किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

Advertisement

काठमाडौँ । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार त्यहाँ भएको हिंसात्मक आक्रमणको सन्दर्भमा सरकारले त्यस्तो आग्रह गरेको हो ।

पाकिस्तानस्थित नेपाली राजदूतावासका अनुसार त्यहाँ रहेका सबै नेपाली सकुशल छन् । उक्त राजदूतावासले शनिबार एक सूचना जारी गरी “किर्गीस्तानको बिस्केकमा पछिल्ला केही दिनमा भएका घटनाका सन्दर्भमा करिब दुई सय ८० को सङ्ख्यामा खासगरी बिस्केक र वरपर रहनुभएका नेपाली हाल सकुशल रहनुभएको र स्थिति सामान्य नहुञ्जेलसम्म निवास÷घर बाहिर ननिस्कन आग्रह छ”, भनेको छ ।

Advertisement

दूतावासले कुनै किसिमको समस्या परेमा उक्त देशमा रहेका स्थानीय नेपालीसँग वा इस्लामावादस्थित दूतावासको प्रत्यक्ष सम्पर्कमा रहन अनुरोध पनि गरेको छ । साथै दूतावासले कुनै जानकारी, सल्लाह वा सहयोग आवश्यक परेमा राजदूतावासको फोन नं +92512610321 (ह्वाट्सयाप समेत) र इमेल [email protected] मा सम्पर्क गर्न सकिने जनाएको छ ।

बिस्केकमा चिकित्साशास्त्र अध्ययन गरिरहेका भारत, बङ्गलादेश, पाकिस्तानलगायत मुलुकका विद्यार्थी रहेका छात्राबासमा आक्रमण भएपछि दूतावासले उक्त आग्रह गरेको हो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार हाल बिस्केकको अवस्था सामान्य छ । त्यहाँको परराष्ट्र मन्त्रालयले बिस्केकको स्थिति नियन्त्रणमा रहेको जनाउँदै झुटा समाचार सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न सम्बद्ध सबैमा आग्रह गरेको छ । छात्राबासमा भएको आक्रमणमा १५ जना विद्यार्थीलाई चोट लागेको र उनीहरूको उपचार भएको जनाएको छ ।

पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै
लिस्वन (पोर्चुगल) । शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६८औँ जन्मजयन्ती यहाँ विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइने भएको छ ।

लिस्वनस्थित नेपालको अवैतनिक वाणिज्यदूतावासको आयोजना तथा गैरआवासीय नेपाली सङ्गठनका साथै यहाँ क्रियाशील नेपाली सङ्घसंस्थाको सक्रियतामा आगामी बिहीबार विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाउन लागिएको हो ।

भगवान् गौतमबुद्ध र बुद्धजन्मस्थलको प्रचारप्रसार गर्ने उद्देश्यले साथ विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाउने तयारी भएको २५६८औँ बुद्धजयन्ती मूल आयोजक समितिका संयोजक एवं पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालले जानकारी दिए । 

बुद्धजयन्तीका अवसरमा राजधानी लिस्वनमा बृहत् शोभायात्रा, बुद्धको विशेष पूजाआराधना गरिनेछ । बुद्धका तस्वीर, प्लेकार्ड, बुद्ध उपदेश लिखित ब्यानर, नेपालको राष्ट्रिय झण्डा र सांस्कृतिक झाँकी सहितको शोभायात्राले राजधानीका मुख्य पर्यटकीय क्षेत्रको परिक्रमा गर्ने उहाँले बताउनुभयो । शोभायात्रामा पोर्चुगलवासी नेपाली, बौद्ध धर्मगुरु, लामा, स्वदेशी तथा विदेशी बौद्ध अनुयायी सहभागी हुने छन् ।  

Advertisement

Advertisement