कांग्रेस अडानबाट पछि हट्यो, लामिछानेको नभई समग्र सहकारी ठगीको छानविन समिति बन्ने

Advertisement

काठमाडौं । सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन हुनुपर्ने भन्दै लामो समयदेखि संसद अवरोध गर्दै आएको नेपाली कांग्रेस अन्ततः अडानबाट पछि हटेको छ । 

सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच सहकारी ठगीका विषयमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भएको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन र कांग्रेसका नेताहरुबीचको छलफलमा संसदीय समिति गठनका विषयमा समाधान धारणा बनेको कांग्रेस नेता रमेश लेखकले बताए ।

Advertisement

उनले भने, ‘संसदीय छानबिन समिति बनाएर जाने विषयमा समान धारणा छ, समितिको कार्यादेश के हुने भन्ने विषयमा भोलि विहानदेखि काम हुन्छ ।’

समितिको कार्यादेश बनाउन नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि रहेको एक समिति बनाइएको छ । जसलाई कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले संयोजक गर्नेछन् । उक्त समितिमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल रहेका छन् । 

सहकारीको बचत रकम अपचलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने संलग्न भएको घटना सार्वजनिक भएको भन्दै कांग्रेसले यस विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको थियो । तर सरकार र सत्ता गठबन्धनले भने यसलाई अस्वीकार गर्दै आएका थिए ।

Advertisement