विदेशीले नेपाललाई पत्याएन, नेपालीलाई सरकारले

लगानी सम्मेलनः लर्खराउँदो सरकारले खुट्टो टेक्ला ?

Advertisement

काठमाडौं । सरकारले आगामी बैशाख १६ र १७ गते तेस्रो लगानी सम्मेलन गर्दैछ । यसअघि २०७३ फागुन र २०७५ चैतमा यस्तो सम्मेलन गरेको सरकारमाथि धेरैले तेस्रो सम्मेलन गर्नुको औचित्यमाथि प्रश्न उठाएका छन् । 

लगानी सम्मेलनको तयारी गरिराख्दा सरकारले स्वदेशी लगानीकर्तालाई भने बेवास्ता गरेको अनुभूति उद्योगीहरुले गरेका छन् । स्वदेशी लगानीकर्ता र लगानीलाई नै उपेक्षा गर्ने सरकारले के विदेशी लगानीकर्ता र लगानी भित्राउन सो अनुकुलको वातावरण बनाएको छ त ? यो अहिले आम नेपाली उद्योगी व्यवसायीको प्रश्न देखिन्छ । 

Advertisement

एक जना पूर्वप्रधानमन्त्रीले नै केही दिनअघि सार्वजनिक कार्यक्रममा टिप्पणी गर्दै सरकारले गर्न लागेको लगानी सम्मेलनको औचित्य र आवश्यकतामाथि प्रश्न उठाए । नेता बाबुराम भटटराईले सरकारले तय गरेको लगानी सम्मेलनसम्बन्धी अवधारणामा गलत रहेको भन्दै दुई वटा लगानी सम्मेलन सम्पन्न भएर पनि वैदेशिक लगानी सहज ढंगले आउन नसक्नुमा पुरानै ढाँचाको विकास नीति जिम्मेवार रहेको बताए । 

उनले भनेका थिए, ‘मन्त्रीहरुले विदेशी राजदूतलाई हारगुहार गर्दैमा नेपालमा वैदेशिक लगानी भित्रिने होइन् । आधुनिक विकास नीति बनाएर मात्रै नेपालमा वैदेशिक लगानी भित्र्याउन सकिन्छ ।’ भारत र चीनजस्ता ठूला मुलुकलाई साथमा लिएर पनि नेपालले आवश्यक लगानी भित्र्याउन सक्ने भट्टराईको सुझाव छ । 

स्वदेशी उद्योगी व्यवसायीहरु देशमा लगानीको वातावरण नरहेको भन्दै निराशा व्यक्त गर्दै आएका छन् । दुई ठूला अर्थतन्त्रको बिचमा रहेको नेपालले रणनीति बनाउन सकेमा यसबाट निकै ठूलो लाभ लिँदै देशलाई संवृद्ध बनाउनसक्छ । तर दुर्भाग्य, मानिसहरु देशको राजनीतिक अवस्था र संभावना नदेखेर पलायन हुने क्रम बढ्दो छ । साना उद्योगी व्यवसायीहरु विस्थापित भइरहेका छन् । ठूला उद्योगीहरु पनि देशको प्रतिकुल परिस्थितिका कारण कम क्षमतामा उद्योग चलाएर महंगो सञ्चालन खर्च धानिरहेका छन् । तर बर्षौंदेखि राजनीतिक र प्रशासनिक तहबाट निकास आउन सकेको छैन् ।   

सरकारले लगानी सम्मेलनको सहआयोजकमा नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शलाई राखेको छ । 
उनीहरुले लगानी सम्मेलनलाई उपलब्धीमूलक बनाउने हो भने त्यसअघि नै लगानीको बाधकको रुपमा औंल्याइएका कानुनहरु संशोधन गर्नुपर्ने बताउँदै आएका छन् । उर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले पूरानै शैलीको लगानी सम्मेलन गर्ने हो भने त्यसको औचित्य नरहेको बताएका छन् । 

सरकारले लगानी सम्मेलनमा वक्ताकैरुपमा सहभागी हुन विश्वका धनाड्यहरु एलन मस्क, जेफ बेजोस्, ज्याक्मा, मार्क जुगरबर्क, गौतम अडानी, मुकेश अम्बानी जस्ता अर्बपतिको सुचीमा रहेका १७ जनालाई निम्तो पठाएको छ । तर, हालसम्म कसैले पनि निम्तो स्वीकार गरेका छैनन् । ज्याक्मा र जेफ बेजोसले त सम्मेलनमा सहभागी हुन नसक्ने जवाफ पठाइसकेका छन् । उनीहरुले पनि नेपालको परिस्थिति र वातावरण बुझेर मात्रै आउने र लगानीका लागि तयार हुने हो । 

विश्वका धनाढ्यहरुको पछि लागेको सरकारदेखि स्वदेशी लगानीकर्ता नै खुशी छैनन् । स्वदेशी लगानीकर्तालाई बेवास्ता गर्ने सरकारले विदेशीलाई खुशी बनाउँछ भन्ने विश्वास विश्वका धनाड्यहरुलाई पनि नहुनसक्छ । त्यसमाथि पछिल्लो समय सरकारका विभिन्न कदमले लगानीको वातावरण झन बिग्रिएको उद्योगीहरु बताउँछन् । 

उद्योगी व्यवसायीमाथि करमाथि कर छ । लगानीमैत्री कानुनहरु बन्न सकेका छैनन् । भएका अनुकल कानुन पनि कार्यान्वयन हुनसक्ने अवस्था छैन् । तीन तहका सरकारबीच र सरकारी निकायहरुबीच समन्वय छैन् । व्यवसायीहरुमाथि धरपडक छ । पश्चगामी कानुन लगाएर भए पनि कर अशुल्न प्रशासन र अदालतले साथ दिन्छ । उद्योग खोल्न बर्षौंसम्म कुर्नुपर्ने, दर्जनौं निकायबाट अनुमति र स्वीकृति लिनुपर्ने बाध्यता छ । राजनीति दल, नेता, प्रशासकदेखि स्थानीयसम्मलाई चन्दा र आर्थिक सहायता बुझाएर उद्योग चलायनुपर्ने बाध्यता छ । नाफा कमाउनु अपराधको रुपमा हेरिन्छ । विदेशी लगानीकर्तालाई लगानी ल्याउन मात्रै नभएर मुनाफा लैजान पनि त्यत्तिकै चुनौति छ ।      

यस्ता यावत समस्यामा सुधार नआई पहिलो र दोस्रो लगानी सम्मेलन सम्पन्न भए । र, दुवै सम्मेलन उपलब्धीबिहीन जस्तै बने । ती सम्मेलनमा भएका प्रतिवद्धताअनुसार लगानी भित्रिएको छैन । त्यही पृष्टभूमिमा तेस्रो लगानी सम्मेलन हुन लागेको छ । पहिलो सम्मेलनमा १४ खर्ब रुपियाँको प्रतिवद्धता आएकोमा तीन खर्ब ३५ करोड रुपियाँ मात्रै भित्रिएको छ भने दोस्रो सम्मेलनमा १७ खर्बको प्रतिवद्धता आउँदा एक अर्ब १८ करोड रुपियाँ मात्रै भित्रिएको छ । 

देशको राजनीतिक, सामाजिक परिस्थिति बिग्रिएको बेला हुन लागेको लगानी सम्मेलन उपलब्धीमूलक हुन्छ भन्नेमा धेरैलाई आशंका छ । किनभने सरकारले लगानी भित्राउन वातावरण सुधार गर्दै जानुपर्नेमा उल्टै बिगार्दै गएको छ । सरकारको स्थायित्व छैन् । एउटा राजनीतिक गठवन्धनले अघि बढाएको योजना र कार्यक्रम अर्कोले स्वीकार नगर्ने परिस्थिति छ । कुनै पनि नीति र कार्यक्रम दिगो छैनन् । प्रतिकुल परिस्थितिका कारण देशभित्रको पुँजी पलायन तीब्र बन्दै गएको छ । सरकार जसरी हुन्छ युवाहरुलाई निर्यात गर्ने, रेमिटान्स बढाउने र त्यही पैसाले सामान आयात गरेर राजश्व संकलन गरी देश चलाउन उद्धत्त छ । 

यस्ता छन् लगानी निरुत्साहन गर्ने केही आधारः 

मर्जर र एफपीओमा बैंक र बीमा कम्पनीलाई भूतप्रभावी कर
सामान्यत कर कानुन भूतप्रभावी हुँदैन । बिगतमा भएका कारोबारमा पछि कानुन ल्याएर कर लगाउनु न्यायोचित मानिदैन । तर, सरकारले चालु आर्थिक बर्ष २०८०–८१ को बजेटमार्फत पहिलाकै मर्जर र फर्दर पब्लिक अफरिङ (एफपीओ)मा ‘बार्गेन पर्चेज गेन ट्याक्स’ तिर्नुपर्ने नीति ल्यायो । 

त्यसबिरुद्ध बैंक तथा बीमा कम्पनीहरुले भदौ २९ गते सर्वोच्च अदालतमा रिट समेत हाले । तर, सर्वोच्चले गत मंसिर अन्तिम साता उक्त रिट खारेज गर्दै पहिला नै मर्जर भएका र एफपीओ जारी गरेका बैंक तथा बीमा कम्पनीबाट बार्गेन पर्चेज गेन कर उठाउन बाटो खुला गरिदियो । 

मर्जर र एफपीओबाट हुने लाभलाई आम्दानीमा जोड्न मिल्दैन । सोहीअनुसार त्यसमा कर नलाग्ने दावी बैंक तथा बीमा कम्पनीहरुको थियो । तर, सर्वोच्चले सामयिक कर असुल ऐनअनुसार आदेश जारी गरेर आव २०७८–७९ सम्म मर्ज भएका र एफपीओ जारी गरेका बैंक तथा बीमा कम्पनीबाट कर असुल गर्न भन्यो । आगामी दिनमा समेत यस्तो कारोबार भएमा कर उठाउनुपर्ने गरि नजिर स्थापित गर्दै बैंक तथा विीय संस्था र बीमा कम्पनीबाट २१ अर्ब रुपियाँ तिराउने फैसला सर्वोच्चबाट भयो । सरकारको यो कदमले स्वदेशी लगानीको वातावरण थप खस्किएको उदाहरणको रुपमा नेपाली लगानीकर्ताहरुले लिएका छन् । 

स्वदेशीप्रति बढी अनुदार
विदेशी लगानीकर्तालाई बिभिन्न छुट दिन तयार हुने सरकार नेपाली लगानीकर्ताप्रति भने बढी नै अनुदार बन्दै आएको छ । नेपाली उद्योगी व्यवसायीहरुलाई स्वस्थ र व्यवसायिक ढंगबाट चल्न प्रेरित गर्दै नेपाल कम्पनीहरुलाई विश्वस्तरमा प्रतिस्पर्धा गर्नसक्नेगरी कर्पोरेट कल्चर विकास गर्न सहयोग गर्नुपर्नेमा झन कमजोर बनाउने र त्यो कमजोरीमा फाइदा उठाउने काम गर्दै आएको छ ।  

उद्योगमा विद्युत् कटौती 
उद्योगहरुमा नियमितरुपमा गरिने विद्युत् कटौतीले पनि लगानीको वातावरण खस्किएको छ । पछिल्लो समयमा तराईका उद्योगहरुले चर्को अघोषित लोडसेडिङको सामना गरिरहेका छन् । तर उनीहरुले संगठितरुपमा यो समस्यालाई उठाउन सकेका छैनन् । 

कुनै पनि उद्योग सञ्चालन गर्न ऊर्जा (विद्युत्) अनिवार्य चाहिन्छ । त्यो सर्वसुलभरुपमा आपूर्ति गरिदिनु राज्यको दायित्व हो । तर, डेडिकेटेड फिडर र ट्रंक लाइनमार्फत प्रयोग गरेको बिजुलीको पूरानो प्रिमियम महशुल नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले गत पुस ६ गतेदेखि २७ गतेसम्म उद्योगमा लाइन काट्यो । 

विवादित महशुल उठाउन प्राधिकरणले अरु कुनै विकल्प नखोजी लाइन काटेर आतंकित बनाउने काम गर्यो । हिउँदमा उद्योगहरुमा दैनिक १२ घण्टासम्म विद्युत् कटौती हुने गरेको छ । अहिले भारतबाट रातीको समयमा विद्युत आयात बन्द हुँदा त्यसको मार उद्योगहरुलाई परेको छ । प्राधिकरण आफै पनि आफ्नो वासलातमा नोक्सान देखिने डरले भारतको महंगो बिजुली सकेसम्म आयात नगर्ने, बरु उद्योगमा नै सकेसम्म धेरै बिजुली कटौती गर्ने नीतिमा देखिन्छ । बर्खामा विद्युत् खपत बढी गर्न लागिपर्ने प्राधिकरण हिउँदमा भने उद्योगहरुमा विद्युत् पुर्याउन उदासिन हुने गरेको छ ।  सामान्यता हिउँदमा उद्योगहरु बढी क्षमतामा चलाउनुनपर्ने हुन्छ । तर, सोही समयमै विद्युत् आपूर्तिको सुनिश्चितता नहुँदा लगानीकर्ता निराश देखिन्छन् । 

करसम्बन्धी मुद्दाको भार 
सरकारले पछिल्लो समय व्यवसायीहरुलाई अनावश्यक रुपमा करसम्बन्धी मुद्दाको भारी बोकाउने गरेको छ । त्यसले गर्दा लगानीको वातावरण बिग्रिदै गएको छ । यसको पछिल्लो उदाहरण कोटिभिटि प्रकरण हो । 

अमेरिकी आईटी कम्पनी कोटिभिटि इंकले आफ्नो उत्पादन अमेरिकास्थित माउ कम्पनीलाई निर्यात गर्दै आएको छ, जसबाट अर्बौं रुपियाँ नेपाल पनि भित्राएको छ । त्यस्तो निर्यातको भ्याट नतिरेको भन्दै राजश्व र पुँजीगत लाभकर छलीमा राजश्व अनुसन्धान विभागले हालै उक्त कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । एनसेलको शेयर खरीद बिक्रीको विषयमा पनि समस्याको पहिचान नगरी अवरोध सिर्जना गर्ने काम भएको छ ।  

यो बाहेक सरकारले बिगतमा बिभिन्न उद्योग तथा कम्पनीलाई करसम्बन्धी मुद्दा लगाउने गरेको छ । करको बिषय सिधै पैसासँग जोडिन्छ । त्यो अवस्थामा लगानीकर्ताहरु करसम्बन्धी लचिलो नीति खोज्छन् । करसम्बन्धी मुद्दा बोक्न चाहान्न् ।  पछिल्लो समयमा भने सरकारले करकै बिषयमा विभिन्न कम्पनी तथा उद्योगहरुलाई मुद्दा दायर गरेको छ । 

त्यसमाथि नेपालमा करको दर उच्च छ । कम्पनीहरुले ३० प्रतिशतसम्म आयकर तिर्नुपर्छ । आयकर तिरेपछिको नाफाबाटै लाभांश वितरण गर्दा थप पाँच प्रतिशत कर तिर्नूपर्छ । यसै पनि करको दर उच्च छ, त्यसमाथि दोहोरो करको मार व्यवसायीहरुमाथि छ । 

व्यवसायीमाथि हुने विभेदपूर्ण धरपकड 
यसैगरि व्यवसायीमाथि हुन प्रहरीको विभेदपूर्ण धरपकडले पनि लगानीको वातावरणमा असर परेको छ । पछिल्लो समय विभिन्न मुद्दामा प्रहरीले मीनबहादुर गुरुङदेखि अरुण चौधरीसम्म व्यवसायीहरुलाई पक्राउ गर्यो । एकै प्रकृतिका मुद्दामा भने राजनीतिक दलका नेता र न्यायाधीशहरुले भने उन्मुक्ति पाए । राजनीतिक उद्देश्य र आर्थिक लाभप्रेरित यस्ता विभेदपूर्ण धरपडकले पनि नेपालका उद्योगी व्यवसायीको मनोबल खस्किएको छ । 

अस्थिर राजनीतिक 
अस्थिर राजनीतिका कारण पनि लगानीको वातावरण कम्जोर बनेको छ । दलीय व्यवस्था भएका कारण नेपालमा राजनीतिक तह अर्थात् सत्तामा भएका राजनीतिक दलबाट नै राज्यको नीति बनाइन्छ । त्यो अवस्थामा स्थिर राजनीतिक प्रणाली हुँदा मात्रै स्थिर र दिगो नीति बनाउन सकिन्छ । 

तर, नेपालमा कहिले हिंसात्मक राजनीति, कहिले राजनीतिक संक्रमण, कहिले राजनीतिक व्यवस्था परिवर्तनका लागि आन्दोलन आदि नाममा लामो र महत्वपूर्ण समय खेर गएको छ । छिमेकी देश चीन र भारतमा अहिले आर्थिक विकास तीब्र गतिमा भइरहेको छ । ठूला भौतिक पूर्वाधार निर्माणका काम भइरहेको देखिन्छ । तर नेपालमा भने विषम अवस्थामा अर्थतन्त्र गुज्रिएको छ । यसलाई सुधार गर्न राजनीतिक तहबाट कुनै पहल भएको महशुस हुन्न । 
 
राजनीतिक स्थायित्वकै अभावका कारण अर्थतन्त्रसम्बन्धी स्थिर नीति बन्न सकेका छैनन् । छोटो समयमै सत्ता समीकरण परिवर्तन हुँदा अर्थतन्त्र तथा लगानीसम्बन्धी नीतिमा पनि परिवर्तन हुने गरेका छन् । आर्थिक मुद्दामा दल र नेताहरु एकमत हुनसकेका छैनन् । त्यसले गर्दा औद्योगिकीकरणसँगै अर्थतन्त्रको विकास प्रभावित भएको छ । 

लगानी सम्मेलन आउन दुई हप्ता मात्रै बाँकी हुँदा लगानीसम्वन्धी कानुनहरु संसद्मा पेश हुन सकेको छैन । राजनीतिक खिचातानीले संसद् बैठक स्थगित हुन पुगेको छ । सरकार हिउँदे अधिवेशन सक्किएको घोषणा गरेर बसेको छ । अध्यादेशमार्फत कानुन ल्याए पनि त्यो दिगो हुन्न । 

सरकारी ढिलासुस्ती तथा झन्झटीलो प्रक्रिया
झन्झटिलो सरकारी प्रक्रियाका कारण पनि लगानीकर्ताहरु आजित हुँदै आएका छन् । सार्वजनिक निकायमा प्रायः आर्थिक लाभ नलिई काम नगर्ने, गरे पनि दुःख दिने प्रवृत्ति छ । जलविद्युत् आयोजनाको अनुमति र स्वीकृतिका लागि सात मन्त्रालय र २३ विभाग धाउनुपर्ने बाध्यता रहेको उर्जा उत्पादकहरु गुनासो गर्छन् । स्थानीय तहदेखि केन्द्रसम्मका सार्वजनिक लाभका मानिसलाई खुशी बनाएर काम गर्नुपर्ने बाध्यता छ । 

यो उदाहरण मात्रै हो । उद्योग तथा कम्पनी स्थापना गर्न कम्पनी दर्ता, लगानी स्वीकृत, इजाजतपत्र, वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृति लगायतका नाममा थुप्रै सरकारी निकाय धाउनुपर्छ । त्यसमामाथि सरकारी निकायबाट समयमै निर्णय हुँदैन । एकद्धार प्रणालीमा काम गर्ने सुविधा अझै व्यवहारमा आएको छैन् । 

Advertisement

Advertisement