काठमाडौं । हिमाल आरोहणका लागि कतारकी राजकुमारी अस्मा अल थानी र अमेरिकाको क्यालिफोर्नियास्थित कोरोनाडोका मेयर रिचर्ड बेली नेपाल आएका छन् ।
कतारकी राजकुमारी अस्मा अल थानी र मेयर रिचर्ड बेली हाल नाम्चे पुगेका इलाईट हिमालयन एडभेन्चर्स प्राइभेट लिमिटेडका सहसंस्थापक मिङ्मा डेविड शेर्पाले जानकारी दिए ।
शेर्पाका अनुसार मेयर रिचर्ड बेली यसअघि गत वर्षको वसन्त ऋतृमा नेपाल आइ सगरमाथा आधार शिविरसम्म पुगेका थिए । यस वसन्त ऋतृमा उनले इलाईट हिमालयन एडभेन्चर्स कम्पनी मार्फत सगरमाथाको आरोहण गर्न लागेका हुन् ।
साथै, कतारकी राजकुमारी थानीले यस वसन्त ऋतृमा फेरि सगरमाथाको आरोहण गर्न लागेका शेर्पाले बताए । कतारकी राजकुमारी अल थानीले विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जासगँ सगरमाथा, केटु, अन्नपूर्ण, डेनाली, कञ्चनजंगा, ल्होत्से, अमा दब्लम, धौलागिरी र बिना अक्सिजन मनास्लु हिमालको सफल आरोहण गरिसकेकी छन् ।
थानी माउन्ट विन्सन आरोहण गर्ने पहिलो अरबी महिला पनि हुन् । थानी विश्वका सात महाद्वीपका सात सर्वोच्च शिखर आरोहण गर्ने र दुई ध्रुबमा पाइला राख्ने योजनामा छिन् ।
पर्यटन विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले पनि यसरी नेपाललाई माया गरेर कतारकी राजकुमारी अस्मा अल थानी नेपाल आउनु र सगरमाथाको दोस्रो पटक आरोहण गर्न लाग्नु नै नेपालको पर्यटन क्षेत्रमा राम्रो कुरा रहेको बताए । यसले विश्वमा नै नेपालको पर्यटन प्रवर्द्धन हुने बताए ।