कांग्रेसले आज पनि संसद अवरोध जारी राख्ने, छानविन समिति बने रास्वपाले सरकार छोड्नसक्ने

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहीबारको प्रतिनिधिसभा बैठक पनि अवरोध गर्ने भएको छ । सरकार गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगीसम्वन्धमा संसदीय छानबिन गर्न तयार नभएको भन्दै कांग्रेसले अवरोध जारी राख्ने बताएको हो । 

बिहीबार बसेको कांग्रेस नेताहरुको बैठकपछि सो पार्टीका प्रवक्ता प्रकाशशरण महतले सरकारले सहकारी ठगीको मूल समस्या छाडेर घटनालाई अन्यत्र मोड्ने हिसाबले मात्र समिति गठन गर्न खोजेको आरोप लगाउँदै सरकार छानबिन गर्न तयार नभएको भन्दै कांग्रेसले अवरोध जारी राख्ने बताए । 

Advertisement

उनले भने, ‘रविजी लगायत सहकारीका सबै विषयलाई समेटेर छानबिन हुनुपर्छ भन्ने माग हो । त्यसका लागि सत्तापक्ष तयार भएको छैन । छानबिनको कुरा गर्दा सहकारीको कहाँ के समस्या छ ? हेर्ने, त्यस्तो छानबिन गर्ने भन्ने कुरा गरेर मूल विषयलाई डाइल्युट गर्ने कुरा आएकाले सहमति हुन सकेको छैन ।’

मुख्य विषय ओझेलमा पारेर हुने छानबिन आफूहरुलाई स्वीकार्य नहुने उनले बताए । बिहीबार प्रतिनिधिसभाको बैठक अपरान्ह ४ बजे बोलाइएको छ । प्रतिनिधिसभा बैठकअघि बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा कांग्रेसका शीर्ष नेताबीच छलफल भएको थियो ।

छलफलमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, राष्ट्रियसभा संसदीय दलका नेता कृष्ण सिटौला, सहमहामन्त्री जीवन परियार, प्रवक्ता प्रकाशशरण महत, संसदीय दलका प्रमुख सचेतक रमेश लेखकलगायत सहभागी थिए ।

यता, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी प्रकरणमा आफ्ना सभापति एवं गृहमन्त्रीमाथि संसदीय छानविन समिति बने नैतिकताका आधारमा सरकारमा बस्न नमिल्ने संकेत गरेको छ । 

कांग्रेसले लामिछानेमाथि लगाएको आरोप राजनीतिक उद्देश्यप्रेरित, आधारहीन रहेको भन्दै आएको सो पार्टीको छलफलमा सशर्त संसदीय समिति गठन गर्नेदेखि सरकार नै छाड्नेसम्मका विषय उठेको नेताहरु बताउँछन् ।

संसदको आजको बैठक ४ बजे बोलाइए पनि अपरान्ह ५ः३० सम्म सुरु हुन सकेको छैन् । लामिछानेले आज केन्द्रीय सदस्यहरुसँग संसदको अवरोधबारे छलफल गर्दै छानविन समिति बनेको अवस्थामा सरकारमा बसिरहँदा नैतिक प्रश्न उठ्ने संकेत गरेका थिए ।   

Advertisement