बैंकिङ क्षेत्रमा निक्षेप थुप्रिँदा तीन बैंकमा भने तरलता संकुचन, निक्षेप संकलनमा कुन अगाडि ?

Advertisement

काठमाडौं । बैकिङ क्षेत्रमा निक्षेप उच्च मात्रामा बढ्दा पनि तीन ठूला बाणिज्य बैंकले भने भएकै निक्षेप बचाउन नसकेको देखिएको छ । 

चालु आर्थिक बर्ष २०८०–८१ को १० महिनामा माछापुच्छ्रे, प्रभु र स्ट्यान्डर्ड चार्टर्ड बैंकको निक्षेप घटेको हो । नेपाल बैंकर्स संघबाट प्राप्त बैशाख मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । 

Advertisement

गत आवको अन्तिम महिना अर्थात् २०८० असार मसान्तको तुलनामा उक्त तीन बैंकको निक्षेप घटेको छ । समीक्षा अवधीमा प्रभु बैंकको निक्षेप १६ अर्ब नौ करोड रुपियाँले घटेको छ । 

असार मसान्तसम्म प्रभु बैंकमा दुई खर्ब ९५ अर्ब ९४ करोड रुपियाँ निक्षेप थियो । बैशाखसम्म आउँदा त्यो दुई खर्ब ७९ अर्ब ८५ करोड रुपियाँमा सीमित भएको छ । 

यसैगरि, स्ट्यान्डर्ड चार्टर्ड बैंकको निक्षेप आठ अर्ब २५ करोड रुपियाँले घटेको छ । गत असार मसान्तसम्म उक्त बैंकसँग एक खर्ब २२ अर्ब ४९ करोड रुपियाँ निक्षेप थियो । बैशाख मसान्तसम्म आउँदा उक्त बैंकको निक्षेप एक खर्ब १४ अर्ब २४ करोड रुपियाँमा सीमित भएको छ ।

यसैगरि माछापुच्छ्रे बैंकको निक्षेप छ अर्ब नौ करोड रुपियाँले घटेको छ । गत असारसम्म माछापुच्छ्रे बैंकसँग एक खर्ब ५८ अर्ब २८ करोड रुपियाँ निक्षेप थियो । बैशाखसम्म आउँदा त्यो एक खर्ब ५२ अर्ब १९ करोड रुपियाँमा सीमित भएको छ । 

बाणिज्य बैंकले मात्रै बढायो ६५ अर्ब निक्षेप, यी हुन धेरै निक्षेप बढाउने बैंकः
समीक्षा अवधीमा सरकारी स्वामित्वको बाणिज्य बैंकले मात्रै ६५ अर्ब नौ करोड रुपियाँ निक्षेप बढाएको छ । गत असारसम्म बाणिज्य बैंकसँग तीन खर्ब २२ अर्ब रुपियाँ निक्षेप थियो । बैंशाखसम्म आउँदा त्यो तीन खर्ब ८८ अर्ब ७ करोड रुपियाँ पुगेको छ । 

निक्षेप बढाउने मामिलामा दोस्रो नम्बरमा नविल बैंक देखिएको छ । समीक्षा अवधीमा उक्त बैंकले ५१ अर्ब ७१ करोड रुपियाँ निक्षेप बढाएको छ । गत असारसम्म उक्त बैँकसँग चार खर्ब दुई अर्ब ६४ करोड रुपियाँ निक्षेप थियो । बैशाख मसान्तसम्म आउँदा त्यो चार खर्ब ५४ अर्ब ३५ करोड रुपियाँ पुगेको छ । 

यसैगरि तेस्रो नम्बरमा रहेको ग्लोबल आईएमई बैंकले ३८ अर्ब ४९ करोड रुपयाँ निक्षेप बढाएको छ । गत असारसम्म उक्त बैंकको निक्षेप चार खर्ब ७७ अर्ब ८४ करोड रुपियाँ पुगेको देखिन्छ । कुल निक्षेपको आधारमा ग्लोबल आईएमई बैंकमा सबै भन्दा धेरै निक्षेप छ ।

समीक्षा अवधीमा २० बाणिज्य बैंकको निक्षेप कुल तीन खर्ब ८२ अर्ब १६ करोड रुपियाँले बढेको छ । गत असारसम्म बाणिज्य बैंकहरुमा ५० खर्ब ८५ अर्ब ९५ करोड रुपियाँ निक्षेप थियो । बैशाखसम्म आउँदा त्यो ५४ खर्ब ६८ अर्ब ११ करोड पुगेको छ । 

यसरी समग्र बैंकिङ क्षेत्रमा उच्च मात्रामा निक्षेप बढ्दा माछापुच्छ्रे, प्रभु र स्ट्यान्डर्ड चार्टर्ड बैंकले भएकै निक्षेप पनि जोगाउन नसकेको तथ्यांकले पुष्टी गरेको छ । बढ्दो रेमिट्यान्स लगायतका कारण, उच्च व्याजदर लगायतका पछिल्लो समय बैंकहरुमा निक्षेप बढेको छ । तर, आर्थिक शिथिलताका कारण कर्जाको माग नहुँदा बैंकहरुमा कर्जा लगानीयोग्य रकम पनि थुप्रिएको छ ।

Advertisement

Advertisement