श्रमाधान कल सेन्टर सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

Advertisement

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमाधान कल सेन्टर (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०८१ जारी गरेको छ । 

श्रम तथा रोजगारसँग सम्बन्धित सम्पूर्ण जिज्ञासा एंवम् गुनासो र समस्यालाई तत्काल सम्बोधन गर्ने गरी मन्त्रालयले सञ्चालनमा ल्याउन लागेको श्रमाधान कल सेन्टरको कामलाई प्रभावकारी बनाउन कार्यविधि जारी गरेको हो । 

Advertisement

मन्त्रालयले गत बैशाख १२ गते कार्यविधि स्वीकृति गरेको हो । यो कार्यविधि मन्त्रालयबाट स्वीकृत भएको मितिबाट लागू हुनेछ कार्यविधिमा उल्लेख गरिएको छ । 

कार्यविधि अनुसार श्रमाधान कल सेन्टर भन्नाले नेपालमा वा विदेशमा रहेका नेपाली श्रमिकहरुको समस्या, जिज्ञासा र सुझावलाई विभिन्न माध्यमबाट संकलन गरी सम्बनिधत निकायसम्म पुराएर समाधान गर्ने सुविधा हो । त्यस्तै, श्रमाधान भन्नाले मन्त्रालय र मातहतका निकायहसँग सम्बन्धित सम्पूर्ण सूचना र आउने गुनासो, जिज्ञासा र समस्याहरु एकद्धार प्रणालीबाट सम्बोधन गरी समाधान गर्ने पद्धति हो । 

श्रमिकहरुले विद्युतीय माध्यम (ट्याब्लेट, टेलिफोन, मोबाइल, स्मार्ट टिभी, स्मार्ट वाच) लिखित, मौखिक, ध्वनि, श्रब्य, श्रब्यदृश्य आदि माध्यमको प्रयोग गरेर प्रत्यक्ष अप्रत्यक्ष र अन्य विद्युतीय माध्यमबाट श्रमाधानमा गुनासो, जिज्ञासा, समस्या र सुझाव सम्प्रेषण गर्न सक्नेछन् । सामाजिक सञ्जाल (फेसबुक, हट्सयावप, भाइबर, इमो, इन्स्टाग्राम, इमेल, एक्स, सिग्नल) बाट पनि गुनासो दर्ता गर्न सक्नेछन् ।

श्रमाधान कल सेन्टरमा प्राप्त भएका गुनासोलाई श्रम मन्त्रालय र अन्र्तगतका निकायहरुमा सिफारिश गरिनेछ । गुनासोको तत्काल सम्बोधन गर्नका लागि सम्बन्धित सबै निकायमा फोकल पर्सन पनि तोक्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । दर्ता गराएको गुनासो वा समस्या समाधान नभएसम्म सम्बन्धित श्रमिकलाई कल सेन्टरका कर्मचारीले सबै जानकारी दिनुपर्नेछ । समस्या समाधान नभएसम्म फलोअप गर्नुपर्नेछ ।

गुनासोको संवेदनशीलताको आधारमा गुनासोको वर्गीकरण गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । अति जरुरी, जरुरी, मध्यम, सामान्य, तामेली गरी गुनासोको वर्गीकरण गर्नुपर्ने छ । यसका साथै गुनासोको क्षेत्रका आधारमा पनि गुनासो वर्गीकरण गर्नुपर्नेछ । श्रम मन्त्रालय र मन्त्रालय अन्र्तगतका माहाशाखाहरु, वैदेशिक रोजगार विभागका र मातहतका कार्यालयहरु, वैदेशिक रोजगार बोर्डको सचिवालय, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र मातहतका कार्यालयहरु,  राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान र सामाजिक सुरक्षा कोषसँग सम्बन्धित गुनासोलाई वर्गीकरण गर्नुपर्नेछ । 

श्रमाधान कल सेन्टरको एकीकृत अभिलेखलाई विद्युतीय र दस्तावेज अभिलेख गरी दुई किसिमबाट व्यवस्थित गर्नुपर्नेछ । विद्युतीय अभिलेख श्रमाधान कल सेन्टरका अभिलेखको विद्युतीय रुप तयार गरी गुनासोहरु अभिलेखीकरण गरिनेछ । 

दस्तावेज अभिलेख श्रमाधान कल सेन्टरमा प्राप्त गुनासोहरुको दस्तावेज आवश्यकताका आधारमा दैनिक, साप्ताहिक, पाक्षिक, मासिक अर्धबार्षिक र बार्षिक रुपमा प्रिन्ट गरेर राख्नुपर्नेछ । मन्त्रालय र मातहतका नियकासँग सम्बन्धित सुझावहरुलाई छुट्टै अभिलेखीकरण गरी मन्त्रालयमा पठाउनु पर्नेछ । मन्त्रालय र मातहतका निकायहरुले आफ्नो कार्यालयसँग सम्बनिधत गुनासोहरुको सुनुवाई गर्न पूर्णकालीन फोकल फर्सन नियुक्त गर्नुपर्नेछ । 

आफ्नो निकाय अन्तरगतका कार्यालयहरुसँग सम्बन्धित साईट, लेटर प्याड एवं सरोकारवाला समक्ष पुग्ने सबै कागजागतमा श्रमाधान कल सेन्टरसँग  सम्बन्धित जानकारी अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ । यसका साथै  श्रमाधान कल सेन्टर मार्फत सम्बोधन भएका गुनासोहरुको कि परफरमेन्स इन्डिकेटर बनाएर त्यसको आधारमा फोकल पर्सनहरुको कार्यसम्पादनको मूल्यांकन गर्न समन्वयन गर्नुपर्नेछ । हरेक महिना प्राप्त गुनासो त्यसको समाधानको प्रगतिको विवरण मन्त्रालय मातहतको वेब पेजबाट सार्वजनिक गर्नुपर्नेछ । 

Advertisement

Advertisement