इरानमा राष्ट्रपतिको निधनमा पाँच दिन राष्ट्रिय शोकको घोषणा

Advertisement

तेहरान । इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार दिउँसो हेलिकप्टर दुर्घटनामा निधन भएपछि देशका सर्वोच्च नेता आयातोल्लाह सेयद अली खामेनीले इरानमा पाँच दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन् । 

उनले इरानी राष्ट्रले यस दुःखद घटनामा एक इमान्दार र मूल्यवान सेवक गुमाएको बताए । संविधानको धारा १३१ बमोजिम उपराष्ट्रपति मोहम्मद मोख्बेरले सरकारको जिम्मेवारी सम्हाल्ने भएका छन् । 
        
आयातोल्लाह खामेनीले मोख्बरलाई सरकारका तीन शाखाका अन्य दुई प्रमुखहरूसँगको सहकार्यमा अधिकतम ५० दिनभित्र नयाँ राष्ट्रपति चयन गर्ने व्यवस्था गर्न आग्रह गरेका छन् । 
         
यसैबीच, होसेन अमिर–अब्दुल्लाहियानको दुर्घटनामा निधन भएपछि अली बगेरी कानीलाई इरानको कार्यवाहक विदेशमन्त्रीमा नियुक्त गरिएको छ । उनले सेप्टेम्बर २०२१ देखि उपविदेशमन्त्रीका रूपमा काम गरेका छन् । 

Advertisement

समाचार संस्था अल जजिराका अनुसार कानी सन् २००७ देखि २०१३ सम्म इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का उपसचिवसमेत रहेका थिए । 
        
इरानको सरकारी सञ्चारमाध्यमले आज ६३ वर्षीय रायसी, विदेशमन्त्री होसेन अमिर–अब्दुल्लाहियान र अन्य सात जनाको देशको पूर्वी अजरबैजान प्रान्तको पहाडी क्षेत्रमा आइतबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएको पुष्टि गरेको छ । उक्त दुर्घटनाको इरानी राज्य मिडिया आइआरएनएले हेलिकप्टरको भग्नावशेष देखाउँदै रेड क्रिसेन्टले ड्रोन फुटेज साझा गरेको थियो । 
        
रायसी, विदेशमन्त्री अमिर–अब्दुल्लाहियान र उनीसँगैको प्रतिनिधिमण्डल बोकेको हेलिकप्टर आइतबार पूर्वी अजरबैजान प्रान्तको वर्जाकन र जोल्फा सहरको बीचमा रहेको डिज्मार जंगलमा दुर्घटनाग्रस्त भएको थियो । 
        
इरानी राष्ट्रपति अजरबैजानको भ्रमण सकेर फर्कंदै गर्दा खराब मौसमका कारण उनी सवार हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो ।

Advertisement

Advertisement