सर्वाधिक उचाईमा नृत्य गरेर विश्व कीर्तिमानी कायम गरेकी छिरिङ सगरमाथाको आरोहण गर्दै

Advertisement

काठमाडौं । सर्वाधिक उचाई (सगरमाथाको कालापत्थर) मा नृत्य गरी गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल छिरिङ शेर्पाले विश्वको सर्वोच्च शिखिर सगरमाथा आरोहण गर्ने भएकी छिन् । हाल सगरमाथा आधार शिविरमा रहेकी शेर्पा सगरमाथा आरोहण गर्ने तयारीमा छिन् ।

हिमाल आरोहणका क्रममा ज्यान गुमाएका शेर्पा आरोहीप्रति समर्पित गर्दै आफूले सगरमाथाको आरोहण गर्न लागेको उनले सगरमाथा आधार शिविरबाट कर्पोरेट नेपाललाई जानकारी दिइन् । आरोहणको लागि तयारी गरिरहेको छु, आज हिमालमा आरोहण गर्न जानुअघि आधार शिविरमा गरिने पूजा पनि गरेको बताइन् । उनी एटके एक्सपेडिशन कम्पनी मार्फत सगरमाथाको आरोहण गर्न लागेकी हुन् ।

Advertisement

शेर्पाले ‘माइ भ्वाइस फर शेर्पा क्लाइम्बर्स’ नारासहित सगरमाथा आरोहण गर्न लागेकी हुन् । उनले भनिन्, ‘हिमाल आरोहणका क्रममा शेर्पा समुदायका धेरै व्यक्तिहरुले ज्यान गुमाउनु परेको छ । उनीहरुले राज्यको तर्फबाट केही राहत पनि पाउन सकेका छैनन् । आर्थिक अवस्था नाजुक बन्दै गएको छ । सोही कारण उनीहरुको आवाजलाई बुलन्द पार्नका लागि सगरमाथा आरोहण गर्न लागेकी हुँ ।’

सगरमाथाको आरोहण गर्न जानुअघि उनले राष्ट्रपति निवासमा राष्ट्रपति रामचन्द्र पौडेलेबाट ‘गिनिज वर्ल्ड रेकर्ड’ को प्रमाण–पत्र प्रदान गरेकी थिइन् । शेर्पा डान्सिङ स्टार्स नेपालकी विजेता पनि हुन् । उनी र कोरियोग्राफर जगदिश गुरुङ (जेडी तमु) ले गत वर्ष मंसिर १ गते सगरमाथाको नजिक पाँच हजार २७८ मिटरको उचाईमा तीन मिनेट तीन सेकन्डसम्म जोडी नृत्य गरेर कीर्तिमान बनाएका थिए ।  

शेर्पाले नेपाल र नेपालको पर्यटन क्षेत्रलाई प्रतिनिधित्व गर्ने उद्देश्यले जातजातिहरुः राई, मगर, लिम्बु, शेर्पा, तामाङ, गुरुङ साथै मारुनी नृत्यलाई मिलाएर गीतमा प्रस्तुती गरेकी थिइन् । शेर्पा समुदायकी पहिलो नायिकासमेत रहेकी उनले आफूहरुले ‘हाइयष्ट अल्टिच्युड कोरिग्राफर डान्स अन ल्यान्ड’ टाइटलमा विश्व रेकर्ड कायम गर्न सफल भएकी थिइन् । शेर्पाले म्युजिक भिडियोहरुमा समेत अभिनय गरेकी छन् । 
 

Advertisement

Advertisement