बालमन्दिर जग्गा प्रकरणः प्रकाशमान सिंहकी दिदी, विशाल ग्रुपसहित २० जनालाई पक्राउ पुर्जी

Advertisement

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्सालस्थित बालमन्दिर जग्गा अनियमितता प्रकरणमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहकी दिदी रीता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । 

सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले २० जनाविरुद्ध बिहीबार पक्राउ पुर्जी जारी भएको बताए पनि नाम भने खुलाउन चाहेनन् । तर सीआईबी स्रोतका अनुसार उक्त जग्गा अनियमिततामा मुख्य दोषी मानिएकी वैद्यसहित २० जनालाई पक्राउ पुर्जी जारी गरिएको हो । पक्राउ पुर्जी काटिएकामा विशाल ग्रुपका केही सञ्चालक समेत छन् । 

Advertisement

बालमन्दिरको तर्फबाट आज (बिहीबार) नै सीआईबीमा जाहेरी परेको थियो । सरकारले २०२१ सालमा नक्सालस्थित ‘सीता भवन’ अधिग्रहण गरेर नेपाल बाल संगठन अर्थात बालमन्दिरका नाममा ११९ रोपनी १२ आना ३ पैसा जग्गा राखेको थियो । सो जग्गापछि २०४८ पछि बनेपछि नियुक्ति भएकी नेता गणेशमान सिंहकी छोरी रीता सिंह वैद्यले निजी कम्पनीलाई लामो समयका लागि सञ्चालन गर्न दिएकी थिइन् । 

यो जग्गा प्रकरणबारे सीआईबीले यसअघि पनि अनुसन्धान अघि बढाएको थियो । सीआईबीको अनुसन्धानमा समेत जग्गा दुरुपयोग गरिएको खुले पनि औपचारिक रूपमा जाहेरी नपरेकाले मुद्दा प्रक्रिया अघि बढेको थिएन । आजै उजुरी दिन लगाएर पक्राउ पुर्जी जारी गरिएको हो । 

बालअधिकार सम्बन्धी महासन्धिले उठाएका मुद्दाहरू लागू गर्न भन्दै २०४९ सालमा सरकारबाट अधिकार पाएको बालमन्दिरले भने आफ्नो क्षेत्राधिकार अनुसार काम नगरी जग्गा दुरुपयोग भएको दाबी गरेको छ ।

उक सय १९ रोपनीमध्ये धेरैजसो जग्गा केही सरकारी निकायले भोगचलन गरिरहेका छन् भने २९ रोपनी ४ आना जग्गा निजी विद्यालय वृहस्पति विद्या सदनलाई ५९ वर्षका लागि सस्तो भाडामा लिजमा दिइएको थियो । 

Advertisement

Advertisement