काँग्रेसलाई लल्कार्दै गृहमन्त्रीको सदनमा जवाफ, गगनले त्रिचन्द्रमा गरेको भ्रष्टाचार पनि कोट्याए

Advertisement

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई लल्कादै आफूमाथि सहकारी गठीको आरोपबारे आइतबार संसदमा जवाफ दिएका छन् । 

उनले आफूले बेलैमा संसदमा बोल्न पाएको भए यस सम्बन्धि विषय यति धेरै चर्केर जाने अवस्था आउने थिएन भन्दै कांग्रेस नेताहरुले गरेका भ्रष्टाचार, उनीहरु जोडिएका प्रकरणहरु समेत कोट्याए । 

Advertisement

लामिछानेले आफू संसदीय छानविन समिति बनाउने कुराको विपक्षमा कहिल्यै पनि नरहेको जिकिर पनि गरे । उनले भने, ‘म स्पष्ट पार्न चाहन्छु–हिजो पनि दलहरुको बैठक बसेर, दलहरुको छलफल भए एउटा सहमतीमा पुगिएको थियो । दलका प्रमुख नेताहरु बसेर भएको सहमती थियो । तर प्रमुख प्रतिपक्ष हिजो भएको सहमतीबाट आज कता कता विमुख भएजस्तो मलाई लागेको छ । हामीेले कहिल्यै पनि संसदीय समिति बन्न हुँदैन, बनाउन हुँदैन भनेर भनेका पनि छैनौं । मात्र यति भनेका थियौं कि एक पटक आफूमाथि लागेको आरोपहरु बारे बोल्न पाउँ । ती आरोपहरु जो प्रहरीमा उजुरीमा छैन । अदादतमा पेश भएको छैन । मात्र ती उजुरीहरु पत्रिका हेडलाईन बन्न सफल भएका छन् । के यो सदन पत्रिकाको हेडलाईनमा उफ्रिने सदनको रुपमा स्थापित गर्न हामी तयार रहेका हौं ? फेरि पनि भन्छु सभामुख महोदय, व्यक्ति केन्द्रीत गरेर जाने हो भने कुरो धेरै अघि बढ्न सक्छ ।’ 

लामिछानेले थपे, ‘व्यक्ति केन्द्रीत भएर जाँदाखेरी भोलिसम्म पत्रपत्रिकामा आएर हरेक समाचारको छानविन समिति बनाउने नजिर यो संसदले बनाउन चाहन्छ भने सरकारले जति नै पुरानो भएपनि फाईल खोल्ने भनेर न्यूनतम साझा कार्यक्रममा नै छ । म त तयार छु । शुरुवात मबाट गर्नुहोस् । मैले अहिले उल्लेख गरेकोहरु सबैको फाईल खोलौं । समिति बनाउ, म तयार छु । तर हामीले कस्तो संसदीय मर्यादा लिएर जाने भन्ने कुराको तय पनि यो संसदले गरोस् । अब मलाई केही भन्नु छैन । म यतिकुरा मात्रै थप्न चाहन्छु–जसरी सहकारीका विषयमा कुराकानी उठिरहेको छ । ती सहकारीको विषयमा अदालतमा कहीँकतै मुद्दा छैन । मैले बारम्बार भन्दै आएको छु । कोही प्रतिवादी छैन । कसैको बयानले मलाई बोलेको छैन । केही ज्ञापनपत्र हरु पनि आएका छन् । त्यसको पनि मेरो नाम उल्लेख छैन । मैले अन्याय पर्दा मेरो बारेमा सूचना माग्न काही नकाही जानै पर्ने थियो । व्यक्तिका रुपमा न्याय खोज्न ज्यादा मैले महान्यायाधिवक्ताको कार्यालयलाई पत्र लेखेँ । उसले मलाई कहीँकतै मुद्दा नभएको, अभियोग नभएको पत्र दियो ।’

उनले आफूले सहकारी ठगी गरिएको भनि आएको समाचारमा कुनै सत्यता नरहेको पनि पटकपटक दोहोर्याए । न्यायको खोजीमा  महान्यायाधिवक्ताको कार्यालयलाई पत्र लेख्नुपरेको उनले बताए । 

लामिछानेले महान्यायाधिवक्ताको कार्यालयले पनि आफूलाई निर्दोष नै देखेर आफूमाथि सो सम्बन्धि कुनै मुद्दा, माफिमा नभएको जानकारी गराएको दाबी गरे । 

Advertisement