असारभित्रै ग्राहकको केवाईसी अपडेट गर्नुपर्ने

शंकास्पद कारोबार पत्ता लगाउन बीमा कम्पनीहरुले अब छुट्टै संयन्त्र बनाउनुपर्ने

Advertisement

काठमाडौं ।​  बीमा कम्पनीहरुले आफ्नो कम्पनीमा हुनसक्ने शंकास्पद कारोबार तथा गतिविधिको पहिचान गर्न छुट्टै सूचक तयार गर्नुपर्ने भएको छ । 

नेपाल बीमा प्राधिकरणले ‘सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०८१’ जारी गर्दै यस्तो निर्देशन दिएको हो । 

Advertisement

त्यो सूचक समय–समयमा अद्यावधिक समेत गर्नुपर्ने प्राधिकरणको निर्देशन छ । निर्देशनअनुसार अब बीमा कम्पनीहरुले शंकास्पद कारोबारको प्रतिवेदन तयार गरेर प्राधिकरणमा पेश गर्नुपर्नेछ ।

कम्पनीले शंकास्पद कारोबार सम्बन्धी जाँचबुझ गरी तत्काल वित्तीय जानकारी इकाईको गोएमएल सफ्टवेयरमा विवरण प्रविष्ट गर्नु पर्नेछ । त्यस्तो प्रतिवेदन तयार गर्दा इकाईले जारी गरेको मापदण्डलाई समेत आधार लिनुपर्नै प्राधिकरणको निर्देशन छ । 

कुनै अनुसन्धान गर्ने निकायले कुनै व्यक्ति वा संस्थाको विवरण वा सूचना माग गरेको अवस्थामा शंकास्पद देखिने नयाँ तथ्य प्राप्त गरेमा पनि इकाईलाई अतिरिक्त सूचनाको रुपमा जानकारी गराउनुपर्ने पनि निर्देशनमा उल्लेख छ । सोहीअनुसार ग्राहक पहिचान वा सम्पुष्टि अध्यावधिक गर्ने पनि प्राधिकरणको निर्देशन छ ।

बीमा क्षेत्रमा हुनसक्ने सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापलाई न्यूनीकरण गर्न प्राधिकरणले यस्तो निर्देशन जारी गरेको हो । यसअघि २०७५ मा जारी गरिएको यसै सम्बन्धी निर्देशन खारेज गरेर नयाँ निर्देशन जारी गरिएको हो । 

निर्देशनअनुसार यस्ता गतिविधि न्यूनीकरण गर्न कम्पनीहरुले आन्तरिक नीति तथा कार्यविधि पनि बनाउनपर्नेछ । त्यसमा कर्मचारीको आन्तरिक जिम्मेवारी तथा कार्य विभाजन, जोखिम मूल्याङ्कन प्रणालीको आधार तथा पद्वति, जोखिममा आधारित ग्राहक पहिचान, अद्यावधिक तथा अनुगमन प्रणाली, अस्वभाविक तथा शंकास्पद कारोबारको पहिचान गर्ने पद्धति र सोको आधार  र सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण नियमावलीमा उल्लेख भएबमोजिमका दायित्व पूरा गर्ने प्रभावकारी पद्धति लगायतलाई समावेश गर्नुपर्ने बताइएको छ । 

उच्च पदस्थ व्यक्तिको विशेष रुपमा विवरण संकलन गर्नुपर्ने
प्राधिकरणले उच्च पदस्थ व्यक्तिहरुको बिशेष रुपमा सुचना संकलन गर्न निर्देशन पनि दिएको छ । त्यसका लागि विभिन्न उपायहरु अवलम्बन गर्न पनि प्राधिकरणले बाटो खुला गरेको छ । 
स्वयम व्यक्ति अर्थात् ग्राहकबाट सूचना लिन पनि सकिने निर्देशनमा उल्लेख छ । यो बाहेक सार्वजनिक रुपमा उपलब्ध सूचना, सामाजिक सञ्जालमा उपलब्ध सूचनाहरु, प्रचलित कानून बमोजिम कुनै निकायमा राखिएको कुनै अभिलेख, व्यवसायिक रूपमा उपलब्ध तथ्याङ्क (डाटाबेस) लगायतका आधारमा जानकारी लिन सकिने निर्देशनमा उल्लेख छ । 

यसैगरि बीमक आफैले आधिकारीक स्रोतबाट तयार गरेको उच्च पदस्थ व्यक्तिको सूची रुजु गर्नुपर्ने बताइएको छ । कम्पनीले उच्च पदस्थ व्यक्ति वा उसको परिवार सम्बद्ध व्यक्तिको सूचीको अभिलेख बीमा अवधि र बीमा अवधी सक्किएको ५ वर्षसम्म राख्नुपर्ने छ । निज व्यक्ति सेवाबाट अवकाश भएको मितिसम्म पनि राख्नुपर्ने बताइएको छ । 

यसैगरि, कम्पनीले बीमालेख जारी गर्दा, बीमालेख धितोमा ऋण प्रदान गर्दा, बीमालेख समर्पण गर्दा र दावी भुक्तानी गर्दा उच्च पदस्थ व्यक्ति पहिचान हुने संयन्त्र विकास गर्नुपर्ने पनि प्राधिकरणको निर्देशन छ । यस्तै, उच्च पदस्थ व्यक्तिको परिवार तथा सम्बद्ध व्यक्ति पहिचान हुने थप संयन्त्र, उच्च पदस्थ व्यक्तिको पदिय हैसियत र संलग्नता बमोजिमको जोखिम पहिचान हुने व्यवस्था पनि गर्नुपर्ने निर्देशनमा उल्लेख छ । 

बृहत रुपमा ग्राहक पहिचान गर्नुपर्ने 
कम्पनीहरुले बहृत रुपमा गाह्रकको पहिचान (केवाईसी अपडेट) गरेर राख्नुपर्ने पनि निर्देशनमा उल्लेख छ । विद्युतीय माध्यमबाट व्यवसायीक सम्बन्ध कायम गर्ने वा कारोबार गर्ने ग्राहक, उच्च जोखिम देखिएको ग्राहक, उच्च नेटवर्थ भएका ग्राहक, कुनै कसुरजन्य वा शंकास्पद कार्यमा संलग्न हुनसक्ने आधार देखिएका ग्राहक र नगदको बढी प्रयोग हुने व्यवसायमा संलग्न ग्राहकको बृहत रुपमा विवरण राख्नुपर्ने निर्देशनमा उल्लेख छ । 

कम्पनीहरुले उनीहरुको सम्पत्तिको स्रोत पहिचान गर्ने, कारोबारको उद्देश्यको जानकारी लिने, कारोबारको मात्रा प्रकृति र जोखिमको अवस्था अनुसार थप अनुगमन गर्ने र  बीमा बापतको कुनै प्रकारको भुक्तानी (समर्पण मूल्य तथा ऋण समेत) एकाउन्ट पेयी चेक वा विद्युतीय भुक्तानी प्रणाली मार्फत गर्नुपर्ने निर्देशनमा उल्लेख छ । 

कम्पनीले एकल बीमाशुल्क, ५० लाख रुपियाँभन्दा बढी बीमाङ्क भएको बीमालेख वा विदेशबाट बीमाशुल्क भुक्तानी हुने बीमालेख जारी गर्दा थप ध्यान दिनुपर्ने बताइएको छ । त्यसमा बीमितको आर्थिक क्षमता पुष्टि हुने र बीमितको पेशा व्यवसाय तथा कारोबार पुष्टि हुने आधिकारिक कागजात खोज्नुपर्ने निर्देशनमा उल्लेख छ । बीमाशुल्क भुक्तानी बैंक तथा वित्तीय संस्थाको खाताबाट गर्नुपर्ने पनि बताइएको छ । बीमितले एकल बीमालेख लिनु पर्ने कारण खुल्ने कागजात, बीमितको आर्थिक, प्रशासनिक तथा अपराधिक पृष्ठभूमी अनुसन्धान गर्न गराउन पाउने अधिकारपत्र पनि खोज्नुपर्ने बताइएको छ ।

यस्तै, कम्पनीले आवश्यकताअनुसार समय समयमा विद्यमान ग्राहक तथा वास्तविक धनीको पहिचान अपडेट गर्नुपर्ने पनि निर्देशनमा उल्लेख छ । उच्च जोखिम देखिएका ग्राहकको कम्तीमा बर्षमा एक पटक केवाईसी अपडेट गर्नूपर्नेछ । यसैगरि केवाईसी विवरण अनुरूप कारोबार मेल नखाएको अवस्थामा र केवाईसी पूरा नभएको अवस्थामा तत्काल अद्यावधिक गर्नुपर्ने बताइएको छ । निर्देशनअनुसार कम्पनीले पहिलो पटक विद्यमान ग्राहक तथा वास्तविक धनीको पहिचान तथा सम्पुष्टि अद्यावधिक गर्ने काम आगामी असार मसान्तभित्र सक्नुपर्नेछ । 

निर्देशनअनुसार कम्पनीले कुनै पदाधिकारी वा कर्मचारीले ग्राहकको बारेमा प्रत्यक्ष वा अप्रत्यक्ष वा अनौपचारिक रूपमा प्राप्त गरेको सूचनालाई विश्लेषण गरी ग्राहक पहिचान तथा अद्यावधिक गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

Advertisement