आफ्नै पार्टीको मन्त्री सहकारीबाट रु. २३ लाख ठगिएको गृहमन्त्रीलाई थाहा रहेनछः खतिवडा

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले आफूहरुले सहकारी ठगी प्रकरणमा कसैलाई दोषी करार नगरेको बताएका छन् । 

बुधवार संसदमा बोल्दै उनले आफूहरुले सहकारी ठगीमा कसैलाई दोषी करार नगरेको बताएका हुन् । उनले काठमाडौं, बुटवल, पोखरा, भैरहवा र चितवनका सम्पूर्ण सहकारीबाट अर्बौँ पैसा अपचलन गरेर गोर्खा मिडिया प्रा.लि.का नाममा एक अर्बभन्दा बढी पैसा जम्मा गरिएको र सो कम्पनीको प्रवन्ध निर्देशक रवि लामिछाने रहेको बताए । 

Advertisement

खतिवडाले सहकारीको सदस्य नभएको संस्थाले पैसा लिन नपाए पनि लगिएको भन्दै यसको संसदीय समिति बनाएर छानविन गर्नुपर्ने बताए । उनले कांग्रेसले कसैलाई फसाउन नचाहेको बताए । 

खतिवडाले भने, ‘काठमाडौं, बुटवल, पोखरा, भैरहवा, चितवनका सम्पूर्ण सहकारीबाट अरबौँ पैसा अपचलन गरेर गोर्खा मिडिया प्रा.लि.का नाममा एक अर्बभन्दा बढी पैसा त्यहाँ जम्मा गरियो । जुन गोर्खा मिडिया प्रा.लि.को प्रवन्ध निर्देशक रवि लामिछाने भन्ने व्यक्ति हुनुहुन्थ्यो । सहकारीको पैसा कुनैपनि आफू सदस्य नभएको संस्थामा लान पाइदैन । जुन संस्था त्यसको सदस्य छैन, त्यो संस्थामा अरबौँ पैसा लगियो । त्यो पैसा छानविन होस् भनेर हामीले आवाज उठाउँदा म निर्दोष छु, यसमा छानविन हुनुहुँदैन भनेर आवाज उठाइन्छ । हामीले कसैलाई दोषी करार गरेका छैनौँ । निर्दोष छ भने एउटा संसदीय छानविन समिति गठन गरौँ । त्यसले जे भन्छ, त्यसलाई हामी मान्न तयार छौँ भन्दा किन सरकार अड्किएर बसेको छ ?’ 

उनले थपे, ‘हामीले फेरि पनि भन्यौँ कोहीसँग पूर्वाग्रह राखेर नेपाली कांग्रेस राजनीति गर्दैन । हाम्रो कसैसँग दोष छैन, ईष्र्या छैन । हामी कसैलाई फसाउन चाहादैनौँ । तर गल्ती छैन भने भन्न सक्नु प¥यो, मेरो केही गल्ती छैन । छानविन गरियोस् । गल्ती छ भने सजाय भोग्न तयार छु भनेर किन सरकार आँट गर्दैन ? संसदीय छानविन समितिका लागि सरकार किन भागेर हिँड्छ ? यदी गोर्खा मिडिया प्रा.लि.ले लिएको पैसा प्रवन्ध निर्देशक रवि लामिछाने हुँदा तिर्नु पर्दैन भन्ने फैसला र नजिर सरकारकहाँ छ भने त्यो हामीलाई देखाइयोस् । नभए निष्पक्ष छानविन समिति संसदबाट गठन होस् भनेर हामी माग गर्न चाहन्छौँ । एकजना मन्त्रीले मेरो त २३ लाख रुपियाँ ठगी भयो भन्नुभएछ । गृहमन्त्रीलाई आफ्नै मन्त्रीले ठगी भयो भनेर भन्दा पनि गृहमन्त्रीको ध्यान गएको छैन । कसले छानविन गर्ने हो त निष्षक्ष संसदीय समिति नबनाएदेखि ?’

खतिवडाले नेपाली काँग्रेसले संसद अवरुद्ध गर्न नचाहेको बताए । उनले कसलाई दण्ड र कसलाई न्याय दिने भन्ने फैसला सुनाउने अधिकार सरकारलाई नभएको बताए । 

Advertisement

Advertisement