चार वर्षदेखि रोक्किएको तिब्बततर्फबाट सगरमाथा आरोहण खुल्यो, तर नेपाललाई घाटा

Advertisement

काठमाडौं । चार वर्षदेखि रोक्किएको तिब्बततर्फबाट सर्वोच्च शिखर सगरमाथा आरोहण बल्ल खुलेको छ । कोरोना महामारी सुरु भएपछि चीनले आफ्नो स्वशासित क्षेत्र तिब्बततर्फबाट सगरमाथा आरोहण बन्द गरेको थियो । 

तिब्बती खण्डबाट सगरमाथा आरोहणमा रोकिएका कारण गत वर्ष वसन्त ऋतुमा नेपालबाट सगरमाथा आरोहण गर्ने आरोहीको संख्या र रोयल्टी संकलन हालसम्मकै उच्च रहेको थियो । यस बर्ष तिब्बतबाट पनि आरोहण खुल्ला गरिएबाट नेपालबाट आरोहण गर्नेको संख्या घट्ने देखिएको छ ।

Advertisement

यसपटक नेपालले चीनतर्फबाट आरोहण गर्नेलाई नेपालतर्फबाट आरोहणका लागि आकर्षित गर्न असफल भएको छ । सगरमाथा आरोहणको लागि सामान्यतया वैशाखको मध्येदेखि जेठको मध्येसम्म अनुकूल समय मानिन्छ । तिब्बततर्फबाट भन्दा सगरमाथा आधार शिविरदेखि सगरमाथाको चुचुरोमा पुग्ने नेपालको बाटो बढी प्रख्यात रहेको छ । 

एसियन ट्रेकिङका अध्यक्ष आङ छिरिङ शेर्पाले गत वर्ष वसन्त ऋतुमा चारसय भन्दा बढी आरोहीले सगरमाथा आरोहणको अनुमति लिएकामा यस वर्ष त्यो संख्यामा गिराउट आउने देखिएको बताए । 

उनले चीनले पनि यस बर्ष सगरमाथा आरोहण खुल्ला गरेकोले नेपालबाट आरोहण गर्नेको संख्या घट्न सक्ने बताए । नेपालबाट सगरमाथा आरोहण गर्न लाग्ने रोयाल्टी भन्दा चीनबाट आरोहण गर्न लाग्ने रोयल्टी सस्तो रहेको शेर्पाले जानकारी दिए । 

उनले भने, ‘सन् २००८ भन्दा अगाडिसम्म उत्तरतर्फबाट सगरमाथा चढ्ने धेरै हुन्थे । त्यही बिचमा चीनले सगरमाथाको उचाइ नापेर ८,८४४.५७ मिटर निकाल्यो र त्यही उचाइ राखेर आरोहीलाई प्रमाण–पत्र दिन थाल्यो ।

तर अन्तर्राष्ट्रिय रूपमा त्यो उचाइले मान्यता पाएन ।  सगरमाथाको उचाइ ८,८४८ मिटर थियो । चिनियाँ प्रमाणपत्रले मान्यता नपाउने भएपछि धेरै आरोहीले नेपालबाट मात्रै आरोहण गर्न थाल्यो । पछि चीनले आफूले नापेको उचाइका कारण आरोही घटेको थाहा पायो । त्यसपछि नेपाल र चीन दुवै मिलेर पुनः सगरमाथाको उचाई नाप्ने काम भयो र चीनबाट आरोहण गरेकालाई पनि ८,८४८.८६ मिटर भनेर प्रमाण–पत्र दिन थालियो ।’ 

चीन र नेपालले एकै उचाईको प्रमाणपत्र दिन थालेपछि नेपालबाट सगरमाथा आरोहण गर्नेहरु फेरि तिब्बततर्फ जान थालेको शेर्पाको भनाइ छ । चीनबाट सगरमाथाको आरोहण गर्न सस्तो पर्ने भएकाले आरोहीहरु त्यता बढी आकर्षित भएको उनको भनाइ छ । शेर्पाले भने, ‘तिब्बतबाट आरोहण अनुमति लिँदा रोयल्टी शुल्क २५–३० प्रतिशत सस्तो पर्छ ।’ 

सगरमाथा आरोहण गर्न तिब्बतभन्दा नेपाल बढी प्रख्यात भए पनि यसलाई सरकारले ध्यान दिएको छैन् । नेपालले आरोहण व्यवस्थापनमा ध्यान नदिएको एक्सपेडिसन कम्पनीहरुको गुनासो छ । नेपालबाट सगरमाथा चढ्दा खुम्बु आइसफलको डर छ । त्यही जोखिमको कारणले पनि गाइड गर्नेहरु पनि नेपालबाट भन्दा तिब्बतबाट आरोहण गर्न इच्छुक हुने गर्छन् । 

अर्कोतर्फ तिब्बती मोहोडाको आधार शिविरसम्म ट्रक र गाडीको सुविधा छ । नेपालतर्फ छैन् । आधार शिविरसम्म पुग्न सहज भएकाले पनि विदेशी आरोहीले तिब्बती मोहोडा बढी रोज्ने गरेका छन् । नेपालबाट सगरमाथा आरोहण गर्न सहजीकरणका लागि स्याङ्बोचेबाट हेलिकप्टरको प्रयोग गर्न नमिल्ने निर्णय सच्याउनुपर्ने व्यवसायीको माग छ । उक्त निर्णयका कारण पनि धेरै विदेशी आरोहीले नेपालतर्फबाट सगरमाथा आधार शिविरसम्म पुग्न र सगरमाथा आरोहण गर्न अनिच्छुक हुने गरेका छन् । 

एउटा सकारात्मक पक्ष भनेको नेपालबाट सगरमाथा आरोहण गर्दा दुर्घटना भइहाले उद्धार गर्न सहज छ । तिब्बतमा भने हेलिकप्टर प्रयोग गर्न रोक छ । चीनमा लजिस्टिक सामान लैजान सजिलो भएकोले चीनतर्फ आरोहण गर्ने आरोहीहरुको संख्या बढी देखिएको व्यवसायीको भनाई छ । 

पर्यटन विभागका अनुसार यस वर्ष १९ वटा हिमाल आरोहणका लागि ५१२ जना आरोहीले अनुमति लिएका छन् । अनुमति लिनेमा पुरुष ३९६ र महिला ११६ जना रहेका छन् । आरोहीबाट सरकारले एक लाख ३७ हजार १५० डलर संकलन गरेको विभागले जनाएको छ ।

आरोहण अनुमति लिएका हिमालहरु सगरमाथा, अन्नपूर्ण-१, हिमलुङ, जुगल-३, अमा दब्लम, पथा हिम्चुली, खांग्री सार कञ्चनजंगा, धौलागिरी, तेङखाङपोछे, तेङकोमा, मकालु, लोत्से जुगल-१, जुगल-५, जुगल-२, पुमोरी, लिंगट्रेन, थोरङ पिक आदि छन् ।

‘आइसफल डाक्टर’ को टोलीले सगरमाथाको क्याम्प–२ सम्मको बाटो यही अप्रिल महिनाको दोस्रो हप्तासम्म निर्माण गरिसक्ने र त्यसपछि क्याम्प–२ देखि सगरमाथाको चुचुरोसम्मको ‘रोप फिक्सिङ’ सेभेन समिट ट्रेक्स कम्पनीबाट टिम लिडर देन्डी शेर्पासहित १० जनाको टिमले गर्नेछ । 
 

Advertisement