गुराँस लघुवित्तको वित्तीय सूचकमा सुधार, नाफा धनात्मक

Advertisement

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा धनात्मक भएको छ । 

चालू आवको तेस्रो त्रैमासम्मको वित्तीय विवरणअनुसार गत आवको सोही अवधिमा ऋणात्मक रहेको लघुवित्तको नाफा समीक्षा अवधिमा धनात्मक देखिएको छ।

Advertisement

लघुवित्तले चालू आवको ९ महिनासम्ममा दुई करोड २४ लाख रुपियाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा यस्तो नाफा ५४ लाख रुपियाँ ऋणात्मक थियो।

तेस्रो त्रैमाससम्म लघुवित्तको खुद ब्याज आम्दानी ६७.११ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी ४४.९२ प्रतिशत र कुल सञ्चालन आम्दानी ६०.७१ प्रतिशतले बढेको छ । खुद ब्याज आम्दानी बढेसँगै संस्थाको खुद नाफा धनात्मक भएको हो । 

त्यस्तै, समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ६.८९ प्रतिशतबाट घटेर २.६९ प्रतिशतमा झरेको छ । यसले पनि नाफा धनात्मक बनाउन सहयोग गरेको देखिएको छ । 

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ । गत आवको चैतसम्म ७.२ रुपियाँ ऋणात्मक रहेको लघुवित्तको प्रतिशेयर आम्दानी समीक्षा अवधिमा २९.५६ पैसा धनात्मक भएको छ । 

१० करोड १४ लाख रुपियाँ चुक्ता पुँजी रहेको लघुवित्तको जगेडा कोषमा ४ करोड ३८ लाख रुपियाँ सञ्चित छ । चालू आवको ९ महिनासम्म लघुवित्तले १ अर्ब १७ करोड सापटी तथा ३० करोड २९ लाख निक्षेपबाट १ अर्ब ६४ करोड रुपियाँ कर्जा प्रवाह गरेको छ । 

त्यस्तै, लघुवित्तको मूल्य आम्दानी अनुपात ७९.१७ गुणा र प्रतिशेयर नेटवर्थ १४३.२३ रुपियाँ रहेको वित्तीय विवरणमा उल्लेख छ । 

Advertisement