सभामुखको कुर्सीमा पार्टीको कार्यकर्ता देखियोः ज्ञानेन्द्र शाही

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सभामुख देवराज घिमिरे सभामुखको रुपमा नभई पार्टीको कार्यकर्ताको रुपमा प्रश्तुत भएको बताएका छन् । 

सोमवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले सभामुखको रुपमा भूमिका निर्वाह नगरेको बताए । सभामुखलाई सभामुखको रुपमा कुर्सीमा बसेको नदेखेर पार्टीको कार्यकर्ताको रुपमा कुुर्सीमा देखेको शाहीको टिप्पणी छ । 

Advertisement

उनले सभामुखलाई सभामुख हो वा अमुक पार्टीको कार्यकर्ता हो ? भनि प्रश्न समेत गरे । शाहीले बैठकमा प्रमुख प्रतिपक्ष दल लगायतका अन्य प्रतिपक्ष दलहरुले अवरोध गर्दागर्दै प्रधानमन्त्रीले विश्वासको मत लिनुले पनि सभामुखको भूमिकाप्रति प्रश्न उठेको बताए । 

उनले भने, ‘आज हामीले सभामुख देखेनौँ । कुर्सिमा बसेको मान्छे देख्यौँ । तर कुन पार्टीको कार्यकर्ता देख्यौँ । सभामुखले आज ठूलो गल्ती के गर्नु भएको छ भने, संसदमा उपस्थित भएको संख्याको पनि गलत टिप्पणी सार्वजनिक गर्नुभएको छ । संसदमा नेपालको इतिहासमा नै पहिलोपल्ट होला कि संसदमा यसरी प्रमुख प्रतिपक्ष लगायत अन्य प्रतिपक्षले हामीले आजको विश्वासको मत मान्दैनौँ भन्दैगर्दा सभाबाट जर्बजस्ती गरेको ।’ 

शाहीले थपे, ‘अर्को कुरा मर्यादापालक कहाँ बस्ने हो ? मर्यादापालकले सभामुखलाई रक्षा गर्ने हो कि ? सांसदलाई रक्षा गर्ने हो ? वा सत्तापक्षका प्रधानमन्त्री र मन्त्रीलाई रक्षा गर्ने हो ? हाम्रो नियमावलीमा स्पष्ट के छ भने कुनैपनि मन्त्रीपटी, कुनैपनि मान्छेपटी अगाडि फर्केर मर्यादापालकहरु बस्न मिल्दैन भन्ने हाम्रो नियमावलीमा स्पष्ट लेखेको छ । तर आज प्रधानमन्त्री र मन्त्रीहरुलाई मर्यादापालकले घेरेर राख्नुपर्ने जुन अवस्था भयो त्यो भएको हुनाले आज हामीले के देख्यौँ भने सभामुख देखेनौँ । एउटा पार्टीको कार्यकर्ता त्यहाँ बसेको देख्यौँ । सभामुखज्यूलाई भन्छु तपाइँ सभामुख हो कि अमुक पार्टीको कार्यकर्ता हो ? यो प्रश्नचिन्ह खडा भएको छ । जबकि हाम्रो उपस्थितिलाई त्यहाँ गणना गरिएको छैन । यसरी पनि गर्न मिल्छ ? यो कहाँको न्याय हो ? प्रधानमन्त्रीले विश्वासको मत लिन अझै २२ दिन बाँकी छ नि त । विश्वासको मत भोलि, पर्सि लिएको भएपनि हुन्छ । सभामुखले निष्पक्षताको भूमिका खेल्नु भएन । अहिले हाम्रो प्रतिपक्ष दलहरुको बैठक पनि भर्खरै सकिएको छ । हामी सबैको निर्णय के छ भने, सभामुख सभामुख जस्तो रहनु भएन ।’  

Advertisement