मदन र जीवराजको षड्यन्त्रपूर्वक हत्या भएको खनालको दाबी, तर कस्ले गरेको ? खुलाउन चाहेनन्

Advertisement

काठमाडौं । एकीकृत समाजवादीका नेता झलनाथ खनालले नेता मदन भण्डारी र जीवराज आश्रितको हत्या गरेर नदीमा फालिएको दावी गरेका छन् । 

बिहीवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा मदन भण्डारीको शव सग्लो हुनु, नदीमा खसेर मरेको व्यक्तिको फोक्सोमा पानी जमेको नहुनुले पनि उनलाई मारेर पछि नदीमा दुर्घटनाका रुपमा फालिएको दाबी गरे । 

Advertisement

तर हत्या कस्ले गरेको खनालले खुलाउन चाहेनन् । मदन भण्डारीको हत्यामा कतिपयले विदेशी शक्तिको हात रहेको आशंका गर्ने गरेका छन् भने कतिपयले कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाको हात रहेको आरोप लगाउने गरेका छन् । नाताले गिरिजाकै भान्जा पर्ने उमेश गिरीले मदन भण्डारी र जीवराज आश्रितको हत्या भएको र त्यसमा गिराजाको हात रहेको दावी गर्दै त्यसको एक मात्रै साक्षी आफू भएको बताउने गरेका छन् ।  

नेता खनालले मदन—आश्रितको मृत्यु दुर्घटनाबाट नभइ निर्ममतापूर्वक गरिएको हत्या भएको बताए । उनले दुवै नेताको षड्यन्त्रपूर्वक हत्या भएको भन्दै ३० वर्ष होस् कि सय वर्ष हत्या हत्या नै हुने बताए । 

खनालले भने, ‘मदन भण्डारी र जीवराज आश्रितले लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको लागि सम्पूर्ण जीवन समर्पित गर्नुभएको छ । उहाँहरुले नेपालको कम्युनिष्ट आन्दोलन नयाँ उचाईमा उठाउनका निम्ति लगातार प्रयत्न गरिरहनुभएको थियो । लोकप्रिय ढंगले उहाँहरु नेपाली जनताको बीचमा स्थापित भइरहनुभएको थियो । त्यस्ता नेताहरुको असाध्यै षड्यन्त्रपूर्ण ढंगले र रहष्यपूर्ण ढंगले हत्या भएको हो । आजसम्म आउँदा कयौँ मानिसहरुले यसलाई दुर्घटना भने तर यथार्थमा भन्ने हो भने त्यो निर्ममतापूर्वक गरिएको हत्या हो । कुनैपनि पाखाबाट खनिएको बाटोमा गइरहेको गाडी मुग्लिनबाट नारायणघाटबाट गइरहेको गाडी भित्तातिरबाट हिँड्छ, भित्ताबाट हिँडेको गाडी कसरी खोलातिर खस्न सक्छ । के संसारको कुनैपनि ठाउँमा यस्ता घटना भएका छन्, कुनै तथ्यले यो पुष्टि गर्न सक्दैन । यो षड्यन्त्रपूर्ण हत्या हो भन्ने पुष्टि हुन्छ । लक भएको गाडीबाट उहाँहरुको शव कसरी बाहिर गयो । ३० वर्ष होस् की सय वर्षपछि होस्, हत्या हत्या नै हो, अपराध अपराध नै हो । त्यो जीपबाट खसाएर मारिएको होइन, त्यो भन्दा अघि नै मारिएको हो भन्ने स्पष्ट छ ।’

उनले मदन भण्डारी र जीवराज आश्रितले प्रजातन्त्र र कम्युनिष्ट आन्दोलनको लागि सम्पूर्ण जीवन समर्पित गरेको बताए । 

Advertisement