अनुमतिबिना सामाजिक सञ्जालमा विज्ञापन गर्नेहरुलाई विज्ञापन बोर्डको तीन दिने अल्टिमेटम

Advertisement

काठमाडौं । विज्ञापन बोर्डले विना अनुमति सामाजिक सञ्जालमा विज्ञापन गरी उपभोक्ता ठगी गर्नेहरुलाई तीन दिनभित्र अनुमति लिएर मात्रै विज्ञापन गर्न अल्टिमेटम दिएको छ । बोर्ड विज्ञापन क्षेत्रको नियामक संस्था हो । 

बोर्डले तीन दिनभित्र अनुमति नलिएमा कानुनबमोजिम कारवाही गर्ने बताएको छ । समाजिक सञ्जाललगायत विभिन्न माध्यममा विभिन्न प्रकार र नामका चिया, तेल, स्याफु, औषधि जस्ता वस्तुले विभिन्न खालका रोग निको पार्ने तथा सुनसुकै स्वास्थ्य समस्या पनि समाधान गर्ने भन्दै चर्को मूल्य राखी बिक्रीबितरणका लागि भ्रमपूर्ण विज्ञापन प्रकाशन र प्रसारण गरेको अनुगमनका क्रममा पाइएको बोर्डको विज्ञप्तिमा उल्लेख छ । 

Advertisement

साथै, बोर्डले तीन विज्ञापनमा वस्तु तथा सेवा उत्पादन गर्ने व्यक्ति र कम्पनीको नाम समेत उल्लेख भएको नपाइएको, त्यस्ता विज्ञापनका विषयमा उजुरी समेत प्राप्त भएको जनाएको छ । बोर्डबाट श्रव्य, दृश्य तथा श्रव्यदृश्य विज्ञापन सामग्री प्रसारण गर्नुपूर्व परीक्षण गर्नुपूर्व परीक्षण गराएर मात्र प्रसारण गर्नुपर्ने व्यवस्था विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा १५ ख र विज्ञापन (नियमन गर्ने) नियमावली २०७७ को दफा ५ भएको साथै विज्ञापन गर्दा विज्ञापनकर्ताको नाम र ठेगाना स्पष्टरुपले उल्लेख हुनुपर्ने व्यवस्था ऐनको दफा ९ मा रहेको छ । 

सो व्यवस्थाविपरित प्रसारण भएका त्यस्ता विज्ञापन तत्काल रोकी तीन दिनभित्र अनुमति लिएर मात्रै विज्ञापन गर्न बोर्डले निर्देशन दिएको छ । अनुमतिबेगर विज्ञापन निरन्तर प्रसारण गरेमा कानुनबमोजिम कारवाही प्रक्रिया अघि बढाइने बोर्डले स्पष्ट पारेको छ । 
 

Advertisement

Advertisement