कञ्चनपुरमा लागुऔषध मुद्दामा २१६ जना पक्राउ, साढे चार करोडको सरसामान बरामद

Advertisement

महेन्द्रनगर । नौ महिनामा कञ्चनपुर प्रहरीले लागुऔषध दुर्व्यसन र ओसारपासर मुद्दामा १२ महिलासहित २१६ जनालाई कारबाहीको दायरामा ल्याएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार चालू आर्थिक वर्ष २०८०÷८१ को चैत मसान्तसम्म लागुऔषध चरेस र खैरो हिरोइनसहित १२ महिला र दुई सय चार पुरुष पक्राउ परेका छन् । उनका अनुसार पक्राउ गरिएका अभियुक्तबाट झण्डै तीन सय ग्राम खैरो हिरोइन र सात किलोग्राम चरेससमेत बरामद गरिएको छ ।

Advertisement

‘अभिभावकले छोराछोरीमाथि निगरानी नराख्दा सङ्गतमा परेर लागुऔषध प्रयोग र कारोबारमा लागेको पाइएको छ,’ प्रहरी उपरीक्षक जोशीले भने, ‘प्रहरी सक्रियताले लागुऔषध कारोबारको जालो भत्किँदै छ । स्वयम् नागरिक र अभिभावक पनि यो गम्भीर विषयमा चनाखो हुनुपर्छ ।’

जिल्लाका लागुऔषधको कारोबार हुने ठाउँ र भारतबाट लुकीछिपी ल्याइने सीमानाकामा प्रहरीले सक्रियता बढाएको प्रहरी उपरीक्षक जोशीले बताए । ‘सीमा बस्तीदेखि सदरमुकामसम्म लागुऔषधको कारोबार देखियो,’ उनले भने, ‘हामीले चेतनामूलक कार्यक्रम पनि गरिरहेका छौं ।’

लागुऔषध मुद्दामा पक्राउ परेकामध्ये अधिकांश युवा छन् ।

त्यसैगरी विगत नौ महिनामा प्रहरीले कञ्चनपुरबाट एक सय ६० फरार अभियुक्तलाई पक्राउ गरी आवश्यक कारबाही अघि बढाएको छ । यहाँका विभिन्न स्थानबाट भारतबाट अवैध रुपमा भन्सार छली ल्याएको रु चार करोड ४२ लाख ८४ हजार मूल्यबराबरको सरसामान प्रहरीले बरामद गरी कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको जिम्मा लगाएको प्रहरी उपरीक्षक जोशीले जानकारी दिए । 

Advertisement

Advertisement