भोलि राष्ट्र बैंक सञ्चालक समितिको बैठक, शुक्रबारसम्म मौद्रिक नीतिको समीक्षा गर्ने तयारी

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसै साता मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्ने तयारी गरेको छ । ढिलोमा पनि शुक्रबारसम्म मौद्रिक नीतिको समीक्षा गर्ने तयारी भइरहेको राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए । 

राष्ट्र बैंकले गत आइतबार मात्रै तेस्रो त्रैमाससम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको थियो । यसले राष्ट्र बैंकलाई मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्न आधार तयार भएको स्रोतको भनाई छ । 

Advertisement

राष्ट्र बैंकले बुधबार सञ्चालक समितिको बैठक बोलाएको छ । तर, सञ्चालक सदस्यहरुलाई एजेन्डाबारे जानकारी दिइएको छैन । संभवतः बुधबारकै सञ्चालक समितिको बैठकमा मौद्रिक नीतिको समीक्षासम्बन्धी एजेन्डा पेश हुनेछ । बुधबार नभए शुक्रबार अर्को बैठक राखेर मौद्रिक नीतिको समीक्षा गर्न सकिने एक सञ्चालकले बताए । 

उनले भने, ‘हामीलाई बुधबार सञ्चालक समितिको बैठक बस्ने जानकारी आएको छ । तर, एजेन्डाबारे कुनै जानकारी दिइएको छैन । सायद, बुधबारको बैठकमा मौद्रिक नीतिको समीक्षाले प्रवेश पाउन सक्छ । तर, बुधबार नै मौद्रिक नीतिको समीक्षा गर्दा सुचना चुहावट (लिक) गरेर शेयर बजार प्रभावित बनाउन सक्छन । तसर्थ, यो साताको शेयर कारोबार सकिएपछि शुक्रबार मौद्रिक नीतिको समीक्षा गर्न सकिन्छ ।’ 

यसअघि पनि शुक्रबार नै मौद्रिक नीतिको समीक्षा गर्ने राष्ट्र बैंकको अभ्यास छ । सरकारले ल्याएको बजेट कार्यान्वयनमा समेत सहयोग पुग्ने गरि राष्ट्र बैंकले बर्तमान आर्थिक र वित्तीय अवस्थाको आधारमा हरेक बर्ष मौद्रिक नीति ल्याउने गर्छ । विशेषगरि उसले बाह्य क्षेत्र, मुद्रास्फीति, वित्तीय क्षेत्र, कर्जा प्रवाह लगायतका विषयमा समीक्षा गरी आवश्यक नीति लिने गर्दछ । 

त्यसकै आधारमा राष्ट्र बैंकले बिभिन्न निर्देशन समेत जारी गर्छ । मौद्रिक नीतिको कार्यान्वयन र प्रभावबारे राष्ट्र बैंकले हरेक त्रैमासमा समीक्षा गर्नुपर्छ । गत चैत मसान्तमा सकिएको तेस्रो त्रैमासको समीक्षा छिट्टै गर्न राष्ट्र बैंकलाई दबाब पनि छ । 

Advertisement

Advertisement