसँग पैसा छ, उसले मज्जाले हिमाल चढ्छ भन्ने उनीहरुको सोच थियो । मैले हिमाल चढेपछि सरकारले टन्नै पैसा दिन्छ भन्ने उनीहरुलाई लागेको रहेछ ।’ 

हिमालको आरोहण गर्नुअघि आफूलाई हिमाल र पर्वतारोहणबारे केही कुरा थाहा नरहेको बताउँदै केरुङले आरोहणमा लागेपछि थाहा पाएको बताए । उनले भने, ‘हाम्रो ठाउँको मान्छेहरु विदेश जाने, पैसा कमाउने र कतै राम्रो ठाउँमा जग्गा किने । घर बनाउने भन्ने हुन्छ । हिमाल चढ्ने भन्ने कुरा धेरैको मनमा आउँदैन् । पाँचथरबाट अहिलेसम्म जम्मा तीन जनाले हिमाल चढेको छ । दुई जनाले चाहिँ सगरमाथा नै चढेको छ । म सफल भयो भने तीन जना हुन्छ ।’

केरुङले आफू आफ्नोतर्फबाट नेपालको पर्यटन प्रवर्द्धनमा लागेको सुनाए । नेपालको सुन्दरतालाई चिनाउन सबैले भूमिका खेल्नुपर्ने उनी बताउँछन् । मुल कुरा सरकारको भूमिका नै प्रभावकारी हुनुपर्ने केरुङले बताए । सगरमाथा आरोहणपछि मलेसिया फर्किने योजनामा रहेका उनले बाँकी रहेका आठ हजार मिटर अग्ला हिमालको आरोहण पनि गर्दै जाने बताए । 

साथै, पाँचथरको पर्यटन प्रवर्द्धनमा पनि सक्दो भूमिका खेल्ने बताउँदै केरुङले भने, ‘हाम्रो जिल्लाको नजिक रहेको इलाम यति प्रख्यात छ । अन्तरिक पर्यटकहरुको लागि निकै धेरै रोजाइमा पर्छ । तर पाँचथरमा चाहिँ पर्यटकहरुको चहलपहल छैन् । त्यही भएर पनि यो जिल्लालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न जरुरी छ ।’  

Advertisement

Advertisement