कांग्रेसले चर्को मूल्य चुकाउनुपर्ने दाहालको चेतावनी

कम्युनिष्ट गठवन्धनले प्रमुख प्रतिपक्षलाई पेलेरै संसद चलायो, कांग्रेस निरीह

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिलाउने काम सभामुख देवराज घिमिरेले गरेका छन् । 

विश्वासको मत लिने प्रयोजनका लागि दाहाललाई सुरक्षाकर्मी लगाएर रोष्टममा पुर्याइएको थियो । उनले कांग्रेससँग पनि विश्वासको मत मागेका छन् । नेकपा एमालेका नेता बिष्णु पौडेलको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले कांग्रेसले इतिहासमै ठूलो गल्ती गरेको भन्दै यसको ठूलो मूल्य उसले चुकाउनुपर्ने चेतावनी दिए । 

Advertisement

गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै आएको काँग्रेसले आज बोल्नका लागि समय माग गरे पनि सभामुख घिमिरेले आज विश्वासको मत लिने दिन भन्दै शुन्य समय र विशेष समय नरहेको बताएका थिए । त्यसपछि कांग्रेसले बेल घेराउ गरिरहेकै अवस्थामा सुरक्षाकर्मीको सहायताले रोष्ट्रम पुगेका प्रधानमन्त्रीले विश्वासको मत मागेका हुन्।

उनले भने, ‘प्रतिपक्षका साथीहरूलाई मेरो आग्रह छ, हामी सबैको गन्तव्य राष्ट्रनिर्माण नै भएकाले यही गन्तव्यका लागि विश्वासको मत दिनुस् ।’

विश्वासको मत माग्दै प्रधानमन्त्री दाहालले सरकारको रिपोर्ट कार्ड प्रस्तुत गरेका थिए । उनले भुटानी शरणार्थी, ललिता निवास, बाँसवारी, बाल मन्दिर, सुनकाण्ड लगायतका प्रकरणमा सरकारको निर्भिक र निष्पक्ष कारवाहीले जनतामा लोकतन्त्र र त्यसको शक्तिप्रति ठूलो भरोसा जागेको बताए ।

सरकारले सबैजसो मोर्चामा सार्थक उपलब्धि र गौरव हासिल गर्दागर्दै पनि जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख गर्दै दाहालले फेरि देशमा देखिएको चुनौतीलाई सम्बोधन गर्न सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताए । 

यी सबै घटनाक्रम भइरहँदा कांग्रेस भने निरीह बनेको थियो । हिंसात्मक आन्दोलनमा रहेको माओवादीलाई शान्ति प्रक्रियामा आफूले ल्याएको र आफूले गर्दा नै गणतन्त्र आएको भन्दै गर्व गर्ने र पटक पटक उसैसँग सत्ता साझेदारी गर्दै आएका कांग्रेस अहिले कम्युनिष्टको पेलाईमा परेको छ । 

Advertisement

Advertisement