वैशाख १९ गतेदेखि टुँडिखेलमा आयोजना हुने ‘सीप मेला’ बाट १० क्षेत्रका ३६ पेसासम्बन्धी २०८१ जनालाई तालिम दिने लक्ष्य

‘सीप मेला’ का लागि महानगरपालिकाले तालिम तथा रोजगार व्यवसायी महासंघसँग सहकार्य गर्ने

Advertisement

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वैशाख १९ गतेदेखि टुँडिखेलमा आयोजना गर्ने १ महिने ‘सीप मेला’ (छोटो अवधिको व्यवसायिक सीप प्रशिक्षण) का लागि नेपाल तालिम तथा रोजगारी व्यवसायी महासंघ (एफ–पीटीइएन) सँग सहकार्य गर्ने भएको छ । 

महानगरपालिकाको गौरव योजनाअन्तर्गत ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृृद्धि’ अन्तर्गत सीप मेला हुन लागेको हो । 

Advertisement

तालिम सञ्चालन र व्यवस्थापनमा महासंघले काम गर्ने गरी सामाजिक विकास विभाग र महासंघ बिच सम्झौता भएको हो । सम्झौतामा विभागका निमित्त प्रमुख बिमला कोइराला र महासंघका वरिष्ठ उपाध्यक्ष प्रमोदकुमार बानियाँले हस्ताक्षर गरे । सो ‘सीप मेला’ बाट १० क्षेत्रका ३६ पेसासम्बन्धी २०८१ जनालाई तालिम दिने लक्ष्य राखिएको बताइएको छ । 

महासंघका बागमती प्रदेशका सचिव राजन लोहनीकाअनुसार देशभरिका ४५० वटा र वागमती प्रदेशमा १५० वटा तालिम प्रदायक संघसंस्था महासंघमा आवद्ध छन् । 

सम्झौताबमोजिम तालिमका प्रशिक्षक, आवश्यक पर्ने सामग्री तथा उपकरण व्यवस्थापन गर्ने, प्रयोगात्मक प्रदर्शनी गर्ने दायित्व महासंघको हुनेछ । महानगरपालिकाले स्वीकृत गरेको पाठ्यक्रममा तालिम सञ्चालन हुनेछ । तालिम सकिएपछिको दस्तावेज महानगरपालिकालाई बुझाउनु पर्नेछ । 
हस्ताक्षरपछिको प्रतिक्रियामा विभागका निमित्त प्रमुख कोइरालाले भने, ‘मेलाले, छरिएर रहेको सीपलाई एकीकृत गर्ने र सीप भएका व्यक्तिलाई रोजगारदाताको पहुँचमा पुर्याउने लक्ष्य पूरा गराउन मद्दत गर्नेछ ।’ 

कोइरालाका अनुसार १८ वर्ष उमेर पूरा भएका ५८ वर्षसम्म उमेर समूहका व्यक्तिले तालिममा सहभागी हुन आवेदन दिन सक्नेछन् । 

सीप मेलाबाट रोजगारको सम्भावना आफैँभित्र छ भन्ने सन्देश दिन खोजिएको बताइएको छ । सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले, तालिमबाट अनौपचारिक क्षेत्रको अर्थतन्त्र औपचारिकतामा रुपान्तरण हुने अपेक्षा रहेको बताए । 

कार्यक्रमका फोकल पर्सन शान्ता पहाडीका अनुसार, कार्यक्रमअन्तर्गत अहिले डिजिटल मार्केटिङ, सफ्टवेयर डेभलपमेन्ट, ब्युटिसियन,​अकाउन्टिङलगायत तालिम भइरहेका छन् । १५ हजार व्यक्तिलाई रोजगारमूलक तालिम दिएर ५ हजार व्यक्तिलाई प्रत्यक्ष रोजगार तथा स्वरोजगार बनाउने लक्ष्यसहित कार्यक्रम कार्यान्वयनमा आएको हो । 

Advertisement

Advertisement