नयाँ बजेट आउन लागिसक्यो, पर्यटन व्यवसायीसँग भेट्नै मान्दैनन् पर्यटनमन्त्री

Advertisement

काठमाडौं । सत्ता गठवन्धन फेरिएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ मन्त्री पाएको पनि एक महिनाभन्दा बढी भइसक्यो । पूर्ववर्ती सुदन राई (किराँती)लाई हटाएर एउटै पार्टीका हितबहादुर तामाङले यो मन्त्रालय हात पार्न सफल भए । 

तर मन्त्री भएदेखि तामाङ गुमनाम छन् । न उनको कुनै चर्चा छ, न कुनै सार्वजनिक अभिव्यक्ति । त्यती मात्रै होइन् । तामाङ पर्यटन क्षेत्रकै व्यवसायीहरुलाई समेत भेट्न समय नदिएर हैरान बनाएका छन् । 

Advertisement

पर्यटन क्षेत्रमा धेरै समस्या छन् । आउँदो आर्थिक बर्षका लागि बजेट जारी गर्ने मिति नजिकिँदै छ । व्यवसायीहरु पर्यटन क्षेत्रमा आफूहरुले भोगेका समस्याहरु राख्न चाहान्छन् । तर मन्त्री पटक्कै समय दिँदैनन् । एक ट्रेकिङ व्यवसायीले भने, ‘अरु सबै मन्त्रीले सम्वन्धित् क्षेत्रका व्यवसायीलाई भेटेका छन् । कुरा सुनेका छन् । हाम्रो क्षेत्रको मन्त्रीले किन हो ? समय नै दिँदैनन् । के तालको मन्त्री हो ? बुझ्नै सकिएन् ।’   

विदेशी पर्यटकहरुले आफूखुशी एक्लै पदयात्रामा जान नपाउने नियम आएको एक बर्ष बितिसक्यो । २०७९ फागुन १९ मा यस्तो निर्णय भए पनि अहिले पर्यटकहरु एक्लै पदयात्रामा जाने क्रम बढ्दो छ । यो निर्णय कार्यान्वयनका लागि व्यवसायीहरु मन्त्रीको ध्यानाकर्षण गराउन चाहान्छन् । तर मन्त्री गुनासो सुन्न तयार छैनन् ।  

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष निलहरि बाँस्तोलाले टिम्स (टुरिस्ट इन्फरमेसन म्यानेजमेन्ट सिस्टम) लामो समयदेखि बसिरहे पनि विदेशीहरु भने गाइड (पथप्रदर्शक)बिना र पोर्टर (भरिया)बिना एक्लै पदयात्रामा गइरहेको बताउँदै यसले पर्यटकहरुको जोखिम बढेर गएको बताए । 

उनले यसरी पर्यटकहरु एक्लै जाँदा उनीहरु हराउने जोखिम बढि हुने भन्दै भने, ‘भोलिको दिन केही घटना भइहाले त्यसको जिम्मा कस्ले लिने ? पर्यटकहरु बेपत्ता हुने क्रम बढेपछि सरकारले एक्लै जान नमिल्ने भनेर निर्णय गर्यो । निर्णय भएको पनि एक बर्ष भइसक्यो । अहिलेसम्म यो रोक्किएर बसेको छ । नयाँ मन्त्रीले पर्यटन व्यवसायीसँग भेटघाट गर्न खोज्नुहुन्न । धेरै पटक भेट्न पहल गरियो । मन्त्रीदेखि उहाँको सचिवालयलाई कुरा गर्दा समय नै मिल्दैन् । जहिले ‘एक हप्ता कुर्नुस’ भन्ने कुरा आउँछ ।’  

पर्यटनमन्त्री तामाङले विभिन्न भेट्नलाई टार्ने काम गर्दै आएको भन्दै बाँस्तोलाले त्यसको कारण आफूहरुले पनि बुझ्न नसकेको बताए । उनले थपे, ‘बजेट आउँर्दै छ । बजेटको लागि पनि पर्यटनसँग सम्बन्धित धेरै कुरा भन्नुपर्ने छ । मन्त्रालयले आफैले बोलाएर ‘तपाइँहरुको समस्या के छ ? के सुझाव छ ?’ भनेर बोलाएर सोध्नुपर्नेमा हामीले आफैले पहल गर्नुपरेको छ ।’ लगानी सम्मेलन गरेर विदेशी लगानी भित्राउने सपना देखेको सरकारले स्वदेशी लगानीकर्तालाई उपेक्षा गर्न नहुने बाँस्तोलाको तर्क छ । 

पर्यटक एक्लै पदयात्रामा जाँदा लडेर घाइते हुने, मृत्यु हुने, खोजी र उद्दामा कठिनाइ हुने, घटना बढेपछि आफूखुसी पदयात्रामा जान नपाउने निर्णय नेपाल पर्यटन बोर्डले गरेको थियो । 

Advertisement