आर्थिक मन्दीमा पनि निर्जीवन बीमा कम्पनीहरुको नाफामा ५५ प्रतिशतको वृद्धि, कुन कम्पनी अगाडि ?

Advertisement

काठमाडौं । चालु आर्थिक बर्ष २०८०–८१ को पहिलो ९ महिनामा ठूला निर्जीवन बीमा कम्पनीको खुद नाफा ५५ प्रतिशतले बढेको छ । बीमा कम्पनीहरुले हालै सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार निर्जीवन लघु बीमाको नाफा समावेश छैन । 

समीक्षा अवधीमा १४ ठूला निर्जीवन बीमा कम्पनीले कुल पाँच अर्ब ६५ करोड १३ लाख ९० हजार रुपियाँ खुद नाफा कमाएका छन् । यो गत आवको सोही अवधीको तुलनामा दुई अर्ब ६७ लाख रुपियाँले बढी हो । गत आवको सोही अवधीमा निर्जीवन बीमा कम्पनीले तीन अर्ब ६४ करोड ४६ लाख २१ हजार रुपियाँ खुद नाफा कमाएका थिए । 

Advertisement

बीमांकीय मूल्यांकनपछि कम्पनीको यो नाफा थप बढ्ने सम्भावना हुन्छ । बीमांकीय मूल्यांकनका क्रममा बीमांकीले बीमा कोषको १० प्रतिशत रकम नाफा नोक्सान खातामा सार्न सक्छन् । त्यो अवस्थामा कम्पनीको नाफा थप बढ्ने सम्भावना हुन्छ, जुन नाफा कम्पनीको अन्तिम लेखापरीक्षण प्रतिवेदनमा समावेश हुन्छ । 

पछिल्लो समय देखिएको आर्थिक शिथिलता कारण निर्जीवन बीमा व्यवसायमा प्रभावित भएको छ । तर, सोही व्यवसाय गर्ने कम्पनीको नाफामा भने उच्च बृद्धि देखिएको हो । बिशेषगरि बैंकले मुद्दती निक्षेपमा उच्च व्याज दिँदा यस्तो अवस्था आएको देखिन्छ । 

बीमा कम्पनीहरुले आफुसँग भएको लगानीयोग्य पुँजी मध्ये अधिकांश बाणिज्य बैंकको मुद्दती निक्षेपमा राख्छन्, त्योअनुसार बैंकको मुद्दती निक्षेपबाट हुने व्याज आम्दानी नै बीमा कम्पनीहरुको आम्दानीको मुख्य स्रोत हो ।

तरलता अभाव हुँदा बैंकहरुले केही महिनाअघि सम्म निक्षेपको व्याजदर उच्च नै राखेका थिए । त्यसबेला राखेको निक्षेपको व्याजबाट अहिले राम्रो आम्दानी भइरहेको कम्पनीहरु बताउँछन् । अहिले बैंकहरुले व्याजदर घटाउँदै लगेका छन् । 

तर, कम्पनीहरुले यसअघि व्याजदर उच्च हुदाँ नै लामो अवधीका लागि निक्षेप राखेका थिए । त्यो अवधीभर कम्पनीहरुले सम्झौतामा उल्लेख भए अनुसारको व्याज पाउने छन् । सोहीअनुसार अहिले बीमा कम्पनीहरुको आम्दानी हुदाँ नाफा बढेको बताइन्छ । यसैगरि शेयर कारोबार लगायतका लगानीबाट हुने आम्दानी पनि बढेको बताइन्छ । यसैगरि केही कम्पनीहरु मर्जरमा जाँदा सञ्चालन खर्च कम भएको छ । त्यसको असरले पनि नाफा बढ्न सहयोग पुगेको कम्पनीहरु बताउँछन् । 

यस नौ महिनामा नेपाल इन्स्योरेन्सले सबैभन्दा धेरै नाफा कमाएको छ । तथ्यांकअनुसार चैत मसान्तसम्म उक्त कम्पनीको नाफा ६१ करोड ४४ लाख २७ हजार रुपियाँ पुगेको छ, जुन गत आवको सोही अवधीको तुलनामा १०१ प्रतिशत बढी हो । गत आवको सोही अवधीमा कम्पनीको नाफा ३० करोड ५४ लाख ९० हजार रुपियाँ थियो । 

दोस्रो नम्बरमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ । चैत मसान्तसम्म उक्त कम्पनीले ६० करोड ६५ लाख ४८ हजार रुपियाँ नाफा कमाएको छ । जुन गत आवको तुलनामा १६३ प्रतिशतले बढी हो । गत आवको सोही अवधीमा कम्पनीले २३ करोड सात लाख ४७ हजार रुपियाँ नाफा कमाएको थियो । 
तेस्रो नम्बरमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ५९ करोड ७१ लाख तीन हजार नाफा कमाएको छ, जुन गत आवको सोही अवधीको तुलनामा ११० प्रतिशतले बढी हो । गत आवको समीक्षा अवधीमा कम्पनीले २८ करोड ४८ लाख २ हजार नाफा कमाएको थियो ।

गत आवको सोही अवधीमा घाटामा रहेको नेशनल इन्स्योरेन्स यसपटक १४ करोड १० लाख रुपियाँले नाफामा आएको छ । यद्यपि, समीक्षा अवधीमा राष्ट्रिय बीमा कम्पनी र नेको इन्स्योरेन्सको नाफा घटेको छ । राष्ट्रिय बीमा कम्पनीको नाफा २५ प्रतिशतले घटेर ५१ करोड ६३ लाख ६६ हजार रुपियाँमा सिमित भएको छ । 

यसैगरि नेको इन्स्योरेन्सको नाफा २ प्रतिशतले घटेर ३७ करोड ७४ लाख ९६ हजार रुपियाँमा सीमित भएको छ । गत आवमा राष्ट्रिय बीमा कम्पनीले ६८ करोड ६४ लाख ३७ हजार र नेको इन्स्योरेन्सले ३८ करोड ३९ लाख ६६ हजार रुपियाँ नाफा कमाएका थिए ।

हुेर्नुहोस् कुन कम्पनीको नाफा कति ? 

undefined
 

Advertisement

Advertisement