ऋण प्रवाहमा नविल बैंक आक्रामक, तर तीन बैंकको घट्यो कर्जा प्रवाह

Advertisement

काठमाडौं । कर्जाको माग सुस्ताएको भनिरहँदा ऋण प्रवाहमा नविल बैंक आक्रमक देखिएको छ । चालु आर्थिक बर्ष २०८०–८१ को १० महिनामा नविल बैंकले ४२ अर्ब २६ करोड रुपैयाँ कर्जा प्रवाह बढाएको छ । 

नेपाल बैंकर्स संघबाट प्राप्त बैशाख मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । कर्जा बक्यौताका आधारमा यस्तो आँकडा देखिएको हो । गत असार महिनामा नविल बैंकले कर्जा बक्यौता (आउटस्टान्डिङ) तीन खर्ब ४१ अर्ब ४३ करोड रुपियाँ कर्जा थियो । बैशाख मसान्तसम्म आउँदा त्यो तीन खर्ब ८३ अर्ब ६९ करोड रुपियाँ पुगेको छ । 

Advertisement

समीक्षा अवधीमा नविल बैंकले ५१ अर्ब ७१ करोड रुपियाँ निक्षेप बढाएको थियो । कर्जा प्रवाह बढाउने मामिलामा दोस्रो नम्बरमा प्राइम कर्मशियल बैंक देखिएको छ । उक्त बैंकले समिक्षा अवधीमा २७ अर्ब ५० करोड रुपियाँले कर्जा बढाएको छ । गत असारसम्म उक्त बैंकमा कर्जा बक्यौता १ खर्ब ६३ अर्ब ११ करोड रुपियाँ थियो । बैशाख मसान्तसम्म आउँदा त्यो १ खर्ब ९० अर्ब ६१ करोड रुपियाँ पुगेको छ ।

तेस्रो स्थानमा रहेको कृषि विकास बैंकले १६ अर्ब ७३ करोड रुपियाँले कर्जा प्रवाह बढाएको छ । असार मसान्तसम्म उक्त बैंकले एक खर्ब ८३ अर्ब १९ करोड रुपियाँ कर्जा प्रवाह गरेको थियो । बैशाख महिनासम्म आउँदा त्यो एक खर्ब ९९ अर्ब ९२ करोड रुपियाँ पुगेको छ । 

पछिल्लो समय आर्थिक शिथिलताका कारण बजारमा कर्जाको माग न्यून छ । बैंकहरुमा निक्षेप थुप्रिएको छ । त्यो अवस्थामा समेत यी बैंकहरुको कर्जा प्रवाह उच्च देखिएको छ । यस अवधीमा तीन बैंकको कर्जा बक्यौता भने घटेको छ । 

समीक्षा अवधीमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको कर्जा बक्यौता आठ अर्ब ५२ करोड रुपियाँले घटेको छ । गत असार मसान्तसम्म स्ट्यान्डर्ड चार्टर्ड बैंकको कर्जा बक्यौता ९५ अर्ब १ करोड रुपियाँ थियो । अहिले त्यो घटेर ८६ अर्ब ४९ करोड रुपियाँमा सिमित भएको छ । 

यसैगरि प्रभु बैंकको कर्जा प्रवाह चार अर्ब नौ करोड रुपियाँले घटेको छ । गत असारसम्म प्रभु बैंकको कर्जा प्रवाह दुई खर्ब ४२ अर्ब १० करोड रुपियाँ थियो । बैशाख मसान्तसम्म आउँदा त्यो दुई खर्ब ३८ अर्ब रुपियाँमा झरेको छ । 

यसैगरि लक्ष्मी सनराइजनको कर्जा प्रवाह एक अर्ब २९ करोड रुपियाँले घटेको छ । गत असारसम्म उक्त बैंकको कर्जा प्रवाह दुई खर्ब ५८ अर्ब पाँच करोड रुपियाँ थियो । अहिले त्यो घटेर दुई खर्ब ५६ अर्ब ७६ करोड रुपियाँमा सिमित देखिएको छ । 

बैंकहरुले पहिला प्रवाह गरेको ऋण नियमीत तालिकाअनुसार फिर्ता भइरहेको छ । तर, नयाँ कर्जाको माग न्यून छ । त्यसले गर्दा बैंकहरुको कर्जा प्रवाह घटेको बताइन्छ । 

बैंकहरुको आम्दानीको मुख्य स्रोत नै ऋणको व्याज हो । तर, ऋण प्रवाहमा संकुचन आउँदा अहिले बैंकहरुको आम्दानी नै प्रभावित भएको बताइन्छ । 
समिक्षा अवधीमा २० बाणिज्य बैंकको कुल कर्जा प्रवाह दुई खर्ब तीन अर्ब ६९ करोड रुपियाँले बढेको छ । असार मसान्तसम्म बाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह ४३ खर्ब १७ अर्ब ९५ करोड रुपियाँ थियो । बैशाख मसान्तसम्म आउँदा त्यो ४५ खर्ब २१ अर्ब ६४ करोड रुपियाँ पुगेको संघको तथ्यांकमा उल्लेख छ ।

undefined

Advertisement

Advertisement