ओली उल्टै भन्छन्– काँग्रेसले गिरीबन्धुको ७० विघा जग्गा कमिसन खाएर बेच्यो

Advertisement

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसले गिरीबन्धु टि—स्टेटको जग्गा कमिसनमा बेच्न दिएको आरोप लगाएका छन् । 

उक्त प्रकरणमा ओली नै मुख्य दोषीको रुपमा औंल्याउने काम भइरहेको बेला उनले आरोप प्रमुख प्रतिपक्षी दल कांग्रेसतर्फ तेर्स्याएका हुन् । सरकारमा रहँदा ओलीले टि—स्टेटको जग्गामा नीतिगत भ्रष्टाचार गरेको आरोप काँग्रेसले लगाइरहेको छ । 

Advertisement

बुधवार आफ्नो पार्टीको संसदीय दलको बैठकमा उनले काँग्रेस नेतृत्वको तत्कालिन सरकारले १९ विघा र ५१ विघा जग्गा कमिसन खाएर बेच्न लगाएको आरोप लगाउँदै छानविन गर्नुपर्ने माग समेत गरे । 

काँग्रेसले गरेका बद्मासीबारे एमाले चुप लागेर बस्ने पक्षमा नरहेको ओलीको भनाई छ । उनले तत्काल संसद बैठक सुचारु गराउन पनि काँग्रेसलाई दबाब दिए । काँग्रेसले गरिमामय संसद र देशको बहुमूल्य समय खेर फाल्ने गरी संसद अवरुद्ध गर्न नहुने ओलीको तर्क छ । 

उनले भने, ‘म भन्न चाहन्छु–५१ विघा र १९ विघा गरेर ७० विगाहा जमिन त्यही गिरीबन्धु टि स्टेटको कमिसन खाएको बेच्न दिएको कुरा । यसमा छानविन हुनुपर्छ । अब हामी काँग्रेसले बकवास बोलिरहने र हामी चुप लागेर सुनिरहने होइन । काँग्रेसका गरेका बद्मासीहरुको बारेमा हामी कुरा उठाउँछांै । हामीले सुनिरहनुपर्ने, काँग्रेस कराईरहनुपर्ने हुन्छ ? पार्लियोमेण्ट भनेको त्यही हो ? हामी सुनिरहने, काँग्रेस कराईरहने ? यो चल्दैन । अब काँग्रेसका बकवास सुनिरहन हामी तयार छैनौं । चाहिने कुरा गरे हुन्छ नि त ।’ 

ओलीले थपे, ‘एउटा प्रसंगमा कुरा चल्या छ । त्यो प्रसंगमा कुरा गरे हुन्छ । यतै टोक्या छ, उतै टोक्या छ, यता भुकेको छ, उता भुकेको छ । के तरिका हो यो ? र दुनियाँलाई थाहा छ । म धेरै भन्न चाहन्न । काँग्रेसले गरिमामय संसदको यति बहुमूल्य समय, सांसदहरुको बहुमूल्य समय, यो देशको बहुमूल्य समय यस प्रकारले कुण्ठाग्रस्त भएर खेर फाल्न हुँदैन । संसद सुचारु गराउनु पर्छ । हामी सुचारु गर्ने पक्षमा छौं । कहीँकतै अभियोजन छ भने अभियोजन चलाउने ठाउँबाट चल्ला । अनि काँग्रेसले नै अभियोजन चलाई हाल्ने ? काँग्रेसले नै फैसला पनि ठोकि हाल्ने ? प्रमाणित भ्रष्टाचारी ल्याएर, काँग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाइ थाहा छ । त्यति भन्छु ।’

Advertisement

Advertisement