बन्द रहेको होटल अन्नपूर्णमा अवैधरुपमा क्यासिनो सञ्चालन र नवीकरण गर्ने प्रयास

Advertisement

काठमाडौं । विगत तीन बर्षदेखि बन्द रहेको दरबारमार्गस्थित होटल अन्नपूर्णमा अवैधरुपमा क्यासिनो सञ्चालन गर्न होटल सञ्चालकहरुले गलत बाटो अपनाएका छन् । होटल बन्द भएपछि क्यासिनो मात्रै सञ्चालन गर्न नमिल्ने भए पनि लामो समयदेखि अन्नपूर्ण परिसरमा ‘प्यालेस’ नामक क्यासिनो सञ्चालन भइरहेको छ । 

अन्नपूर्ण होटलका मुख्य सञ्चालक कपिल राणा र उनकी श्रीमती सिर्जना मल्लले पुनर्निर्माणका लागि भन्दै होटल बन्द गरेर मजदुरुहरुलाई बिना तलब सुविधा निकाल्न सुरु गरेकी थिइन् । तर बढ्दो मजदुर विवाद, भवनदेखि जग्गाको विवाद, स्वामित्वको विवादका कारण धेरै बैंकहरुले ऋण दिन कपिल र सिर्जनालाई आनाकानी गर्दै आएका छन् । हिमालयन बैंकमा रहेको दुई अर्बभन्दा बढी ऋण तिर्न नसके पनि उनीहरुले चितवनमा जगतपुर लज र पोखरामा फिस्टेल लजमा भने झण्डै एक अर्ब लगानी गरेका छन् । 

Advertisement

कपिल र सिर्जनाले होटलको पैसा ती लजमा लगानी गर्दै मुल दायित्वबाट पन्छिने प्रयास गर्दै आएको मजदुरहरुको गुनासो छ । तर होटल बन्द रहेको अवस्थामा क्यासिनो नवीकरण गर्न नसकिने भएकाले होटलका ३० वटा कोठा लिज (भाडा)मा दिएको नक्कली कागजाज बनाएर नवीकरणको प्रयास गरिएको होटल स्रोतको भनाई छ । होटलको कोठाहरु लिजमा लिएका भनिएका व्यवसायी उमेश श्रेष्ठ र मीनबहादुर गुरुङले यसअघि नै होटलको २० प्रतिशत स्वामित्व खरीद गर्ने भद्र सहमति गरिसकेका छन् । तर अहिले तिनै व्यक्तिले होटलका कोठाहरुमा भाडामा लिएको नक्कली कुरा गरेर क्यासिनो नवीकरणको प्रयास गरिएको छ । 

आफूहरुले पाउनुपर्ने बर्षौंदेखिको तलब सुविधा नपाएको भन्दै चार दशकमम्म काम गरेका मजदुरहरुले क्यासिनो नवीकरण नगर्न नेपाल पर्यटन बोर्डमा निवेदन दिएका छन् । मजदुरहरुले होटल चाहिँ बन्द गर्ने तर क्यासिनो मात्रै सञ्चालन गरेर त्यसको भाडा उठाएर अन्यत्र लगानी गर्ने कुरा गैरजिम्मेवार कुरा हो भन्दै क्यासिनो नवीकरण गर्न नदिएपछि होटल भाडामा दिएको भनेर नक्कली कागजाज बनाउने र प्रचार गर्ने काम होटलको मुख्य शेयरधनी कपिल र सिर्जनाले गरेको मजदुरहरुको भनाई छ । यता तीन सय मजदुरहरुले आफूहरुको ४० करोड रुपियाँ होटल दिन आनाकानी गरेको, अनावश्यक दुःख दिएको गुनासो गर्दै आएका छन् ।  

होटल स्रोतले भन्यो, ‘क्यासिनो नवीकरण गर्नका लागि होटल सञ्चालनमा छ भनेर देखाउने प्रयास मात्रै हो । होटल सञ्चालन रहेको कुरा सतप्रतिशत झुट हो । पुननिर्माण गर्ने भन्दै होटल दुई–तीन बर्षअघि नै बन्द भइसकेको हो । राणा र मल्लले २०७२ सालको भूकम्पपछि होटल अन्नपूर्ण परिसरमा नै सञ्चालन भएको क्यासिनो अन्ना बिना कारण भत्काएर नौ सय मजदुर बिचल्ली बनाउने काम गरेका थिए । उनीहरु अझै पनि न्यायका लागि लडिरहेका छन् । 

कपिल र सिर्जनाले होटलको २० प्रतिशत स्वामित्व व्यवसायीहरु मीनबहादुर गुरुङ र उमेश श्रेष्ठलाई बिक्री गर्न यसअघि नै भद्र सहमति जनाइसके पनि कम्पनी रजिष्ट्रारको कार्यालयमा भने अझै अद्यावधिक गर्ने काम भएको छैन् । होटलका सबै शेयरधनीबीच सहमति जुट्न नसक्दा शेयर खरीद बिक्रीको सहमति कार्यान्वयन हुन ढिलाई भएको हो । 

कपिलले आफ्नो स्वामित्वबाट २० प्रतिशत (एक लाख ४३ हजार ८७२ कित्ता) शेयर प्रतिकित्ता १४ हजार ९८२ रुपियाँ दरले बिक्री गर्न चाहेको भन्दै गत फागुन पहिलो साता नै सञ्चालक समितिमा पेश गरेका थिए । त्यसमध्ये श्रेष्ठ र गुरुङलाई १०–१० प्रतिशत किन्ने सहमति जनाएका हुन् । शेयर खरीद बिक्रीवापत श्रेष्ठ र गुरुङले २० करोड रुपियाँ अग्रिमरुपमा बुझाएको स्रोतले दावी गरे पनि रकम भने नलिएको व्यवस्थापनका एक उच्च अधिकारीले स्वीकार गरे । मीनबहादुर गुरुङ बालुवाटारको जग्गा विवादमा परेकाले पनि यस प्रक्रियामा ढिलाई भएको हुनसक्ने स्रोतको भनाई छ । 

होटलको कुल छ लाख ७२० कित्तामध्ये कपिलको नाममा चार लाख २९ हजार ९५ कित्ता शेयर रहेको छ भने गोरखशम्शेर राणाको नाममा ३० हजार ७२० कित्ता, सिर्जनाको नाममा २० हजार ६२७ कित्ता, प्रेरणा राज्यलक्ष्मी सिंहको नाममा १५ हजार ३६० कित्ता, ज्योत्सना बस्नेतको नाममा एक हजार २४० कित्ता रहेको छ । कपिलको पहिला ज्योत्सनाको बराबर नै शेयर रहेकोमा दरबार हत्याकाण्डपछि उनी एक्कासी ८० प्रतिशत शेयरको मालिक भएका थिए । त्यसैबाट उनले सिर्जना र छोरीलाई शेयर दिएका छन् । होटलको स्वामित्व मिलाउने कार्यमा सेटिङ गर्ने जितेन्द्र राजभण्डारीको नाममा रहेको दुई हजार ४६९ कित्तासमेत सिर्जनाको नाममा ल्याइएको छ । 

स्वर्गीय प्रवीण के ढकालको नाममा रहेको १५ हजार १३० कित्ता शेयर केही व्यवसायीलाई बिक्री गरिएको छ । त्यसबाहेक सहदेवशम्शेर राणा (हेलेन शाहको पाटर्नर)को ९८० कित्ता, चार्टर्ड एकाउन्टेन्ट मदन प्रधानको नाममा दुई सय कित्ता, गोपालदत्त पाण्डेको नाममा १३० कित्ता रहेको छ भने बाँकी नेपाल ट्रष्टको नाममा १५ हजार ३६० कित्ता (५ प्रतिशत) रहेको छ । नेपाल ट्रष्टमा रहँदा तत्कालिन सचिव लीलामणि पौडेलले बदनियतपूर्ण ढंगले थोरै शेयर मात्रै ट्रष्टको नाममा राखेर अरु व्यक्तिको नाममा लैजान सहयोग गरिदिएका थिए । 

शेयर बिक्री गर्दा सञ्चालकहरुमध्ये कसैले किन्न चाहेमा उनीहरुलाई प्राथमिकता दिनुपर्ने नियम पूरा गर्न सञ्चालक समितिको गत फागुन ३ र ८ गतेको बैठकले निर्णय गरेर कपिल र सिर्जनाले शेयरधनीहरुलाई पत्र पठाएका थिए । तोकिएको समयभित्र शेयरधनीले नकिनेमा अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने अधिकार बहुमत शेयरधनीलाई हुन्छ । तर अन्नपूर्ण होटल परिसरको जग्गामा हदबन्दी र शेयर स्वामित्वको विवाद रहेकोले शेयर बिक्री सहज छैन् । साथै, उक्त होटल दरबार हत्याकाण्डअघि राजपरिवारका सदस्यको स्वामित्वमा रहेकाले कपिल र सिर्जनाको नाममा कसरी नामसारी भयो ? किन नेपाल ट्रष्टमा जानुपर्नेमा गएन् ? भन्ने प्रश्न पनि लामो समयदेखि चल्दै आएको छ । अन्नपूर्ण होटल परिसरमा ४५ रोपनी जग्गा रहेको छ, जसको मूल्य अर्बौं रुपियाँमा मूल्यांकन हुन्छ । 

होटल स्रोतको भनाई छ, ‘अन्नपूर्ण होटलमा कुनै पनि कोठा अहिले सञ्चालनमा छैन् । अहिले ३० वटा कोठा सञ्चालनमा रहेको भनेर आएको छ, त्यो सतप्रतिशत झुट हो । बाहिरको पार्टी प्यालेस मात्रै सञ्चालनमा हो । केही कोठाहरु स्टोरका लागि बाहिरका कम्पनीलाई भाडामा दिएको छ । कोठा भाडामा दिएको कुरा क्यासिनो नवीकरणका लागि मात्रै हो ।’ शेयर खरीद बिक्रीले पूर्णता पाएपछि पहिला मेगा बैंकको कर्पोरेट अफिस रहेको रहेको खण्डसमेत जोडेर अत्याधुनिक भवन निर्माण गर्ने, जहाँ तीन तला भूमिगत पार्किङ, माथि सपिङ कम्प्लेक्स, आधुनिक ब्याङ्क्वेट हल, त्योभन्दा माथि अन्नपूर्ण होटल निर्माण गर्ने योजना उमेश श्रेष्ठ, मीनबहादुर गुरुङ र कपिल राणाको छ ।    

होटल सञ्चालन नभएपछि क्यासिनो मात्रै सञ्चालन गर्न नमिल्ने भए पनि दुई–तीन बर्षदेखि अवैधरुपमा अन्नपूर्ण होटल परिसरमा क्यासिनो सञ्चालन भइरहेको छ । क्यासिनाको भाडा आदिबाट अपिलले मासिक दुई करोड रुपियाँ आम्दानी गर्दै आएका छन् । उनीहरुलाई साथ दिने काम नेपाली कांग्रेसकी नेतृ आरजु राणाले गर्दै आएकी छन् । 
 

Advertisement

Advertisement