भरतपुरमा सूचना प्रविधि मेला सुरु

Advertisement

काठमाडौं । चितवनको भरतपुृरमा स्वदेशी उत्पादनको बजारीकरण गर्ने र प्रविधि हस्तान्तरणमार्फत उद्यमशीलता विकासका लागि सहयोग पुर्याउने उद्देश्यले ‘औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला’ सुरु भएको छ । 

चितवन उद्योग संघ र कम्प्युटर एसोशिएसन नेपाल महासंघ, चितवनको आयोजनामा शनिबारदेखि सुरु भएको मेलाको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गरे । 

Advertisement

प्रदर्शनीमा उनले देशमै औद्योगिक उत्पादन वृद्धि गरी नेपाली वस्तु तथा सेवाको पहुँच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा विस्तार गरी रोजगारी सिर्जना गर्नुपर्ने बताए । भण्डारीले साना तथा मझौला उद्योगहरुको बजार मागमा आएको उच्च कमिको कारण समस्यामा परेका उद्योगी व्यवसायीहरुको समस्या समाधानका लागि उचित नीति बनाई कार्यान्वयन गराउनको लागि आफूहरु तयार रहेको बताए । 

चितवन उद्योग संघका अध्यक्ष सूर्यप्रसाद न्यौपानले विश्वमा नै आर्थिक मन्दी देखिएको वर्तमान समयमा औद्योगिक उत्पादनको खपतमा गिरावट आईरहेको र अधिकांश उद्योग व्यवसायहरु बन्द हुने अवस्थामा पुगिसकेको भन्दै सञ्चालनमा रहेका उद्योगहरु समेत अत्यन्त न्यून क्षमतामा सञ्चालित भएकाले उद्यमशीलताको अस्तित्व नै संकटमा पर्ने देखिएको बताए । 

प्रदर्शनी अवधिमा ‘नेपालमा स्टार्टअप ईको सिष्टम र टेक्नोलोजिकल इनोभेसन’ र चैत्र १० गते ‘दिगो औद्योगिक विकासका लागि अवसर र चुनौती’ शीर्षकमा समूहगत छलफलसहितको सेमिनार आयोजना हुने भन्दै आयोजकले लघु, घरेलु तथा साना उद्योगलाई उपयोगी हुने नविनतम प्रविधि अनुसरण गरी औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग पुर्याउने, कृषिजन्य उद्योग, पर्यटन, प्रविधिलगायतका सेवाजन्य उद्योग एवम् उत्पादनमूलक उद्योगको प्रवर्द्धन गर्ने, बिटुबि तथा बिटुसि मिटिङका माध्यमबाट राष्ट्रिय उत्पादनको बजारीकरणको लागि सहयोग पुर्याउने, नवप्रवर्तन र नयाँ प्रविधिवारे जानकारी गराउँदै युवाहरुलाई उद्यमशीलतामा प्रोत्साहन गर्ने, वर्तमान समयमा सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुर्याउने, आधुनिक सूचना प्रविधिको अधिकतम् सदुपयोग गरी औद्योगिक विकासमा प्रयोग हुने आधार तयार गर्ने, तीनै तहका सरकारका औद्योगिक कार्यक्रमहरुको लक्षित उद्योगीहरुसम्म पुर्याउन सहयोग पुग्ने विश्वास लिइएको छ । 

प्रदर्शनीमा आईटी सेमिनारका माध्यमबाट नविनतम् प्रविधिको प्रयोगको लागि उत्प्रेरित गरिने जनाइएको छ । प्रदर्शनी अवधिभर शून्य प्रतिशत ब्याजदरसहित किस्ताबन्दीमा ल्यापटप तथा मोवाइल खरिद गर्न पाईने, कम्प्युटर, ल्यापटप तथा प्रिन्टरहरुको एक्सचेन्ज तथा निःशुल्क मर्मत सेवा, विभिन्न ब्राण्डका स्मार्ट इन्टरएक्टिभ बोर्डहरुमा विशेष छुट लगायतका सुविधा तथा सहुलियत प्रदान गरिनेछ । निःशुल्क प्रवेशको व्यवस्था गरिएको प्रदर्शनीमा आउन चाहने अवलोकनकर्ताहरुलाई अनलाइन रजिष्ट्रेशन गर्ने व्यवस्था मिलाईको छ । 

Advertisement