नौ अर्बको विकास ऋणपत्र बिक्री खुला गर्दै सार्वजनिक ऋण व्यवस्थापन कार्यालय

Advertisement

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले विकास ऋणपत्र–२०८७ ‘च’ बिक्री खुला गर्ने भएको छ । 

कार्यालयले ६ वर्षे अवधिको नौ अर्ब रुपियाँको ऋणपत्र बिक्री खुला गर्न लागेको हो । उक्त ऋणपत्रको बोलकबोल जेठ १३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ भने निष्कासन जेठ १४ गते हुनेछ । 

Advertisement

यसको सावाँ भुक्तानी २०८७ जेठ १४ हुने र ब्याज अर्धवार्षिक रूपमा हुनेछ । यद्यपि, ब्याजमा आयकर लाग्ने कार्यालयले जनाएको छ । 

यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्थाका साथै नेपाली नागरिकले खरिद गर्न पाउनेछन् । यसको ब्याजदर भने बोलकबोल माध्यमबाट निर्धारण हुने कार्यालयले जनाएको छ । 

इच्छुक व्यक्तिले घटीमा रु पाँच लाख र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई रु पाँच लाखले भाग गर्दा निःशेष भाग जाने अंकबराबर खरिद गर्न सक्नेछन् । खरिद गर्दा आफूले खरिद गर्न चाहेको रकमको २.५० प्रतिशतले हुन आउने रकम धरौटीबापत जम्मा गर्नुपर्नेछ । 

त्यस्तै, यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन र जुनसुकै बेला दोस्रो बजारमार्फत खरिदबिक्रीसमेत गर्न सकिने कार्यालयले जनाएको छ ।
 

Advertisement

Advertisement