जनताको ६१ खर्ब निक्षेप परिचालन गर्दा बैंकहरुको कति छ खर्च ?

Advertisement

काठमाडौं ।  चालु आर्थिक बर्षको फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले निक्षेप तथा बचतकर्तालाई ब्याजबापत तीन खर्ब १३ अर्ब ८७ करोड रुपियाँ भुक्तानी गरेका छन् । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको फागुन महिनासम्मको मासिक तथ्यांकले यस्तो देखाएको हो । फगुन मसान्तसम्म बैंकहरुमा ६१ खर्ब ८८ अर्ब रुपियाँ निक्षेप तथा बचत थियो । 

Advertisement

त्यो बराबरको रकम प्रयोग गरेबापत बैंकहरुले आठ महिनामा तीन खर्ब १३ अर्ब ८७ करोड बराबरको ब्याज बचतकर्तालाई दिएका हुन् । गत आर्थिक बर्षमा बैंकहरुले निक्षेप र बचतको ब्याजबापत चार खर्ब २९ अर्ब २५ करोड ३० लाख रुपियाँ बचतकर्तालाई भुक्तानी दिएका थिए । 

त्यसमा सबैभन्दा धेरै खर्च मुद्दती निक्षेपमा भएको देखिन्छ । तथ्यांकअनुसार समीक्षा अवधीमा मुद्दती निक्षेपको ब्याजबापत दुई खर्ब ३७ अर्ब पाँच करोड रुपियाँ खर्च भएको छ । त्यसअन्तर्गत एक बर्षभन्दा बढी अवधीको मुद्दती निक्षेपमा एक खर्ब १३ अर्ब ९३ करोड ९० लाख रुपियाँ खर्च भएको छ । 

यसैगरि, एक बर्षभन्दा कम अवधीको मुद्दती निक्षेपमा एक खर्ब २३ अर्ब ११ करोड रुपियाँ खर्च भएको छ । यो तथ्यांकअनुसार बैंकहरुलाई मुद्दती निक्षेपको दायित्व बढी भएको देखिन्छ ।

पछिल्लो समय कर्जा प्रवाह नबढेको अवस्थामा लामो अवधीको मुद्दती निक्षेप बैंकहरुलाई बोझ जस्तै भएको छ । पछिल्लो समय बैंकहरुले निक्षेपको व्याजदर घटाउँदै गएका छन् । तर, यसअघि नै सम्झौता गरिएका लामो अवधीको मुद्दती निक्षेपको व्याजदर उच्च छ । 

सम्झौता अवधीसम्म त्यो परिवर्तन गर्न पाइदैन । त्यसले गर्दा बैंकहरुले अहिले लामो अवधीको मुद्दती निक्षेप बोझ जस्तै भइसकेको बैंकरहरु बताउँछन् ।
पहिला तरलता अभाव हुँदा बैंकहरुले बढी व्याज दिएर लामो अवधीको निक्षेप लिएका थिए । 

तर, अहिले बैंकहरुमा निक्षेप थुप्रिँदै गएको छ भने कर्जा प्रवाह बढ्न सकेको छैन । लामो अवधीको निक्षेपले खर्च बढाए पनि सोअनुसार उनीहरुको आम्दानी बढ्न सकेको छैन् । समीक्षा अवधीमा साधारण बचतको निक्षेप बापत ५५ अर्ब ३९ करोड १० लाख रुपियाँ खर्च भएको छ । 

यसैगरि, कूल निक्षेपमा पाँच अर्ब ६६ करोड ६० लाख रुपियाँ, ‘सर्टिफिकेट डिपोजिटमा एक करोड ९० लाख रुपियाँ र अन्य बचतमा १५ अर्ब ७४ करोड ४० लाख रुपियाँ खर्च भएको छ । 

यस अवधीमा बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गरेर चार खर्ब ५७ अर्ब १८ करोड ७० लाख रुपियाँ ब्याज आम्दानी गरेका छन् । त्यसमा तीन खर्ब १३ अर्ब ८७ करोड रुपियाँ निक्षेपको व्याजमा खर्च भएको छ । 

त्यो अनुसार कर्जा–निक्षेप कारोबार बैंकहरु एक खर्ब ४३ अर्ब ३१ करोड २० लाख रुपियाँले बचतमा छन् । समीक्षा अवधीमा बैंक तथा वित्तीय संस्थाहरुको खुद नाफा भने ४६ अर्ब ३८ करोड २० लाख रुपियाँ छ । गत आवमा बैंकहरुले कर्जाको व्याजबापत छ खर्ब ४१ अर्ब ८७ करोड रुपियाँ आम्दानी गरेका थिए ।
 

Advertisement

Advertisement