स्टकको सुन सकिएपछि १०० केजी आयात, मंगलबार थप १०० केजी ल्याइँदै

Advertisement

काठमाडौं । स्टकको सुन सक्किएपछि बाणिज्य बैंकहरुले १०० केजी सुन आयात गरेका छन् । दुई बाणिज्य बैंकले ५०–५० केजी सुन आयात गरेका हुन् । 

उक्त सुन बिहीबार नेपाल भित्रिएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले जानकारी दिए । उनकाअनुसार कृषि विकास बैंक र एनआईसी एसिया बैंकले ५०–५० केजी सुन आयात गरेका हुन् । 

Advertisement

त्यसमध्ये ५० केजी सुन काठमाडौं उपत्यकाभित्र र ५० केजी सुन उपत्यका बाहिर पठाइनेछ । यसैगरि, आगामी मंगलबार (बैशाख ११) थप १०० केजी सुन आउँदैछ । महासंघकाअनुसार नेपाल बैंकले उक्त सुन आयात गर्दैछ । हाल उक्त सुन कार्गो हुने प्रक्रियामा रहेको बताइएको छ ।

नेपालमा सुन आयात गर्ने अधिकार बाणिज्य बैंकहरुलाई मात्रै छ । उनीहरुले दैनिक २० केजीको कोटामा सुन आयात गर्न पाउँछन् । व्यवसायीहरुले आफ्नो आवश्यकता अनुसार बैंकहरुलाई सुन आयात गर्न आग्रह गर्छन् । 

सोहीअनुसार बैंकहरुले आफ्नो पालोमा सुन आयात गर्छन् र व्यवसायीहरुलाई बिक्री गर्छन् । नेपालमा प्राय जसो युएईबाट सुन आयात गरिन्छ । गत चैत १७ गते सम्म बिभिन्न बाणिज्य बैंकमा ११८ केजी सुन स्टक थियो । तर, चैत २८ गतेसम्म आउँदा त्यो सुन सकिएको हो । स्टकको सुन सकिएपछि बैंकहरुले थप सुन आयात गर्ने प्रक्रिया अघि बढाएका थिए ।

पछिल्लो समय सुनको मूल्य उच्च दरमा बढी रहेको बेला सुनको माग तथा खपत भने अस्वभाविक रुपमा बढेको थियो । फलस्वरुप १० दिनमै स्टकको ११८ केजी सुन सकिएको थियो । थप मुल्य बढ्ने आशामा व्यवसायी तथा केही लगानीकर्ताले सुन किनेर होल्ड गरेको पनि बताइन्छ । पछिल्लो हप्ता बजारमा सुनको अभाव समेत भएको व्यवसायीहरु बताउँछन् । तर, १०० केजी सुन आएसँगै बजारको माग पुर्ति गर्न केही सहज हुने व्यवसायीहरुको भनाइ छ । 

बिहीबार नेपाली बजारमा सुनको मुल्य प्रतितोला १ लाख ३८ हजार ६०० रुपियाँ तोकिएको छ । बुधबार भने सुनको मुल्य प्रतितोला १ लाख ३९ हजार २०० रुपियाँ थियो, जुन हालसम्मकै उच्च हो । पछिल्लो समय नेपालमा सुनको मुल्य दैनिक जस्तो बढेको थियो । तर, पनि सुनको खपत भने ह्वात्तै बढेको थियो । बिहेको सिजनका कारण पनि सुनको खपत बढेको बताइन्छ । तर, अधिकांश सुन व्यवसायीहरुले होल्ड गरेको हुन सक्ने जानकारवालाहरु बताउछन् ।

फागुन मसान्तसम्म १६ अर्बको सुन आयात 
चालु आर्थिक बर्ष २०८०(८१ को फागुनसम्म नेपालमा १६ अर्ब १२ करोड २५ लाख रुपियाँको १९ सय केजी सुन आयात भएको छ । भन्सार बिभागबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो । गत आवको सोही अवधीमा १६ अर्ब ४६ करोड ९२ लाख रुपियाँमा २२ सय १६ केजी सुन आयात भएको थियो । गत आवभर भने २२ अर्ब २३ करोड ४५ लाख रुपियाँ बराबरको २९ सय १६ केजी सुन आयात भएको थियो । 

Advertisement

Advertisement