नेपालका बारेमा सकारात्मक प्रचार गर्न एएनओका प्रतिनिधिहरुलाई सभामुखको आग्रह

Advertisement

काठमाडौँ । सभामुख देवराज घिमिरेले राष्ट्रियता फरक भए पनि मातृ तथा पितृभूमि एउटै भएका कारण नेपालीमूलका सबै नागरिकलाई नेपाली भाषा र संस्कृतिका माध्यमबाट जोड्नुपर्ने बताएका छन् । 

एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) को प्रतिनिधिमण्डलसँग आज सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा भेट गर्दै सभामुख घिमिरेले नेपालीमूलका नागरिकहरु कैयौँ पुस्तादेखि नै संसारमा छरिएका रहेकाले उनीहरुले आर्जन गरेको सीप, ज्ञान र पुँजी मातृ तथा पितृभूमि नेपालका लागि खर्च गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।  

Advertisement

उनले विदेशमा रहेका नेपाली तथा नेपालीमूलका नागरिकहरु अवैतनिक राजदूत भएको उल्लेख गर्दै नेपालका बारेमा सकारात्मक सन्देश प्रवाह गर्न पनि आग्रह गर्नुभएको एएनओका महासचिव चुडामणि भट्टराईले जानकारी दिए ।  

एएनओले भाषा तथा संस्कृतिका माध्यमबाट विश्वभर रहेका नेपालीमूलका नागरिकलाई जोड्न गरेको पहल कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्दै सभामुख घिमिरेले विश्वभर रहेका नेपालीमूलका नागरिकहरुको तथ्याङ्क सङ्कलन गरी उनीहरु कहाँ र कसरी रहेका छन् भन्ने बारेमा पनि खोजी गर्न एएनओलाई आग्रह गरे ।  

विश्वका २७ देशमा बसोबास गरिरहेका नेपालीभाषीहरुको थाइल्याण्डको बैंककमा गत चैत ६ मा सम्पन्न भेलाले नेपाली जातिलाई एकीकृत गरी नेपाली भाषा र संस्कृतिको संरक्षण गर्न एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) गठन गरेको थियो । 

त्यस भेटका अवसरमा एएनओका अध्यक्ष डिल्लीराम अधिकारीले यस अभियानलाई नेपाली भाषा, कला, संस्कृतिको दूतका रुपमा संसारभर पु¥याउने र यसमार्फत भावी पुस्तालाई नेपालसँग जोड्दै नेपालीपनको जगेर्ना र प्रचारप्रसार गर्ने जानकारी दिए ।  

यसका साथै प्रवासमा बस्ने नेपाली जातिका लगानीकर्तालाई नेपालमै आई लगानी गर्न र आफ्ना पुर्खाको पहिचान जोडिएको देशको शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा लगाउन पनि प्रेरित जानकारी दिए । 

भेटमा अध्यक्ष अधिकारीसहित उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, महासचिव चुडामणि भट्टराई र संस्थापक सदस्यहरु बाबुकृष्ण कार्की, केबी कार्की, ओम गुरुङसहितका पदाधिकारी सहभागी थिए । 

Advertisement

Advertisement