वीरगञ्ज महानगरद्वारा ३६ करोड ७६ लाख राजस्व संकलन

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको नौ महिनामा रु ३६ करोड ७६ लाख नौ हजार तीन सय ९८ राजस्व संकलन गरेको छ । 

महानगरका अनुसार चालु आवमा सम्पत्ति कर शीर्षकमा रु १२ करोड ७० लाख ४३ हजार सात सय ८२ सङ्कलन भएको छ । महानगरले दोस्रो धेरै घरबहाल करबाट रु चार करोड ५५ लाख ७५ हजार आठ सय ६७ रहेको छ ।  महानगरले २४ वटा शीर्षकमा  राजस्व संकलन गर्दै आएको छ । 

Advertisement

वीरगञ्ज महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले महानगरले गत आवको नौ महिनाको तुलनामा चालु आवमा रु दुई करोड ९५ लाख बढी राजस्व सङ्कलन गरेको बताए । “गत आवको नौ महिनाको तुलनामा यो आवमा राजस्व संकलनमा सुधार देखिएको छ”, उनले भने । गत आवको नौ महिनामा भने रु ३३ करोड ८० लाख ५४ हजार तीन सय ६० राजस्व संकलन भएको थियो ।

वीरगञ्ज महानगरले गत आवभरिमा भने रु ५७ करोड एक लाख ७३ हजार दुई सय एक राजस्व सङ्कलन गरेको थियो । त्यसैगरी महानगरले आव २०७८/७९ मा भने रु ५१ करोड २२ लाख २४ हजार चार सय ९० राजस्व सङ्कलन गर्यो ।

वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले वीरगञ्जमा आयोजित सार्वजनिक कार्यक्रममा वीरगञ्जका ठूला उद्योगी व्यवसायीलाई घरबहाल कर स्थानीय सरकारलाई बुझाउन अनुरोध गरेका थिए । “नेपालको संविधानमा नै घरबहाल कर स्थानीय तहले सङ्कलन गर्ने भनिएको छ”, उहाँले भन्नुभयोे, “ठूला उद्योगले घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा कर तिर्दा स्थानीय सरकारको राजस्वमा केही कमी आएको छ । त्यसैले घरबहाल कर स्थानीय सरकारलाई बुझाउन अनुरोध गर्दछु ।” 

महानगरले चालु आव २०८०/८१ को लागि रु तीन अर्ब २१ करोड ३५ लाख ४४ हजार बजेट विनियोजन गरेको थियो । विनियोजित बजेटमध्ये चालुतर्फ रु दुई अर्ब ४८ करोड ८५ लाख पाँच हजार  र पुँजीगततर्फ रु ६८ करोड ८७ लाख १५ हजार छुट्याइएको थियो । महागरले बजेट तथा नीति कार्यक्रममा चालु आवमा आन्तरिक राजस्वबाट रु  एक अर्ब २० करोड ४४ लाख ३० हजार सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । 

Advertisement

Advertisement