नगरकोट काण्डः मिश्र र ढकालमाथि स्पष्टीकरण, थप कारवाहीको तयारी

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकको गत पुस २७ गते साँझ नगरकोटस्थित मिस्टिक माउन्टेन रिसोर्टमा आयोजित ‘स्ट्रेस म्यानेजमेन्ट’ कार्यक्रममा भएको घटनामा राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र र देवकुमार ढकाल पनि तानिएका छन् । 

उक्त दिन डेपुटी गभर्नर डा. नीलम ढुंगानामाथि भएको अभद्र व्यवहारमा संलग्न रहेको आरोपमा राष्ट्र बैंकले उनीहरुसँग स्पष्टीकरण सोधेको छ । राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय महिला आयोगले चासो देखाएपछि राष्ट्र बैंकले स्पष्टीकरण सोेधेको हो । यसै काण्डमा मुछिएका राष्ट्र बैंकको टक्सार विभागका तत्कालिन प्रमुख थानेश्वर आचार्य यसअघि नै जागिरबाट निलम्बित भइसकेका छन् । रक्सीको नशामा आफूमाथि दुर्व्यवहार गर्ने आचार्यमाथि कारवाही भए पनि आचार्यलाई उक्साउने मिश्र र ढकाललाई कारवाही नभई संरक्षणको प्रयास भएको भन्दै डा. ढुंगानाले आवाज उठाएपछि गभर्नर महाप्रसाद अधिकारीलाई दबाब परेको हो । 
 
राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय महिला आयोगमा पहिलो चोटी गत माघ २९ मा उनले उजुरी दिएकी थिइन् । त्यसपछि ती आयोगले घटनाका सम्वन्धमा चासो राखेपछि राष्ट्र बैंकले डेपुटी गभर्नर ढुंगानामाथि दुर्व्यवहार गर्न अघि सर्ने पात्र थानेश्वर आचार्यलाई छानविनका आधारमा कारवाही गरिसकेको जानकारी दिएको थियो । 

Advertisement

तर मिश्र र ढकालको प्रतिवेदनमा नाम नभएकाले उनीहरुका बारेमा केही गर्नुनपर्ने भन्ने आशयको जवाफ राष्ट्र बैंकले दिएको स्रोतको भनाई छ । नगरकोट काण्ड बाहिरिएपछि राष्ट्र बैंकको मानव संशाधन विभागका तत्कालिन प्रमुख मुकुन्द क्षेत्रीको नेतृत्वमा छानविन समिति बनेको थियो । सोही समितिको प्रतिवेदनका आधारमा आचार्य जागिरबाट निलम्बित भइसकेका छन् । 

तर नगरकोट काण्डमा सबै दोषीमाथि कारवाही नभएको भन्दै डेपुटी गभर्नर ढुंगानाले आयोगमा पुनः वैशाख २१ गते अर्को उजुरी दिएकी थिइन् । उजुरीमा उनले आफूमाथिको दुर्व्यवहार गर्ने थानेश्वर आचार्यलाई मात्रै कारवाही गरेर नपुग्ने भन्दै आचार्यलाई उक्साउने, दुर्व्यवहारको भिडियो र तस्वीर पत्रकारलाई दिएर चरित्र हत्या गर्न लगाउने मिश्र र ढकाललाई पनि कडा कारवाही हुनुपर्ने माग गरेकी छन् । मानवअधिकार तथा महिला आयोगले पनि पीडितको उजुरीसहितको सबै छानविन प्रतिवेदन बुझाउन निर्देशन दिएपछि राष्ट्र बैंक थप दबाबमा परेको छ । 

दबाब बढ्दै गएपछि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको निर्देशनमा राष्ट्र बैंकको मानव संशाधन विभागका कार्यकारी निर्देशक नरेश शाक्यले मिश्र र ढकाललाई स्पष्टीकरण सोधेका छन् । दबाब बढ्दै गएपछि स्पष्टीकरण सोध्नुअघि नै गएको वैशाख २५ गते ढकाललाई वित्त व्यवस्थापन विभागमा सरुवा गरिएको थियो । पाँच बर्षदेखि राष्ट्र बैंकको प्रभावशाली नियमन र सुपरीवेक्षण विभागमा बिताएका उनी जागिरको उत्तरार्धमा विभागीय कारवाहीमा परेका हुन् । 

स्पष्टीकरणका आधारमा मिश्र र ढकाललाई महिला सहकर्मीमाथिको दुर्व्यवहारको आरोपमा थप के कस्तो कारवाही हुने ? पछि निक्र्योल हुने स्रोतको भनाई छ । राष्ट्र बैंकमा डा. ढुंगाना र मिश्रको समूहबीच पहिलादेखि तिक्ततापूर्ण सम्वन्ध रहँदै आएको थियो । नगरकोट काण्ड प्रतिउत्पादक भएपछि यसबाट जोगिन मिश्र, ढकाल, आचार्यले प्रयास गरे पनि विषय संवेदनशील भएकाले उनीहरु आफै समस्यामा परेका छन् । उजुरीमा ढुंगानाले दुर्व्यवहारको घटना लुकाउन धम्क्याउने र प्रलोभनको प्रयास भएको पनि संकेत गरेकी छन् । यस घटनाले राष्ट्र बैंक र समग्र बैंकिङ क्षेत्रलाई नै तरंगित बनाउने काम गरेको छ । 

Advertisement

Advertisement