दाहालले तत्काल राजीनामा दिनुपर्छ, अभियुक्तले देश चलाउन मिल्दैनः डा. गोविन्द केसी

Advertisement

काठमाडौं । वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेका छन् । दाहालले सशस्त्र द्वन्द्वकालका जघन्य अपराध गरेको जिकिर गर्दै उनले प्रधानमन्त्री दाहालले पदमा बस्ने नमिल्ने तर्क गरे । 

पशुपति क्षेत्रस्थित मृगस्थलीमा प्रधानमन्त्री दाहालको राजीनामासहित चार बुँदै माग राख्दै आमरण अनसन सुरु गरेका केसीले प्रधानमन्त्री दाहाल अभियुक्त भएकाले उनले देश चलाउन नमिल्ने बताए । 

Advertisement

उनले प्रधानमन्त्री दाहालले पदबाट तत्काल राजीनामा दिएर संक्रमणकालिन न्यायलाई टुंगोमा पुर्याउन सहयोग गर्नुपर्ने बताए । दाहालले अभियुक्त भएर देश चलाउने कुनै अधिकार नभएको केसीको तर्क छ । द्वन्द्वकालको मुख्य अभियुक्त हुँदाहुँदै दाहाल प्रधानमन्त्री बन्दा पनि अरुले त्यसको विरोध नगरेकोमा उनले आक्रोश पोखे । 

डा. केसीले भने, ‘अपराधीहरु प्रधानमन्त्री, मन्त्री बन्ने ? मैले भनिहाले नि–त्यस्तो हुन सक्दैन । उनले राजीनामा दिनुपर्छ । राजीनामा दिएर यो संक्रमणकालिन न्याय प्रक्रियालाई निष्पक्ष ढंगले टुंगोमा पुर्याउन उसले सहयोग पुर्याउनु पर्छ । हो, निर्दोष छन् भने प्रधानमन्त्री बन, मन्त्री बन, मलाई कुनै आपत्ति छैन् । तर अभियुक्त भएर देश चलाउन सक्दैन, देश चलाउन पाउँदैन । त्यसमा कुनै अधिकार पनि छैन । नैतिक अधिकार पनि छैन । उसले राजीनामा दिनु र्छ ।’

उनले थपे, ‘अब प्रधानमन्त्री नै जघन्य अपराधको अभियुक्त छन् भने मैले मात्रै होइन, यसमा सबैले किन बोलेनन् ? स्वास्थ्य सेवामा अहिले सरकारी अस्पतालमा पनि के छ भने महंगो शुल्क तिर्नुपर्ने हुन्छ । निःशुल्कको त कुरै छोडिदिउँ । त्यसैकारणले गर्दाखेरी के छ भने मध्यमवर्गका नेपालीहरु उपचार महंगो भएको कारणले लाखौं नेपालीहरु गरिवीको रेखामुनि धकेलिन बाध्य छन् । र निम्न वर्गका, विपन्न वर्गको त विचारा उपचार नै हुँदैन । महंगो भएर उपचार गर्न नसकेर मृत्युवरण गर्नुपर्ने अवस्था छ उनीहरुको । हजारौं, लाखौं दीर्घरोगी भएर बस्नु परेको छ । लाखौंले अपांग भएर बस्नुपरेको छ । यो स्थिति छ ।’

अहिले नेपालमा निःशुल्क स्वास्थ्य सेवा नरहेको केसीले बताए । उनले निःशुल्क सेवा कागजमा काँहीकाँही लेखेको मात्रै हो भन्दै उनले तर त्यो व्यवहारमा नरहेको बताए । केसीले उपचार सेवा धेरै नै महंगो रहेको र यो किन भएको हो त ? भन्दा तथाकथित साम्यवादी र समाजवादी नेताहरुले, पार्टीहरुले बाहेक त देश अहिलेसम्म कसैले पनि चलाएका छैनन् भने । 

उनले भने, ‘उनीहरुले के गरेका छन् भन्दाखेरी शिक्षा र स्वास्थ्य क्षेत्रलाई चरम व्यापारीकरण गरेका छन । उनीहरुले भ्रष्टाचार गरेको कमाएको कालो धन सेतो बनाउनका लागि यसमा लगानी गरेका छन् । त्यही भएर यो चर्को महंगो भएको छ । भोट माग्ने बेलामा शिक्षा र स्वास्थ्य निःशुल्क हुन्छन भनेर भन्छन । भनेपछि उनीहरुले व्यापारीकरण गरेर यस्तो महंगो भएको छ । जबकि यो निःशुल्क हुनुपर्ने हो । शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्ने हो । धेरै देशहरुमा यो निःशुल्क छ । यी कम्युनिष्टहरुले, सोसलिष्टहरुले पुँजीवाद देशहरुलाई गाली गर्दछन् नि । तर पूँजीवाद देशमा निःशुल्क छ बरु । नेतृत्व इमान्दार छन भने यसलाई निःशुल्क गर्न सम्भव छ । तर विडम्बना के छ भने यिनीहरु आफूलाई उपचार गर्नुपर्यो भने ती गरिव जनताले छाक काटेर तिरेको करबाट उपचार गर्न विदेशमा गएर उपचार महंगो उपचार गर्दछन् । तर जनतालाई निःशुल्क उपचार छैन ।’

केसीले थप भनाई छ, ‘त्यसकारण निःशुल्क उपचार हुनुपर्छ । यदि सक्दैन भन्छौं भने छोडन । अर्को आउँछ नि त । त्यसले पनि सकेन भने अर्को आउँछ । कसै न कसैले त गर्न सक्छन नि । सबै कुरामा यदि तिमी सक्दैनौ भने छोड, अर्को आउँछ । अनि शिक्षा र स्वास्थ्यको यो स्थिति छ । गेटा कलेज हामीले लडेर भवन बन्यो, सबै कुरा भयो । मैले फेरि पनि गएर दुई चोटी अनसन बसिसकेँ । सम्झौता हुन्छ प्रतिष्ठानको रुपमा खोल्ने भनेर । त्यहाँका मानिसहरु विरामी परेभने कि इण्डिया, कि काठमाडौ आउनुपर्ने हुन्छ । देउवाजीसँग डेढ वर्ष अघि सम्झौता नभएको हो र । बीचमा प्रचण्डजीले विश्वविद्यालयको अवधारण ल्याए । त्यो हुनको कारण त्यसलाई अल्मल्याउन मात्रै हो के । निजी अस्पताल र माफियाहरुको स्वार्थ पूूर्तिका लागि त्यसलाई बिथोल्ने काम गरियो ।’

डा. केसीले स्वास्थ्य शिक्षा निःशुल्क हुनुपर्ने, गेटा मेडिकल कलेजलाई प्रतिष्ठानको रुपमा तत्काल संचालन गर्नुपर्नेलगायतका विगतमा मेडिकल क्षेत्रको सुधारका लागि आफूसँग सरकारले गरेको सबै सहमती कार्यान्वयन हुनुपर्ने माग पनि राखे । 

Advertisement

Advertisement