भरतपुरको छ लेन सडक निर्माण अन्तिम चरणमा
फाइल तस्बिर

Advertisement

चितवन । भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रको पुल्चोक–गोन्द्राङ् छ लेन सडकखण्ड निर्माण ८५ प्रतिशत सम्पन्न भएको छ । चालु आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन नभए पनि थप बजेट निकासा गरी कामलाई गति दिइएको हो । 

सडक डिभिजन कार्यालय चितवनका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार चालु आर्थिक वर्षमा रु पाँच करोड मात्र बजेट विनियोजन भएको थियो । थप रु २० करोड बजेट निकासा गरेर काम गरिएको उहाँले जानकारी दिनुभयो । सडकको केन्द्रीय बस टर्मिनलदेखि गोन्द्राङ्सम्म कालोपत्र सकिएको छ ।  बसपार्कबाट पुल्चोकसम्म केही ठाउँमा दोस्रो र अधिकांश ठाउँमा कालोपत्रको अन्तिम तह बाँकी छ । 

Advertisement

फुटपाथ, सर्भिसलेन, हरियालीका काम, सडक बत्तीलगायतका काम भइरहेको छ । कालोपत्र मात्र बाँकी रहेकाले धेरै समय नलाग्ने उनले जानकारी दिए । भरतपुर महानगरपालिकाले सहरी क्षेत्रको सडक छिटो सम्पन्न गर्न बजेट निकासाको पहल  गरेको थियो । उनले भने, “अब बजेटको अभाव हुँदैन । निर्माण कम्पनीले तीव्र रुपमा काम गर्नुपर्यो ।”
 
विसं २०७७ असोज २७ गते सम्झौता भई निर्माण  सुरु भएको सो सडक खण्डको भदौसम्मका लागि दोस्रो पटक म्याद थपिएको छ । निर्माणको काम इन्डो सगुन जेभीले  गरिरहेको छ । कम्पनीले रु एक अर्ब सात करोड भुक्तानी प्राप्त गरिसकेको छ । चालु आवमा पनि रु २५ करोड हाराहारी कम्पनीलाई भूक्तानी गरिएको उहाँले जानकारी दिनुभयो । सुरुको ठेक्का रकम रु एक अर्ब २३ करोड रहेकामा मूल्य वृद्धिका कारण रकम बढ्ने छ । पौडेलका अनुसार काम सम्पन्न गर्न अझै रु २५ करोड आवश्यक पर्छ । यो सडक छ दशमलव ०८ किलोमिटर लामो छ ।
 
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सहरी क्षेत्रको सडकका लागि चालु आर्थिक वर्षमा न्यून बजेट विनियोजन भएकामा सम्बन्धित निकायमा अनुरोध गरेर बजेट निकासा गराएको बताए । महानगरपालिकाले घोषणा गरेको भ्रमण वर्ष सन् २०२४ यही सडकका  कारण तोकिएको समयमा उद्घाटन हुन सकेको थिएन । 

प्रमुख दाहालले भने, “बजेटका कारण काम हुन नसकेपछि  प्रधानमन्त्री, अर्थमन्त्री, भौतिक योजनामन्त्री, सचिव लगायतलाई पटक(पटक अनुरोध गरेपछि काम भएको हो ।” 

Advertisement

Advertisement