आर्थिक शिथिलताको असरः महिनौंदेखि जताततै ‘टु-लेट’, भाडा वृद्धिदरमा पनि भारी गिरावट

Advertisement

काठमाडौं । आर्थिक शिथिलताका कारण व्यापारिक तथा आवासीय घर, फ्ल्याट, कोठा, सटर, भवन खाली हुने र भाडामा नलाग्ने प्रवृत्ति बढ्दै गएको छ । 

अहिले विशेषगरी राजधानी काठमाडौं र देशका प्रमुख शहरहरुमा ‘टु–लेट’का सूचना जताततै देख्न सकिन्छ । व्यापारिक तथा आवासीय घर, फ्ल्याट, कोठा, सटर, भवन खाली हुने क्रमसँगै भाडा वृद्धिदरमा पनि संकुचन आएको छ । 

Advertisement

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्ष २०८०–८१ को चैत महिनामा घर भाडाको मुद्रास्फीति अर्थात् मूल्य बृद्धिदर २.७८ प्रतिशत मात्रै छ । जबकी गत आवको सोही अवधीमा घर भाडाको बृद्धिदर ९.५४ प्रतिशत थियो । भाडा दर खुम्चिनुको कारण अहिलेको विषय आर्थिक अवस्था मुख्य कारणको रुपमा देखिन्छ । 
 
पहिला घर, फ्ल्याट, सटरको भाडा दर उच्च मात्रामा बढ्ने गर्दथ्यो । घरधनीले प्रचलित कानुन मिचेर मनलाग्दी भाडा बढाउने गर्दथे । भाडा निर्धारण गर्ने मामिलामा घरबेटीहरुको ‘दादागिरी’ नै थियो । तर, पछिल्लो आर्थिक शिथिलतासँगै आवासीय तथा व्यापारीक घर, कोठा, पm्ल्याट, सटरको भाडा वृद्धिदर खुम्चिएको छ । 

वस्तुको मागमा आएको कमीका कारण पछिल्लो समय व्यवसायी तथा व्यापारीहरु पलायन भइरहेका छन् । अध्ययन र रोजगारीका नाममा ठूलो संख्यामा युवा उपभोक्ता पनि नेपालमा अवसर नदेखेर पलायन भइरहेका छन् । उपभोक्ता नै घटेपछि र नेपालमा रहेका उपभोक्ताको क्रयशक्तिमा पनि शिथिलता आउँदा ठूलादेखि साना उद्योग व्यवसायमा परेको छ । फलस्वरुप उनीहरुले भाडामा लिएको घर, सटर, फ्ल्याट, भवन पनि खाली हुँदै गएका छन् जहाँ ‘टु–लेट’ टाँसेको देखिन्छ । खाली भएका सटर, फ्ल्याट, भवन सहजै भाडामा जान नसक्दा भाडा वृद्धिमा नियन्त्रण भएको हो ।  

पहिला राजधानी काठमाडौंको दरबारमार्ग, न्यूरोड, बानेश्वर, पुतलीसडक, बागबजार लगायतका मुख्य व्यापारीक ठाउँमा खाली हुनसाथ घरहरु भाडा गईहाल्थ्यो । त्यसमा घरधनीहरुले मनपरी ढंगले नै भाडा तोक्ने गर्दथे । त्यसरी तोकिएको भाडादर तिर्न समेत व्यापारीहरु तयार हुन्थे । त्यसमा लाखौं रुपियाँ थप सलामी समेत तिर्नुपर्ने हुन्थ्यो । तर, अहिले सटर खालीको महिनौसम्म भाडामा जाँदैन । 

राष्ट्र बैंकको तथ्यांकले भाडा नभएर भाडा वृद्धिदर मात्र घटेको देखाएको हो । अहिले सलामी तिरेर त कोही भाडामा आउँदैनन् । भाडा नै घटाउँदा पनि सटरहरु भाडामा जान नसकेको घरबेटीहरु बताउँछन् । पछिल्लो समय देखिएको आर्थिक शिथिलताका कारण आवासीय तथा व्यापारीक घर, कोठा, पm्ल्याट, सटरको माग न्यून रहेको, त्यसले गर्दा घर भाडाको मूल्यबृद्धि दर कम भएको राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ बताउँछन् । 

भाडामा बसिरहेका व्यक्ति तथा संस्थाले पनि भाडा दर नबढाउन आग्रह गर्ने, बढाए विकल्प खोज्ने बताउने गरेका छन् । खाली हुने डरमा घरधनीहरुले पनि पहिलाको जसरी मनपरी ढंगले मूल्य बढाउन सकेका छैनन् । त्यसले गर्दा यसको मूल्यबृद्धि दर घटेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । 

श्रेष्ठले भने, ‘मुख्यत माग र आपूर्तिकै कारण घर भाडाको बृद्धिदर घटेको हो । आर्थिक शिथिलताका कारण व्यापारीहरु पलायन भएका छन् । तर, त्यसरी खाली भएको घर भाडामा लिन आउनेको संख्या नगन्य छ । ठाउँ ठाउँमा घर भाडाको सुचना टासिएका छन् । तर, पनि घर भाडामा लाग्न सकेको छैन । त्यसैले यस्तो अवस्था आएको हो ।’

यस्तै, पछिल्लो समय अनलाइन सपिङको कल्चर बढेको छ । पहिलाको जस्तो मंहगो भाडा तिरेर बाटोसँगै छोडिएका घरमा व्यापार व्यवसाय गर्नभन्दा भित्री क्षेत्रमा स्टोर राखेर अनलाइननै व्यापार गर्ने प्रवृत्ति बढ्दो छ । त्यसले गर्दा पनि व्यापारीक सटरको मागमा संकुचन आएको छ । तर, अहिले आर्थिक शिथिलताकै प्रभाव यसमा देखिएको विज्ञहरु बताउँछन् । 

आर्थिक शिथिलताका कारण आम व्यापारी तथा मानिसको घर भाडा तिर्ने क्षमता पनि घटेको छ । त्यसले गर्दा आम मानिसहरु पहिलाको भन्दा सस्तो भाडाको घर, कोठा तथा फल्याटमा बसाईसराई गरिरहेका छन् । चार कोठा लिएर बसेका व्यक्तिले तीन कोठा लिने, २० हजार फिट क्षेत्रफल भएको फल्याट लिएकाले १७ हजार फिट क्षेत्रफलको फल्याट लिने प्रवृत्ति देखिएको छ । त्यसले पनि भाडाको मुल्यबृद्धि दरमा कमी आएको विज्ञहरु बताउँछन् । 

चैतमा समग्र उपभोक्ता मुद्रास्फीति ४.६१ प्रतिशत छ । तर, भाडाको मुद्रास्फीति त्यो भन्दा अझै कम छ । राष्ट्र बैंकले बिभिन्न ४९६ वटा वस्तु तथा सेवाको मूल्यको आधारमा मुद्रास्फीति गणना गर्छ । ती ४९६ वटा वस्तु तथा सेवामध्य घरभाडाको सबैभन्दा धेरै अर्थात् २०.३० प्रतिशत भारित हिस्सा छ । राष्ट्र बैंकले मुद्रास्फीति गणना गर्ने आधार बनाउनका लागि गरेको अध्ययनमा आम मानिसले घरभाडामा ठूलो रकम खर्च हुने गरेको बताएका थिए । 

त्यसपछि घर भाडाको भारित हिस्सा धेरै कामय गरिएको थियो । अहिले घरभाडाको मुद्रास्फीतिमा कमी आउँदा पनि समग्रमा मुद्रास्फीति घट्न सहयोग पुगेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । सामान्यत घरभाडाको मूल्य बृद्धिदर घट्नुलाई राम्रो मानिन्छ । त्यसले व्यवसायको लागत घटाउन पनि सहयोग पुग्छ । 

तर, अहिले यसरी घरभाडाको  मूल्यवृद्धि दर घट्नुलाई आर्थिक शिथिलताको संकेत तथा प्रभावको रुपमा हेरिएको छ । पछि सामान्य अवस्था आएपछि पुनः भाडादर बढ्न सक्ने विज्ञहरु बनाउँछन् । सामान्य अवस्थामा भाडाको मूल्यबृद्धि दरमा संकुचन आएमा, घटेमा वा उच्च बृद्धि नभएमा राम्रो मान्न सकिने विज्ञहरु बताउँछन् । 

‘अहिले माग नहुँदा घर भाडाको बद्धिदर घटेको हो । पछि अर्थतन्त्र चलायमान भएपछि माग बढ्छ । त्यसपछि पुनः यसको भाडाको बृद्धिदर बढ्न सक्छ’ श्रेष्ठले भने, ‘वास्तवमा भाडा बढ्नु राम्रो होइन । तसर्थ, भाडालाई सस्तो बनाउन बिशेष योजना बनाएर अघि बढ्नुपर्छ ।’ 

घर भाडालाई सस्तो बनाउन आपूर्ति बढाउने गरि काम गर्नुपर्ने उनको भनाइ  छ । श्रेष्ठले ‘यस्तो भाडादर उच्च हुँदा नेपालको व्यवसाय लागत उच्च छ’ भन्दै निर्माण लागत उच्च हुँदा घरधनीहरु पनि भाडा बढी लिन बाध्य छन् भने । त्यो अवस्थामा भाडालाई दीर्घकालिन रुपमा सस्तो बनाउन पहिला घरको निर्माण लागत सस्तो बनाउनुपर्ने श्रेष्ठको भनाई छ । 

घर बनाउँदा आवश्यक पर्ने काठ लगायतका सामग्रीको मूल्य घटाउने गरि नीति तथा कार्यक्रम ल्याउनुपर्ने उनले बताए । श्रेष्ठले भने, ‘घरहरुको आपूर्ति पनि बढाउनुपर्छ । मागअनुसार घरहरु नहुँदा मूल्य बढ्नु स्वभाविक हो । तर, त्यसले नराम्रो प्रभाव पारेको छ । तसर्थ, भाडा सस्तो बनाउन घरहरुको आपूति बढाउनुपर्छ ।’ 

अहिले विभिन्न सरकारी जग्गाहरु प्रयोग बिहीन छन् । त्यस्तो जग्गाहरुलाई सहुलियत दरमा भाडामा लगाउँदा पनि राम्रो हुनसक्ने उनको भनाइ छ । श्रेष्ठले ‘धेरै सरकारी जग्गा खाली बसेका छन् । वातावरणलाई असर नपर्ने गरि त्यहाँ ठूला ठूला आउटलेट (भवन) बनाएर भाडामा लगाउन सकिन्छ’ भन्दै त्यस्तो भयो भने आपूर्ति बढ्ने बताए । 

आपूर्ति बढेपछि घरधनीहरु भाडा घटाउन बाध्य हुन सक्ने उनको तर्क छ । श्रेष्ठले यो बाहेक बजारमा घर तथा जग्गाको आपूर्ति बढाउन अन्य विकल्पहरु पनि खोजी गर्नुपर्ने बताए । उनले यो आवश्यक पनि छ भन्दै यस्तो गरेमा सरकारको राजश्व संकलन पनि बढ्न सक्ने बताए । 

Advertisement

Advertisement