सगरमाथाको अंग्रेजी नाम पनि सगरमाथा नै राख्न विज्ञहरूको सुझाव

Advertisement

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको नाम अंग्रेजीमा पनि सगरमाथा नै राख्न सरोकारवाला विज्ञहरुले सुझाव दिएका छन् । सगरमाथालाई अंग्रेजीमा ‘माउन्ट एभरेष्ट’ उल्लेख गर्ने गरिएकोप्रति विज्ञहरुले सो सुझाव दिएका हुन् । 
 
इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनीहरुले नेपालका अन्य हिमालको नाम नेपालीकरण मात्र रहेझैं सगरमाथाको नाम पनि एउटै हुनुपर्ने तर्क गरे । 
 
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष एवं इतिहासविद् प्राडा त्रिरत्न मानन्धरले इतिहास शिरोमणि आचार्यले सगरमाथाको नाम चिनाएको ऐतिहासिक तथ्यबारे जानकारी गराए । इतिहास शिरोमणि आचार्यले सर्वप्रथम विसं १९९५ मा लेखमार्फत सर्वोच्च शिखरको नाम सगरमाथा हो भनी उल्लेख गरेका थिए । 
 
प्राडा मानन्धरले भने, ‘सगरमाथाको नाम अंग्रेजीमा पनि सगरमाथा नै उल्लेख गर्दा सुरुमा केही अफ्ठ्यारो हुने अवस्था आएमा सगरमाथासँगै कोष्ठभित्र ‘माउन्ट एभरेष्ट’ राख्न सकिन्छ । तर मौलिक नाम सगरमाथा भने छुटाउनु हुँदैन ।’ 

यस सम्बन्धमा निकट भविष्यमै नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएर सुझाव दिने उनले बताए । 
 

Advertisement

Advertisement

Advertisement